सुनकोशी गाउँपालिकामा दलित नमुना बस्ती विकासको काम सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनकोशी गाउँपालिकामा दलित नमुना बस्ती विकासको काम सुरु


१८ बैशाख २०७८, शनिबार


ओखलढुङ्गा । सुनकोशी गाउँपालिका, च्यानममा दलित नमुना बस्ती विकासको काम सुरु भएको छ । दुई वर्षअघिको वर्षामा पहिराबाट प्रभावित स्थानीय १९ घर दलित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न दलित नमुना बस्ती विकासको काम थालिएको हो ।

सुनकोशी गाउँपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनका आधार संरचना निर्माणको काम थालिएको छ । च्यानममा दलित बस्ती विकासका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सङ्घीय सांसद यज्ञराज सुनुवारले रु दश लाख बजेट उपलब्ध गराएका छन् । सो बजेटबाट पूर्वाधार निर्माणको काम थालिएको हो ।

गाउँको एउटा सिङ्गो बस्ती नै विस्थापन भएपछि स्थानीय युवक सन्तोषकुमार बस्नेतले दलित बस्तीलाई गाउँमै पुनःस्थापना गर्न पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । आफ्नो अंश काटेर दलित बस्ती विकासका लागि दिएका जग्गादाता बस्नेतकै पहलमा सांसद सुनुवारले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम उपलब्ध गराएका हुन् ।

‘पहिरोले बस्ती जोखिममा पारेर बिचल्ली परेको समुदायलाई गाउँमै स्थापित गराउन, एक वर्षअघि जग्गा पास गरेर दिएँ । माननीयसँग अनुरोध गरेर बजेट विनियोजन गर्न लगाएँ । अहिले संरचना निर्माणको काम सुरु भएको छ ।’ जग्गादाता बस्नेतले भने, ‘गाउँपालिकाले डिपिआर बनाएर योजना सहजीकरण गरिदियो । यसलाई महत्त्वपूर्ण योजनाका रुपमा अघि बढाएर जिल्लाकै नमुना एकीकृत दलित बस्ती बनाउने लक्ष्य छ । सबैको साथ र सहयोग पाइने अपेक्षा गरेका छौँ ।’ स्थानीयवासी छत्रबहादुर बस्नेतका नेतृत्वमा गठित समितिले बस्ती विकासको काम गरिरहेको छ ।

सुनकोशी –८ को दलित बस्तीमा पहिरो गएपछि स्थानीयवासी बिचल्ली अवस्थामा छन् । कमजोर आर्थिक अवस्थाका कारण बाहिर सुरक्षित स्थानमा घर बनाएर बस्ने अवस्था नहुँदा समस्या भएको दलित अगुवा निर्मला परियारले बताइन् । दाताका सहयोगमा जग्गा उपलब्ध भएपछि लामो समयसम्म त्यहाँ संरचना नबन्दा पहिराको जोखिमयुक्त क्षेत्रमै बसोबास गर्न स्थानीयवासी बाध्य छन् ।

गाउँपालिकाले च्यानमको दलित बस्ती विकासका लागि योजनाबद्ध काम गरिरहेको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए। डिपिआर तयार भइसकेकाले बजेट तर्जुमा गरेर बस्ती विकासका काम अघि बढाइने अध्यक्ष अधिकारीको भनाइ छ । गाउँपालिकाले तयार गरेको डिपिआर अनुसार प्रदेश र सङ्घ सरकारमा बजेट माग गरिएको जनाइएको छ ।

ओखलढुङ्गामा पहिराबाट दर्जनौँ बस्ती विस्थापन भए पनि मोलुङ गाउँपालिकाको प्राप्चालगायत केही ठाउँबाहेक अन्य स्थानमा बस्ती स्थानान्तरणको काम भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस