भीमफेदी-कुलेखानी-सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भीमफेदी-कुलेखानी-सिस्नेरी सडकमा यातायात बन्द, त्रिभुवन राजपथ सञ्चालनमा


१० बैशाख २०७८, शुक्रबार


मकवानपुर । मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी-दक्षिणकाली-काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ-हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ ।

भीमफेदी-कुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौँडा-काठमाडौँतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनले निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौँतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौँतर्फ प्रस्थान गरेको उल्लेख गरे ।

मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौँको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौँ-हेटौँडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीले बताए ।

उनका अनुसार भीमफेदी-कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौँतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो । वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी रु ३४ करोड रकम विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस