नयाँ वर्षमा प्रविधिमैत्री ‘जाउँ है पोखरा’ अभियान « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

नयाँ वर्षमा प्रविधिमैत्री ‘जाउँ है पोखरा’ अभियान


३१ चैत्र २०७७, मंगलबार


गण्डकी । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्ने भएको छ ।

कोभिड– १९ को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

सङ्घले नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रालिसँग सहकार्य गरी यो नयाँ वर्षमा ‘जाउँ है पोखरा’ भन्ने दुई दिवसीय डजिटलमैत्री अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।

यो अभियान ५५ वटा बैंक तथा वित्तीय संस्थामा आबद्ध एक करोड ६० लाख ग्राहकसम्म पुग्ने विश्वास लिइएको छ । नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न सङ्घले नयाँ वर्षको अवसरमा २०७७ चैत ३१ गते र नयाँ वर्ष वैशाख १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा ४० प्रतिशत छुट र क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिने उनले बताए ।

नयाँ वर्षको अवसरमा पोखरास्थित होटल प्रतिष्ठानले छुट्टाछुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेज सार्वजनिक गरेको र ती बाटसमेत लाभ लिन पश्चिमाञ्चल होटेल सङ्घले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस