सूचनाको हक कार्यान्वयनले नमुना बन्यो अमरगढी नगरपालिका « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सूचनाको हक कार्यान्वयनले नमुना बन्यो अमरगढी नगरपालिका


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । सूचना प्रविधि केन्द्र स्थापना र खुला सरकार घोषणापछि यति बेला सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लास्थित अमरगढी नगरपालिकाले देशमा निकै चर्चा पाएको छ ।

संसारले फड्को मारिरहेको अहिलेको वर्तमान अत्याधुनिक युगमा नेपालमा सरकारी निकायले सूचना प्रविधि केन्द्र स्थापना गर्नु र खुला सरकार घोषणा गर्नु कुनै नौलो विषय भने होइन तर हाम्रो जस्तो विकासशील राष्ट्रमा विकट क्षेत्रका स्थानीय तहले जनताहरूको सूचनामा पहुँच वृद्धि गर्न सूचना प्रविधिको नमुना अभ्यास गर्नु भने नौलो मात्रै नभई सुशासनका लागि असल अभ्यास पनि हो ।

स्थानीय सरकारको सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त बनाउन, प्रभावकारी सेवा प्रवाह प्रदान गर्न र जनगुनासोलाई सभ्य रूपमा व्यवस्थापन गर्न यसले निकै महत्त्वपूर्ण सहयोग पुर्‍याउन सक्छ ।

नगरपालिकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सबै कार्यलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । नगरपालिकाका विभिन्न स्थानमा सूचना प्रदान गर्नका लागि कम्प्युटर प्रविधिमार्फत विभिन्न सार्वजनिक स्थलमा डिस्प्ले बोर्डहरू राखिएका छन् । डिस्प्ले बोर्डमा स्थानीय तहले गरेका महत्त्वपूर्ण गतिविधिहरू देखाइन्छन्

नगरपालिकाको ६ स्थानमा सूचना प्रविधि केन्द्र स्थापना गरिएका छन् । नागरिकमैत्री खुला सरकारको अवधारणाअनुसार यस्तो अभ्यास गरिएको अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा बताउँछन् ।

३ वर्ष पहिले नगरपालिकाको कार्यालयबाटै शुभारम्भ गरिएको सूचना प्रविधि केन्द्र अहिले छ स्थानमा विस्तार गरिएको छ । पहिलो डिस्प्ले बोर्ड वडा नं। १० को कार्यालयमा, दोस्रो एवं सबैभन्दा ठुलो डिस्प्ले बोर्ड वडा नं। ५ स्थित बसपार्कमा राखिएको छ । त्यसै गरी अर्को सूचना बोर्ड वडा नं। ७ मा राखिएको छ । अन्य केन्द्रहरू पनि विस्तार गरिँदै छन् ।

सूचना प्रविधि केन्द्रको डिस्प्लेमार्फत नगरपालिकाले गरेका सार्वजनिक चासोका सम्पूर्ण कार्यहरू व्यवस्थित गरिएको छ । नागरिक बडापत्र देखी लिएर नीति कार्यक्रम, बजेट ट्राफिक नियमहरू, स्वास्थ्य क्षेत्रका जनहितमा जारी सन्देशहरू, सामाजिक उत्तरदायित्वका कुराहरू सूचना बोर्डमा डिस्प्लेमार्फत देखाइने गरिएको छ ।

नगरपालिकाको यस घोषणासँगै स्थानीय सरकारसँग कुनै गुनासो भए अब सामाजिक सञ्जालमा तथानाम गुनासोका स्ट्याटस हानिरहन नपर्ने अवस्था आएको नगरप्रमुख ओझाले प्रशासनसँग बताए ।

उनले भने, ‘सामाजिक सञ्जालमा गुनासो गर्दै तथानाम भनिरहनु पर्दैन, स्थानीय सरकारसँग कुनै काम चित्त बुझेको छैन भने सिधै सूचना प्रविधि केन्द्रमा गएर गुनासो गर्न सकिने छ ।’ गुनासोको तत्काल सम्बोधन हुने गरी केन्द्रमा व्यवस्था गरिएको उनको भनाई छ ।

नेपालको संविधानको धारा २७ मा भएको सूचनाको हकलाई र सूचनाको हकसम्बन्धी ऐन २०६४ मा उल्लेखित व्यवस्थाअनुसार नागरिकको सूचनाको हकको कार्यान्वयन गर्नका लागि अमरगढी नगरपालिकाले गरेको कार्य उदाहरणीय देखिन्छ ।

सूचनाको हक सम्बन्धी ऐनमा भनिएको छ, ‘प्रत्येक नेपाली नागरिकलाई कुनै पनि सार्वजनिक चासोको विषयमा सूचना माग्ने वा पाउने हक हुने छ ।’ यो व्यवस्थाको अभ्यास गर्न नगरपालिकाले सह्रानीय काम गरेको नगरप्रमुख ओझाको भनाई छ ।

नगरपालिकासँग केही गुनासा भए सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभन्दा पनि नगरपालिकाको सूचना प्रविधि केन्द्रमा एसएमएस गर्न नगर बासीलाई नगरप्रमुखले अनुरोधसमेत गरेका छन् ।

नगरपालिकाले सूचनाको हक कार्यान्वयनका लागि गरेको अर्को महत्त्वपूर्ण काम आइएमएस प्रणाली लागू हो । जसअन्तर्गत नगरपालिकाभित्र हुने विभिन्न विकास निर्माण, सडक मर्मत, खानेपानी सम्बन्धी कामहरू, ठेक्कापट्टालगायत सम्पूर्ण जानकारी एकै ठाउँमा यस प्रणालीमार्फत एकीकृत रूपमा व्यवस्थित गरिएको छ ।

सौहार्दपूर्ण जनसम्बन्ध स्थापना गर्न र जनताको स्थानीय सरकारप्रतिको आस्था र विश्वास मजबुत बनाउन यस किसिमको सकारात्मक कार्यले ठुलो मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।

अमरगढी नगरपालिकाको कुनै बैठक आह्वान गर्नु परेमा पनि जनप्रतिनिधि र कर्मचारीहरूलाई अडियो भ्वाइस मेसेज गर्ने गरिएको नगरप्रमुख ओझाले प्रशासनसँग बताए ।

उनले नगरपालिकाभित्र रहेका हरेक नागरिकको सम्पर्क नम्बरसहित सम्पूर्ण डिटेल राखिएको बताए । सम्पर्क नम्बरहरू पनि वर्गीकरण गरी छुट्टाएर सवयंसेविकाहरुको एक ठाउँमा, शिक्षकहरूको, एक ठाउँमा र स्वास्थ्यकर्मीहरूको एक ठाउँमा गरी अलग अलग रूपमा छुट्टाएर कम्प्युटरमा राखिएको नगरप्रमुख ओझाले जानकारी दिए ।

यसरी नम्बरहरू छुट्टाएर राख्दा खोजेको बेला तुरुन्तै डाटा भेटाउन सकिने उनको भनाई छ । कोरोना महामारीको समयमा स्वास्थ्यसम्बन्धी सन्देशहरू र सूचनाहरू पनि भ्वाइस मेसेजबाट नगरपालिकाका नागरिकहरूलाई दिइएको नगरप्रमुख ओझाले बताए ।

अमरगढी नगरपालिकाबाट सुरु भएको यस्तै अभ्यास अन्य देशभरका स्थानीय तहमा पनि हुन जरुरी छ । यसले स्थानीय तहमा सुशासन कायम गर्न सहज हुने देखिन्छ ।

देशभरका ७५३ स्थानीय तहमध्ये ‘डाटा पोर्टल’ तथा सूचना प्रविधि केन्द्र स्थापना गर्ने नेपालको पहिलो स्थानीय तहका रूपमा अछामको साँफेबगर नगरपालिकालाई चिनिन्छ भने अमरगढी नगरपालिकालाई दोस्रो नगरपालिका मानिन्छ ।
स्थानीय नागरिकलाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग ‘अपडेट’ गराउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

ग्रामीण वातावरण विकास केन्द्र डडेलधुराको संयोजन र सेसी नेपालको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्द्र स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले प्रशासनसँग बताए ।

खुला सरकारको अवधारणा ल्याई नगरपालिकाले प्रविधिको प्रयोग गरी सूचनाको हक कार्यान्वयन गरेकाले स्थानीय जनताहरूले पनि सूचनाको हकको उपभोग गर्न पाएका छन् ।

नगरपालिकालाई नागरिकमैत्री बनाउनका लागि नगरपालिकाको यस कार्यले निकै मदत पुर्‍याएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

यो सँगै नगरपालिकाले विगत तीन वर्ष पहिलेदेखि नै मोबाइल एप्सको सुरुवात पनि गरेको छ । नागरिकले नगरपालिकाले ल्याएको एप्स आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् र एप्समार्फत नगरपालिकाका सम्पूर्ण सार्वजनिक चासोका विषयमा जानकारी पाउन सकिने व्यवस्था गरिएको छ ।

एप्सभित्र नगरपालिकाको नक्सा, कार्यक्रम तथा नीतिहरू, बजेट, जनहितमा जारी सन्देश ठेक्कापट्टा, सूचना तथा जानकारीहरू उपलब्ध गरिएका छन् । समय समयमा तुरुन्तै सूचना तथा जानकारीहरू अपडेट गर्ने व्यवस्था गरिएको छ ।

यसकासाथै नगरपालिकामा विद्युतीय सिफारिस सेवा अर्थात् ई–सिफारिस सेवा सुरु गरिएको छ । कसैले जन्म दर्ता गर्नु परेमा, विवाह दर्ता अथवा मृत्यु दर्ता वा बसाइसराई दर्ता गर्नुपरेमा अनलाइनमार्फत वडा कार्यालयबाटै आवश्यक प्रक्रिया पुर्‍याई आवेदन दिन सकिने व्यवस्था छ ।

कर तिर्नुपरेमा कार्यालयमा जानै पर्ने बाध्यता छैन अनलाइनबाटै कर तिर्न सकिने व्यवस्था गरिएको छ ।

यस नगरपालिकाभित्र ११ वटा वडा रहेका छन् । सबै वडाहरू पायक पर्ने छैनन् । भौगोलिक विकटतालाई पनि मध्यनजर गर्दै नगरपालिकाले घरबाटै राजस्व तिर्न सकिने व्यवस्था गरिएको छ भने कुनै गुनासो भएमा पनि अनलाइनमार्फत नै अथवा मोबाइलको एसएमएसमार्फत गुनासो गर्न सकिने व्यवस्था छ ।

गुनासो तत्काल सम्बोधनका लागिसमेत संयन्त्र बनाइएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको भनाई छ ।

इ–सिफारिस सेवाले कर छली रोक्ने, कामको झन्झट कम हुने र सबै वडाका काममा एकरूपता कायम हुने सहजै अनुमान लगाउन सकिन्छ ।

नागरिकमैत्री सेवा प्रवाह गर्नका लागि सूचना प्रविधिको नयाँ किसिमको अभ्यास गरेर नगरपालिकाले सह्रानीय काम गरेको छ । यसले नगरपालिकाको संस्थागत क्षमता वृद्धि गर्न त मद्दत पुर्‍याउँछ नै, सुशासन कायम राख्न पनि महत्त्वपूर्ण टेवा पुर्‍याउने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको विश्वास छ ।

कोरोना भाइरसको देशव्यापी महामारीपश्चात् भएको लकडाउनको बेलामा नगरपालिकाले भ्वाइस मेसेजमार्फत सबै नागरिकलाई सचेतना गरेर निकै सह्रानीय काम गरेको सुनाउँछन् डडेलधुराकै स्थानीय दीपक बोहरा ।

उनी भन्छन्, ‘कोरोना महामारीको समयमा देशभरका विभिन्न स्थानीय तहमा लकडाउन भइरहेका बेला यी दुई नगरपालिकामा स्थानीय डोटेली भाषामै जनताले बुझ्ने गरी सचेतनामूलक अडियो मेसेजहरू नागरिकको मोबाइल–मोबाइलमै पठाइएको थियो । त्यसले नागरिकले समयमै सूचना तथा जानकारी पाउन सफल भएका थिए ।’

अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको सूचना प्रविधि केन्द्र स्थापना र खुला सरकार घोषणाले पछिल्लो समयमा स्थानीय सरकारसँग नागरिकले नजिक हुने अवसर पाएको स्थानीय बोहराले बताए ।

दलित समुदाय, सीमान्तकृत वर्ग, महिलाहरू लगायतको पनि पछिल्लो समयमा स्थानीय सरकारका गतिविधहरुमा चासो बढेको देखिएको उनले प्रशासनसँग बताए ।

सूचना प्रविधि केन्द्र स्थापना भइसकेपछि नगरपालिकाले गर्ने हरेक गतिविधि र सूचनामा स्थानीय जनताहरूको पहुँच वृद्धि भएको उनको भनाई छ ।

सुदूरपश्चिम प्रदेशको मध्य पहाडी भेगमा रहेको अमरगढी नगरपालिका २०५३ साल माघ ११ गते देशभर नयाँ घोषणा भएका १५ नगरपालिका मध्येको एक हो । डडेलधुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरू डोटी घटाल, सहस्रलिंग, खलङ्गा,उग्रतारा र भूमिराज मिलाएर यो नगरपालिकाको घोषणा गरिएको थियो । ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण भएको हो ।

अमरगढी नपामा हाल २१ हजार २ सय ४५ जनसङ्ख्या छ । ४ हजार ७ सय ७८ घरधुरी रहेको यस नगरपालिकाको क्षेत्रफल १३९.३३ वर्ग किलोमिटर रहेको नगरपालिकाले जनाएको छ ।
यस्तै डडेलधुराकै नवदुर्गा गाउँपालिका पनि नागरिकमैत्री बन्दै गएको छ ।

स्थानीयलाई सुसूचित पार्ने र गाउँपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले अमरगढी नगरपालिकाकै छिमेकी नवदुर्गा गाउँपालिकाको वडा नम्बर १ मा पनि सूचना प्रविधि केन्द्र ९टेक्नो हब० स्थापना गरिएको छ ।

सूचना प्रविधि केन्द्रमार्फत गाउँपालिकाले उपलब्ध गराउने सेवा, सूचनालगायत विषय नागरिकले घरबाटै हेर्न पाउने गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले प्रशासनसँग बताए ।

सुशासन परियोजना अन्तर्गत स्थानीय जनताको सूचनाको पहुँच बढाउने उद्देश्यले सूचना प्रविधि केन्द्र(टेक्नो हब) स्थापना गरिएको नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले प्रशासनसँग बताए ।

गाउँपालिकामा वडा भेलागर्नेदेखी गाउँपालिकाका गतिविधिहरूबारेमा पनि समयमै जनतालाई जानकारी पुर्‍याउन सूचना प्रविधि केन्द्रले सघाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

हाल गाउँपालिकाको कार्यालयमा पालिकास्तरीय सूचना केन्द्र, वडा नं. १ र वडा नं. ३ मा सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना गरिएको गाउँपालिकाका नायब सुब्बा पुष्पराज जोशीले जानकारी दिए ।

भौगोलिक रूपमा वडा कार्यालय आइपुग्न पनि बाटोघाटोमा सास्ती नपाइयोस् भनेर पनि गाउँपालिकाले इ–सिफारिस प्रक्रिया सुरु गरिएको, आइएमएस प्रणाली लागू गरिएको साथै गाउँपालिकाका बारेमा थप जानकारी प्रदान गर्न मोबाइल एप्स सञ्चालनमा ल्याइएको पनि नासु जोशीले बताए ।

गाउँपालिकामा यो कार्यक्रम आइसकेपछि स्थानीय सरकारको जनताहरूसँग सम्बन्ध राम्रो भएको उनको भनाई छ ।

पछिल्लो समयमा स्थानीय तहले गरेका राम्रा अभ्यासहरूमा यो अभ्यासलाई पनि निकै अर्थपूर्ण रूपमा हेरिएको छ । स्थानीय तहले ल्याएको यस्तो असल अभ्यासलाई दीर्घकालसम्म पनि कायम राख्न र प्रभावकारी बनाउनका लागि भने स्थानीय तहले तदारुकता देखाउनै पर्छ ।

सुदूरका यी दुइटा स्थानीय तहले सुरु गरेको सूचना प्रविधि स्थापना र खुला सरकारको घोषणालाई अन्य स्थानीय तहले पनि अनुसरण गर्न सकुन् । स्थानीय तहले गर्ने यस्ता असल अभ्यासलाई सफल तुल्याउन सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नै पर्छ तवमात्रै हामी सरकारको समृद्धिको सपनालाई साकार रूप दिन योगदान पुर्‍याउन सक्छौ ।

Tags :
प्रतिक्रिया दिनुहोस