ओलीजी एमाले पार्टी फुटाएर जाँदै हुनुहुन्छ: नेता रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीजी एमाले पार्टी फुटाएर जाँदै हुनुहुन्छ: नेता रावल


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताएका हुन् ।

उनले भने,‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ । पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’ रावलले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए । नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनले बताए । ‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं, उनले भने ।

कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने रावलले जिकिर गरे । सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले ओलीले पदमुक्त गर्न नसक्ने उनको तर्क छ । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन् । सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस्, उनले भने ।

विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोपसमेत लगाए । उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे । ‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौँ, रावलले भने ।

आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको समेत उनले बताए । ‘अलग पार्टी चलाएको र सञ्चालन गरेका छैनौं, उनले भने । ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा रावलले दिए । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनि भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको रावलले बताए ।

ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिँदै रावलले अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गरे । ‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस