आगलागीबाट करोडौँको वन पैदावार नष्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगलागीबाट करोडौँको वन पैदावार नष्ट


१३ बैशाख २०७८, सोमबार


टिकापुर । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिए ।

आगलागीबाट करोडौँको वन पैदावार नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि टीकापुर र लम्की चुहा नगरपालिकाका दुई दमकल, दुई स्थानीय तह र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका तीन स्काभेटर, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दा र उपभोक्ता नियन्त्रणमा खटेका छन् । ‘आगो लायकपुर बस्ती नजिकै रहेको जंगलबाट शुरुआत भयो । लायकपुर बस्तीका सयौँ घर जोखिममा छन्’, उनले भने, ‘दिउँसो भएकाले तुरुन्तै खबर पायौँ । हामीले स्थानीय तह र प्रहरीको सहयोग लियौँ, दिउँसोदेखि आइतबार राति १ बजेसम्म आगो नियन्त्रणमा खट्दा बस्तीलाई जोखिमबाट बचाइएको छ ।’

सबैको प्रयासबाट आगो बस्तीमा आउनबाट जोगाइएको भए पनि वनमा लागेकोले पूर्णरुपमा नियन्त्रणमा आएको छैन । सुकेका रुखमा लागेको आगो नियन्त्रणमा अझै नियन्त्रणमा आएको छैन । डढेलोबाट १० हेक्टरमा रहेका वन पैदावार जलेर नष्ट भएको उनको भनाइ छ । सो सामुदायिक वन ४६० हेक्टर जमीनमा फैलिएको छ ।

‘आगलागीका कारण करोडौँ क्षति भएको छ । पुराना सालका रुख, नयाँ पलाउँदै गएका पालुवा समेत नष्ट भएका छन्’, उनले भने,‘अत्यधिक गर्मी बढेको र हावाहुरी चल्ने भएकाले आगो फैलने जोखिम छ । आगलागी बस्तीमा आएमा नियन्त्रण गर्न सकिदैन ।’

पछिल्लो समय देशैभरि रहेका सामुदायिक वनमा लागेको डढेलोका कारण करोडौँको वन पैदावार नष्ट भएको छ । जिल्लाका अधिकांश सामुदायिक वनले आगलागीबाट बच्न अग्निरेखा निर्माण समेत गरेका छन् । नागरिकको लापरवाही, उपभोक्ताको हेलचेक्राइले वनमा डढेलोका घटना भइरहन्छन्।’ स्थानीय उपभोक्ता गीता धामीले भनिन् ‘बस्ती नजिक रहेका वन अझ आगलागीको जोखिममा पर्ने गरेका छन् । आगलागीका घटना हुन नदिन उपभोक्ता बढी जिम्मेवार बन्न आवश्यक छ ।’

जिल्लामा ५७६ सामुदायिक वन छन् । यी वनमा अधिकांश वन बस्तीसँग जोडिएका छन् । बस्तीसँग जोडिएका वन डढेलोका जोखिममा पर्ने गर्दछन् । ‘वर्षेनी कैलालीका दर्जनौँ वनमा आगलागी हुँदा करौडौँको क्षति हुन्छ । आगलागी जस्ता घटना नियन्त्रणका विषयमा उपभोक्ता तथा वन पदाधिकारीबीच छलफल भए पनि यस्ता घटना भइरहने गर्छन्’, संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाले भने, ‘आगलागी भइहाले तत्काल नियन्त्रणका लागि आवश्यक दमकल र जनशक्तिको अभाव छ ।’ आगलागीबाट वन पैदावार मात्र होइन वन्यजन्तु समेत जोखिममा पर्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस