आठ करोडको लागतमा निर्माण भएको इलाका प्रहरी कार्यालयको उद्घाटन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आठ करोडको लागतमा निर्माण भएको इलाका प्रहरी कार्यालयको उद्घाटन


३ बैशाख २०७८, शुक्रबार


पर्सा । इलाका प्रहरी कार्यालय सिमराको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवम् प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी र समुदायले समाजबाट अपराधिक नियन्त्रण गर्न एक अर्काका सहयोगी बन्नु पर्ने बताए।

समाजमा रहेका लागु औषध कारोबारी, अपराधिक गतिबिधि गर्ने समूह वा व्यक्तिलाई नियन्त्रण गर्न जरुरी रहेको र त्यसको लागि प्रहरी र समुदाय एक अर्काको सहयोगी बन्नु पर्ने उनले सुझाए।

लामा कन्स्ट्रक्सन सेवा प्रालिले आठ करोडको लागतमा भवनको निर्माण गरिएको बारा प्रहरीले जनाएको छ।

लागतमा ९ कट्ठा १४ धुर क्षेत्रफलमा रहेको सो भवनभित्र १५ कोठा र व्यारेक निर्माण गरिएको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन्।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह, बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जितपुरसिमरा उपमहानगरपालिकाका उप–प्रमुख सरस्वति देवी चौधरी, युनएनओपीएसका वरिष्ठ इनिजिनियर शिशिर उपाध्यायलगायतको सहभागिता रहेको थियो।

इलाका प्रहरी कार्यालय सिमरा २०३४ सालमा स्थापना भएको बारा प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस