गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ


२८ चैत्र २०७७, शनिबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ४२औँ शिक्षक दिवस तथा सङ्गठनको १३औँ जिल्ला अधिवेशनमा उनले राज्यका हरेक परिवर्तनमा शिक्षक वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

शिक्षकले पेशागत जिम्मेवारी र मर्यादालाई आत्मसात गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा एउटा आदर्शका रूपमा आफुलाई स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । ‘पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन थालेपछि सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अन्तरमा कमी भएको सङ्केत देखिएको छ’ उनले भने, ‘सरकारलाई शैक्षिक क्षेत्रको सुधारका लागि बौद्धिक क्षेत्रबाट निरन्तर सहयोग तथा सल्लाह हुनुपर्दछ ।’ मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताउँदै उनले त्यसका लागि तीनै तहका सरकार कटिबद्ध भएर अघि बढेको जानकारी दिए ।

नेकपा (एमाले) गण्डकी प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीमा व्यक्ति नभई विधि, सिद्धान्त र पद्धति प्रमुख हुने विश्वास व्यक्त गर्दै वर्तमानमा देखिएको चुनौतिका लागि बाम बुद्धिजीवी सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संविधानको मर्म र भावनाअनुरुप शिक्षा क्षेत्रको गुणस्तर र विकासका लागि प्रदेश र स्थानीय तह मातहतमा हुनुपर्नेमा जोड दिए । उनले महानगरपालिकाभित्र रहेका शिक्षकको तलबमा मात्र वार्षिक एक अर्ब २५ करोड खर्च हुने गरेको जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले सङ्गठनले शिक्षक वर्गको हकअधिकारको सुनिश्चित गर्दै रक्तदान, वक्तृत्वकला प्रतियोगिता, घुम्ती बैठकजस्ता कार्य गर्दै आएको जानकारी दिँदै दरबन्दी मिलान, स्थानीय महासङ्घ गठन, बेजिल्ला सरुवा चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा सङ्गठनको मुखपत्र ‘शिक्षक आवाज भाग चार’ को विमोचन, विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै सङ्गठनको विकासमा उल्लेखनीय योगदान पुर्याउने महानुभाव, अक्षयकोषदातालाई सम्मान गरिएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस