किसानका दिनचर्या फेर्ने बिर्तामोड नगरपालिकाको ‘एक समूह एक उत्पादन कार्यक्रम’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

किसानका दिनचर्या फेर्ने बिर्तामोड नगरपालिकाको ‘एक समूह एक उत्पादन कार्यक्रम’


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेपाललाई कृषिप्रधान देश भनेर खुबै प्रचार गरियो । स-साना नानीबाबुदेखि विद्यालय कलेज र युनिभर्सिटीसम्म पनि नेपाल कृषि प्रधान देश भनेर पाठ्यक्रममै राखेर विद्यार्थीलाई घोकाइयो । तर कृषिजन्य फलफूल तथा तरकारीमा सधैँ अन्य देशकै भर पर्नु पर्ने अवस्था विदितै छ । यस्तो अवस्था किन आएको छ सरोकारवालाले यसबारे सोच्न जरुरी छ ।

कृषिप्रधान भनिएको नेपालमा सामान्य उपभोग्य खाद्य सामग्री टमाटर, खुर्सानीदेखि स्याउसम्म सबै उपभोग्य सामानहरू भारतलगायत मुलुकबाटै आयात गरिन्छ भन्ने सुन्दा पनि नमज्जा लाग्छ । अझ चाइनाबाट करोडौँको गुन्द्रुक आयात हुन्छ भन्दा त्यो भन्दा लाजमर्दो अरू के नै होला र !

करिब ८० प्रतिशत जनसङ्ख्या खेती किसानीको काममा संलग्न भएको कारणले नै कृषिप्रधान देश भनेर गर्व गर्नुभन्दा कृषिमा आमूल परिवर्तन गरेर देखाउनु सरकारलाई पनि चुनौती हो ।

कृषिका लागि सङ्घीय सरकारले थुप्रै योजना तथा कार्यक्रम हरेक आर्थिक वर्षमा ल्याउने गरेको छ । केही राम्रा काम पनि भएका छन् । तर देखिने गरी साँच्चीकै कृषि क्रान्ति नै ल्याउने गरी ठोस कार्य गरेको भने देखिँदैन । अझैसम्म पनि किसानहरूले बिउँ, मल खाद, सिँचाई समयमा नपाउने समस्या विदितै छ । सरकारले ताकेको कृषि बालीको समर्थन मूल्य नपाएर र आफ्ना उत्पादनहरू विक्री गर्ने भरपर्दो बजार नपाएर किसानले बिरक्तिनुपर्ने अवस्थाको अन्त्य भएको छैन ।

मुलुक सङ्घीयतामा आइसकेपछि अब तीन तहका सरकार बनेका छन् । सङ्घीय सरकारकै मुख ताक्नुभन्दा प्रदेश र स्थानीय सरकार पनि अब कृषि क्रान्तिमा जुट्नुपर्ने बेला आएको छ ।

अहिले भर्खर सङ्घीयताको अभ्यास भइरहेकाबेला सबैले असल अभ्यासहरू गर्न नसकेका भए पनि केही स्थानीय तहले भने कृषिमा साँच्चीकै राम्रो काम गरेका छन् ।

किसानको जीवनस्तर उकास्न, निर्वाहमुखी खेती किसानीलाई व्यवसायीमुखी बनाउनका लागि सहयोग पुगोस् भनेर पूर्वी नेपालको बिर्तामोड नगरपालिकाले एक समूह एक उत्पादन कार्यक्रम प्रभावकारी रूपमा अगाडी बढाएको छ ।

समूहहरूलाई बिउ, मल, सिँचाइ र उत्पादन प्रविधिमा अनुदान उपलब्ध गराएर कृषक समूहहरूलाई कार्यक्रममा आकर्षित गरी कार्यक्रम परिचालन गरिएको छ ।

कार्यक्रमअन्तर्गत नगरपालिकाले बीउमा शतप्रतिशत, रासायनिक मलमा ५० प्रतिशत र सिँचाइमा ८० प्रतिशत लागत सहयोग गर्दै आएको छ ।

नगरपालिकाको योजना र कार्यक्रमले गर्दा अहिले यहाँका किसानहरूका दिनचर्या फेरिएका छन् ।

नगरपालिका नयाँ भिजनका साथ बालीको चाक्ला बन्दी गर्ने योजनाअनुरूप निकै उदाहरणीय कामहरू गर्न सफल भएको छ । स-साना किसानहरूलाई एकत्रित गरेर कृषिको प्रवर्द्धनमा ठुलो योगदान गरेको छ ।

आर्थिक वर्ष २०७६-०७७ मा कृषिमा व्यावसायिकीकरण गर्नका लागि एक समूह एक उत्पादन कार्यक्रम सञ्चालन गरिसकेपछि मुख्य गरेर धान बाली पछि बाँझो रहेका जमिनमा व्यावसायिक रूपमा फरक बालीहरू उत्पादन गर्ने उद्देश्य अनुसार तोरी, फापर, राज मा, सूर्यमुखी र आलु बाली छनौट गरिएको छ ।

नेपालीहरूको आर्थिक तथा सामाजिक अवस्थाको कारणले जग्गाको ऐच्छिक चाक्लाबन्दि कार्यक्रम प्रभावकारी हुन नसकेको अवस्थामा एक समूह एक उत्पादन कार्यक्रमले उत्पादनलाई चाक्लाबन्दि गर्ने कार्य गरेको छ ।

नगरपालिकाको सहयोगपछि १२ वटा समूहको सक्रियतामा ८६ बिघा क्षेत्रफलमा लगाइएको खेतीबालीबाटमात्रै ९ सय मेट्रिक टन आलु यसै आर्थिक वर्षमा फलाइएको छ ।

त्यसैगरी ९ वटा समूहले २ सय ९० बिघा क्षेत्रफलमा लगाइएको खेतीबालीबाट १ सय ७४ मेट्रिक टन तोरी उत्पादन गरिएको छ । दुई समूहको मेहनतमा ३८ बिघा क्षेत्रफलमा लगाइएको खेतीबालीबाट ४५ मेट्रिक टन फापर फलाइएको छ । दुई समूहको सक्रियतामा ३५ बिघा क्षेत्रफलमा ४२ मेट्रिक टन सूर्यमुखी उत्पादन गरिएको छ ।

त्यस्तै एक समूहको सक्रियतामा २० बिघा क्षेत्रफलमा लगाइएको बालीबाट २४ मेट्रिक टन राज मा उत्पादन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले प्रभावकारी रूपमा एक समूह एक उत्पादन कार्यक्रम लागू गरिसकेपछि मात्रै ससाना किसानलाई समूहमा आबद्ध गरी कृषिमा व्यवसायीकरण गर्न नगरपालिका सफल भएको नगरपालिकाका बाली विज्ञ राजेन्द्रप्रसाद कडरियाले प्रशासनलाई जानकारी दिए ।

बाली उत्पादनका लागि विभिन्न टोल टोलमा कृषि समूह बनाइएका छन् । समूहहरूको निर्णय अनुसार एक समूहमा एक बाली कम्तीमा २० बिघा क्षेत्रफलमा खेती लगाउने गरिएको छ ।

समूह भित्रका व्यक्तिगत कृषकहरूको जग्गामा गरिएको यो अभ्यासले एक समूह÷गाउँमा कुनै एक बालीको व्यावसायिक उत्पादनमा ठुलो योगदान गरेको छ । एकै समूहमा ठुलो उत्पादन हुँदा उत्पादनको बजारीकरण पनि सजिलो भएको छ ।

यस कार्यक्रमले पूर्ण सफलताका साथ परिमाणमुखी नतिजा ल्याएको हुँदा बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षदेखि एक समूह एक उत्पादन कार्यक्रमलाई अझ व्यापकताका साथ सञ्चालन गर्ने नगरपालिकाले योजना बनाएको नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताएका छन् ।

वरिष्ठ कार्यक्रम अधिकृत तिम्सिनाले नगरपालिकालाई यसअघि कुखुरा र अण्डामा आत्मनिर्भर बनाउन सफल भइएको भए पनि अहिले तरकारी र माछामा पनि आत्मनिर्भर बनाउन लागिपरेको बताएका छन् ।

किसानहरूलाई सहायता स्वरूप नगरपालिकाभित्रका करिब ३ सय किसानलाई डिप बोरिङ वितरण गरिएको छ । एक बोरिङबाट ४ बिघा क्षेत्रफलमा सिचाई गर्न सकिने अवस्था भएकाले किसानलाई सिचाइको समस्या छैन । नगरपालिकाले कृषकको साझेदारीमा ७०-८० प्रतिशत अनुदान दिँदै आएको छ ।

यस्तै किसानहरूलाई ७०-८० प्रतिशत अनुदानमा २ सय बढी धान काट्ने मेसिनहरू र १५ वटा हाते ट्याक्टर वितरण गरिएको छ ।

यसरी कृषि क्षेत्रको प्रवर्द्धन र किसानहरूको जीवनस्तर उकास्नका लागि नगरपालिकाले वार्षिक करिब ३ करोड छुट्याउने गरेको वरिष्ठ अधिकृत तिम्सिनाले प्रशासनलाई जानकारी दिए ।

नगरपालिकाका किसानका लागि बालीमा ट्रिटमेन्ट प्रविधिबारेमा पनि तालिम दिइने गरेको छ ।

किसानलाई अर्को सिजनका लागि आलुको बिउँको लागि समस्या नहोस् भन्ने हेतुले नगरपालिकाले कोल्ड स्टोरको व्यवस्थापन गरेको छ । स्थानीय कोल्ड स्टोर सञ्चालकसँग समन्वय गरेर किसानका लागि करिब ५० टन आलु बिउँका लागि राखिएको वरिष्ठ अधिकृत तिम्सिनाले प्रशासनलाई जानकारी दिए ।

हिजोआज यहाँका किसानहरूको आम्दानी पनि बढेको छ । पहिले मकै खेती मात्रै व्यक्तिगत रूपमा थोरै थोरै जग्गामा उत्पादन गरिनेमा अहिले नगरपालिकाले बालीको चाक्ला बन्दी गर्ने गरी कार्यक्रम ल्याउँदा किसानहरू व्यावसायिक बनेका छन् ।

पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र र तीव्र गतिमा सहरीकरणतर्फ उन्मुख हुँदै गइरहेको झापा जिल्लास्थित यो नगरपालिका प्रदेश नं। १ को राजधानी विराटनगरबाट करिब एक सय किलोमिटर र झापाको सदरमुकाम भद्रपुरबाट करिब १८ किलोमिटर दुरीमा अवस्थित छ ।

यस नगरपालिकाको उत्तरमा अर्जुनधारा नगरपालिका, पूर्वमा मेचीनगर नगरपालिका, दक्षिणमा हाल्दिबारी र बाह्रदशी गाउँपालिका र पश्चिममा कनकाई नगरपालिकाका सिमाना रहेका छन् ।

यस नगरपालिका अन्तर्गत १० वटा वडा कार्यालयहरू रहेका छन् भने २ वटा निर्वाचन क्षेत्र रहेका छन् । नगरपालिकाको कुल क्षेत्रफल ७८ दशमलव २४ वर्ग किलोमिटर रहेको छ । नगरपालिकाभित्र जम्मा घरधुरी सङ्ख्या २३ हजार ४ सय ७७ र जनसङ्ख्या १ लाख ४६ हजार ७ सय ९५ रहेको छ ।

नगरपालिकाको प्रयासपछि पछिल्लो समयमा यहाँका किसानमा आएको व्यावसायिक परिवर्तनले यस नगरपालिकालाई कषिक्षेत्रमा असल अभ्यास गरेको नगरपालिकाका रूपमा चिनाएको छ ।

यस्तै प्रदेश नं. १ कै तेह्रथुमको छथर गाउँपालिकाले पनि एक टोल एक उत्पादन कार्यक्रम गरेर कृषिमा व्यवसायीकरण गर्न सहयोग पुर्‍याएको छ । गाउँपालिकाले पालिकाभित्र विभिन्न पकेट क्षेत्रसमेत घोषणा गरी कार्यक्रम अगाडी बढाएको छ ।

छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले यस कार्यक्रमलाई अगाडी बढाउनका लागि सङ्घ र स्थानीय तहको साझेदारीमा एक करोड रुपैयाँ छुट्याइएको प्रशासनलाई जानकारी दिए ।

उनले स्थानीयको सीप विकासका लागि मात्रै ५० लाख रुपैयाँ बजेट छुट्याएको पनि बताए । पहिलो वर्ष टोल स्तरमा उत्पादन हुने मुख्य-मुख्य कृषि उत्पादनको प्रवर्द्धनमासमेत किसानलाई सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले अहिले बेमौसमी तरकारी, मकै, फलफूल, किवी र अकबरे खुर्सानीको उत्पादनलाई पकेट क्षेत्रका रूपमा अगाडी बढाइरहेको छ ।

गाई पालन, भैंसीपालन, बाख्रा पालन तथा माछा, मौरी, कुखुरा, हाँस, टर्की, कालिजलगायतका पन्छी पालनका लागि पनि अध्ययन गरिएको अध्यक्ष लिम्बूले बताए ।

कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाकै सक्रियतामा सबै वडा समेटिने गरी १ सय १७ वटा टोल विकास संस्थासमेत गठन गरिएको छ ।

गाउँपालिकामा एक टोल एक उत्पादन कार्यक्रमका लागि पहिलो चरणमा टोल विकास संस्था परिचालन, टोलको उत्पादन छनौट, सीप विकासका लागि तालिम सञ्चालन, प्रविधि हस्तान्तरण र व्यवस्थापनका काम भइरहेको अध्यक्ष लिम्बुले जानकारी दिए ।

यस्तै गाउँपालिकाले उद्यम गर्न चाहने युवालाई पनि एक लाखदेखि ५ लाखसम्म ऋण दिने कार्यक्रम ल्याएको जसअन्तर्गत अहिलेसम्म २२ परिवारले यो सुविधा लिइसकेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक, प्राविधिक र बजारीकरणमा समेत सहयोग गरिदिएपछि व्यावसायिक किसानहरू उत्साहित भएका छन् ।

छथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन प्रसाद दाहालका अनुसार अहिले गाउँपालिकामा सुन्तला, बेमौसमी तरकारी, किवी, अम्लिसो९कुचो० र ढाका बुनाइका लागि पकेट क्षेत्र घोषणा गरिएका छन् ।

कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले कृषिसम्बन्धी तालिम, विउविजन र प्राविधिक सहयोग गर्दै आएको छ । गाउँपालिकामा उत्पादन विक्री गर्न सानो बजार मात्रै भएकाले यहाँको उत्पादनहरू धरान बजारमा विक्री हुने गरेको छ ।

गाउँपालिकाभरिका किसानलाई उत्पादन र बजारीकरणसँग जोड्न पालिकाले एक टोल एक उत्पादन कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत दाहालले प्रशासनसँग बताए ।

प्रत्येक वडाका प्रत्येक टोलमा हावापानी सुहाउँदो कृषि बाली प्रवर्द्धनका लागि माटो परीक्षण, पशुपालनका लागि घाँसको परीक्षण र पन्छी र माछा पालनका लागि समेत अध्ययन भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता राजन नेपालीले विज्ञसहितको टोलीले बस्तीमै पुगेर कुन टोल बस्तीमा कुन कृषि उपज उत्पादन हुन्छ भन्ने पहिचान गरी गाउँपालिकासमक्ष सिफारिस गरेको बताएका छन् ।

यस्तै पूवी नेपालकै धनकुटास्थित छथर जोरपाटी गाउँपालिकाले पनि साना किसान समूहका लागि विना धितो ऋण कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाले कृषकले कुनै कृषिसम्बन्धी इलम व्यवसाय गर्न चाहेको भनी निवेदन दिएमा अवस्था बुझेर बढीमा पाँच वर्षसम्मका लागि ५ लाखसम्म विना धितो ऋण लगानी गरिदिने गरेको गाउँपालिकाका प्रवक्ता टेक बहादुर तामाङले बताए ।

बाली र व्यवसायको प्रकृति हेरेर किस्ता तिर्ने अवधि निर्धारण हुने प्रवक्ता तामाङको भनाई छ । उनले बेमौसमी तरकारी र एक वर्षीय बालीका लागि किस्ता तिर्ने समय अलि चाँडो र बहुवर्षीय बालीका लागि अलि ढिलो किस्ता तिर्न सक्ने बताए ।

पूर्वी नेपालका बिर्तामोड नगरपालिका, छथर गाउँपालिका र छथर जोरपाटी गाउँपालिकाले कृषि क्षेत्रमा गरेका कामहरू निकै सह्रानीय छन् । यस्तै असल अभ्यासहरू अन्य स्थानीय तहले पनि गर्दै जाने हो भने साँच्चीकै नेपालको कृषिमा क्रान्ति ल्याउन सकिनेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस