कोरोना व्यवस्थापनको आलोचना गर्ने ट्वीट हटाउन माग गर्दै भारत सरकार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोना व्यवस्थापनको आलोचना गर्ने ट्वीट हटाउन माग गर्दै भारत सरकार


एजेन्सी

१३ बैशाख २०७८, सोमबार


नयाँ दिल्ली । भारत सरकारले सामाजिक संजाल ट्वीटरलाई भारतको कोरोना व्यवस्थापन सम्बन्धी आलोचनात्मक टिप्पणी गर्ने स्थानीय सांसदहरु सहितका ट्वीट हटाउन माग गरेको छ ।

पछिल्ला चार दिन भारतमा दिनहुँ तीन लाख बढी नयाँ संक्रमितहरु थपिरहेका छन् । ट्वीटरलाई भारत सरकारले कानुनी रुपमा अनुरोध गरि त्यस्ता ट्वीट हटाउन भनेको कम्पनीकी प्रवक्ताले रोयटर्ससँग बताइन् ।

उनले भनिन्, ‘भारत सरकारले आपत्कालीन माग गर्दै ती ट्वीटहरुमाथि सेन्सर लगाउन भनेको हो ।’ यसमा सरकार पक्षले स्पष्ट रुपमा २१ वटा ट्वीट उल्लेख पनि गरेको छ जसमा वेस्ट बेंगालका मन्त्री मोलोए घतकदेखि संसद रेभेनाथ रेड्डीको अनि फिल्म निर्माता अभिनाश दाससम्मका ट्वीटहरु रहेका छन् ।

मोलोए घतकले आफ्ना ट्वीटमा, कोरोनाको स्थितिबारे लापरवाही गरेकामा जनताले प्रधानमन्त्री मोदीलाई कहिल्यै माफ गर्न नसक्ने भनेर लेखेका थिए । दिनहुँ हजारौँको मृत्यु भइरहँदा पूरै देश संकटमा परेका बेला समेत मोदी चुनावी र्याली आयोजना गर्न व्यस्त भएको भनि, तस्बिर राख्दै लाखौँ खोप विदेशमा निर्यात गरेको आरोप लगाएका हुन् ।

ट्वीट हटाउने सरकारको आग्रह ‘इन्फर्मेसन टेक्नोलोजी एक्ट २०००’ अन्र्तगत रहेको थियो । त्यसैले वैध कानुनी आग्रह प्राप्त गर्दा त्यसको जाँच गर्नु ट्वीटर र स्थानीय कानुनमै पर्ने हुँदा ट्वीटरले पनि उपयुक्त कदम उठाउनैपर्ने प्रवक्ताले बताइन् ।

यसमा प्रयोगकर्तालाई कम्पनीले व्यक्तिगत रुपमा म्यासेज पठाएर उनीहरुको ट्वीट हटाउन कानुनी माग आएको खबर गर्ने गरिन्छ । दोस्रो लहरको संक्रमणबाट नराम्ररी प्रभावित भइरहेको भारतमा शनिबार तेस्रो दिन लगातार नयाँ बिरामीको सङ्ख्याले विश्वकै उच्च रहेको थियो भने दिल्ली अदालतले अहिलेको अवस्थालाई ‘सुनामी’ ठहर गरेको छ ।

अस्पतालहरुमा अक्सिजनको आपूर्तिमा अभाव हुँदा उपचार थप चुनौतिमय बनेको हो । प्रधानमन्त्री मोदीले आइतबार यसबारे बोल्दै देश ठूलो संकटबाट गुज्रिरहेकाले यसलाई मिलेर परास्त गर्न भनेका हुन् ।

स्वास्थ्यविद्हरुको अनुसार केही महिना अघिसम्म नियन्त्रणमा रहेको कोरोना, सरकारले सुरक्षाका मापदण्ड हटाउनासाथ फेरि अनियन्त्रित बन्न पुगेको हो जसमा ठुल्ठुला भेला हुनेदेखि चाडपर्व मनाउने र स्थानीय चुनावका लागि र्याली आयोजना गर्न सम्म अनुमति दिइएको थियो । रोयटर्स

Tags :
प्रतिक्रिया दिनुहोस