शैक्षिक सुधारमा योगदान पुर्‍याउने अभिभावकको सम्मान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शैक्षिक सुधारमा योगदान पुर्‍याउने अभिभावकको सम्मान


३१ चैत्र २०७७, मंगलबार


काभ्रेपलाञ्चोक । सामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पुर्‍याए बापत खानीखोला गाउँपालिकास्थित १४ विद्यालय ६५ अभिभावक तथा बेचानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित चार विद्यालय पाँच अभिभावकलाई सम्मान गरिएको छ ।

विद्यालयको शैक्षिक क्रियाकलाप, आफ्ना बालबालिकाको शिक्षा सुधार्ने उद्देश्यले समयसमयमा विद्यालयको निरन्तर अनुगमन–भ्रमण गर्नेमध्ये उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको नाङ्साल एसोसिएसन धुलिखेलले अध्यक्ष दिनेश लामाले बताए ।

अध्यक्ष लामाले आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालयमा निरन्तर अनुगमन–भ्रमण, निरीक्षण गर्न थप प्रोत्साहनस्वरुप उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको बताए ।

‘अभिभावक सम्मानले विद्यालयमा गुणस्तरीय आधारभूत शिक्षा प्रवर्द्धन भएको पाएका छौँ, यसले शिक्षक नियमित विद्यालयमा उपस्थित हुनेलगायत अन्य क्रियाकलापमा ठुलो मद्दत गरेको छ’, लामाले भने । उनले संस्थाको गुणस्तरीय आधारभूत शिक्षा तथा बालअधिकार प्रवर्द्धन परियोजनाअन्तर्गत हालसम्म करिब २०० उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको बताए।

‘वी वर्ल्ड’ नामक गैरसरकारी संस्थाको सहयोगमा एसोसिएसनले सो परियोजना जिल्लाको चार स्थानीय तहमा सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको निरन्तर अनुगमन–भ्रमणले उल्लेख्य योगदान पुगेको बताए । वडाध्यक्ष सोमनाथ घिमिरेले बालबालिकाको शैक्षिक सुधारका विषयमा शिक्षक–अभिभावकको छलफल निकै महत्त्वपूर्ण हुने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस