आउने वर्षमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आउने वर्षमा


३१ चैत्र २०७७, मंगलबार


नयाँ वर्ष !
विर्सन लायक पुरानो वर्षमा
दिन, महिना र ऋतुहरू पालैपालो
क्यालण्डरमा झुण्डिएर आत्महत्या गर्दै गर्दा
मैले प्रार्थना गरेको छु
सुदुर भविष्यका उषाहरू
बासी अनुहार र पहिरनमा नझुल्किउन्।

भ्रमको मुखौटो खस्दाको दिन
हामीले थाहा पायौं
मुक्तिको ध्रुवतारा ठानिएकाहरू
पोइला जाने पुच्छ्रेतारा झैं
चमक्क चम्के, खसे, बिलाए
नैतिकतालाई शकुनी दाउमा राखेर
इमानको चीरहरण गर्दै
जीतको क्रुर अट्टहास गरे।

भैगो, चाहिएनन् यी ताराहरू,
हामीलाई त सुनौला प्रकाश चाहिएको हो,
त्रास बिनाको सास फेर्ने आकाश चाहिएको हो,
चराहरूको जीवनप्रवोधिनी कलरव
अनि,
यी गहुँका बालामा जस्तै बयेली खेल्ने
हाम्रा लालाबालाको हाँसो चाहिएको हो ।

नयाँ वर्ष!
भित्तामै टाँसिएर, भित्ताबाटै खस्ने हो भने
तिमी आउनु र जानुमा के को हर्ष, के को बिस्मात?
तिम्रो वर्गाकार कोठाहरूबाट
दिनहरू फुत्त निस्कून् र पोषिलो राप दिउन्
नाङ्गा ढाडहरूमा, भोका पेटहरूमा,
आँखाका कुनामा मुजा पारेर
नेपाल आमा मुस्काइरहून् ।

तिमीले ल्याएको खुशीको पोको देखेर
ढँटुवाहरूको वाणी बन्द होस्
लुटुवाहरूको खेतीमा बाढी पसोस्
जनताको दैलोमा न्याय झरोस्
सद्भावको भाइरस सबैमा सरोस्
तिम्रा महिनाहरूले
मैना चरीको संगीत बोलून्
अर्को वर्षले ढोका ढक्ढकाउँदा
हामी हाँस्न सकौं एक खित्को हाँसो
गएको वर्षले छोडेको नासो भनेर।

कञ्चनजङ्घा हिमालको शिरमा
तिमीले सुनगाभा पहिराइदिँदा,
हामीलाई अनुभूति होस्
त्यो हाम्रै शिरमा परेको हो,
उज्यालो भविष्यको एक चोइटो
सबैको भागमा परोस्
नयाँ वर्षको सबैमा शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस