माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम शुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम शुरु


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम पुनः सुरु भएको छ । कोभिड–१९ को महामारीले रोकिएको ३७ मेगावाटको आयोजनामा करिब १४ महिनापछि काम सुरु भएको हो ।

नयाँ वर्ष मनाउन २०७६ माघमा घर गएका चिनियाँ कामदारहरू कोभिड–१९ का कारण फर्कन नसकेपछि र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माण ठप्प प्रायः बनेको थियो ।

ठेकदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत् गृहलगायतका संरचना निर्माणको कार्य गरिरहेको आयोजनाले जनाएको छ । यति बेला ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिकहरू निर्माणमा खटिएका छन् ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजना फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको भए पनि कोरोना महामारीले हिउँदमा पनि काम सुरु हुन नसकेकाले २०७९ चैतभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ ।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनः लगायतको २०–२० कित्ता सेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलगायतले पनि खरिद गरेका थिए । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ । विद्युत् गृहको पहिलो चरणको खन्ने र सपोर्टको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ ।

३ ‘ए’ को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । ३ ‘ए’ को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बीले बाँध, बालुवा थिग्राउने पोखरी(डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन ।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर रहेको छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

आयोजनाबाट सुख्खा याममा(मङ्सिर १६ देखि ज्येष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षा याममा (ज्येष्ठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने जनाइएको छ ।

आयोजनाको विद्युत् गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ ‘बी’ हब सब स्टेसनमा पुर्‍याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस