‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’ « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका हुन् । उनले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताएका छन्।

यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । ‘आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ’, उनले जारी गरेको अपिलमा उल्लेख छ ।

आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफैँले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । सहप्रवक्ता डा. अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने देखिने बताए । बुधवार दुई हजार ३५१ मा सङ्क्रमण देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस