अमेरिकाले आप्रवासी नियन्त्रण गर्न ३१ करोड डलर सहयोग गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाले आप्रवासी नियन्त्रण गर्न ३१ करोड डलर सहयोग गर्ने


एजेन्सी

१४ बैशाख २०७८, मंगलबार


वासिङ्टन । अमेरिकाले मध्य अमेरिकाको आप्रवासी समस्या समाधान गर्न ती देशहरुलाई ३१ करोड अमेरिकी डलर सहयोग गर्ने जनाएको छ ।

सोमबार ग्वाटेमालाका राष्ट्रपति अलेजान्द्रो गियामाटेईसँग भएको भर्चुअल बैठकमा ह्यारिसले मानवीय सहायताका लागि मध्य अमेरिकी देशहरुलाई ३१ करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएकी हुन् ।

सहयोगमध्ये १२ करोड ५० लाख डलर खडेरी, खाद्यान्न अभाव र कोभिड–१९ महामारीसँग जुध्नका लागि छुट्ट्याइने ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनले आप्रवासी समस्या समाधानका लागि संसद्सँग ८६ करोड १० लाख डलर बजेट मागसमेत गरिसकेका छन् ।

मार्चमा मात्र अमेरिकाको दक्षिणी सीमा क्षेत्रबाट एक लाख ७२ हजारभन्दा बढी गैरकानुनी आप्रवासीहरु पक्राउ परेका थिए । मध्य अमेरिकी देशबाट आप्रवासीहरु अमेरिका छिर्नेक्रम बढेपछि यो समस्या समाधानका विषयमा उनले गियामाटेईसँग सोमबार वार्ता गरेकी हुन् ।

ग्वाटेमाला, होन्डुरस र अल सल्वाडोरबाट बर्सेनि लाखौँ आप्रवासीहरु अमेरिका छिर्ने गरेका छन् । ह्यारिसले आगामी जुनमा मध्य अमेरिकाको भ्रमणसमेत गर्ने अलजजिराले जनाएको छ ।

आपराधिक संगठनले आप्रवासी समस्या बढाएको निष्कर्ष निकाल्दै उनीहरुले यस्ता संगठनविरुद्ध कारबाही गर्न दुई देशले साझेदारी गर्ने सहमति भएको बैठकपछि विज्ञप्ति जारी गर्दै ह्यारिसको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस