लकडाउनपछिका अत्यास लाग्दा सम्झनाहरू « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लकडाउनपछिका अत्यास लाग्दा सम्झनाहरू


११ चैत्र २०७७, बुधबार


चीनको वुहानबाट २०१९ को अन्तिम दिनहरूमा फैलिन सुरु भई विश्वलाई आकुल व्याकुल पार्ने र पारिरहेको कोरोना भाइरस (कोभिड-१९) लाई परास्त गर्न नेपालमा थालिएको ‘लकडाउन’को एक वर्ष पुगेको छ । देश विदेश सबैतिर कोरोनाको महामारी बढिरहँदा नेपालमा २०७६ चैत्र ११ गतेदेखि लकडाउन सुरु भएपछिको एक वर्षमा कोरोना भाइरसप्रति मानिसहरूको बुझाई, अनुमान, मान्यता, विश्वास र भोगाई रोचक रहे । केही त अत्यासलाग्दा र अकल्पनीय पनि ।

लकडाउनको लम्बाईबारे कसैले अनुमानै गर्न सकेको थिएन । एक हप्ता, दुई हप्ता, चार हप्ता हुँदै महिनौँ तन्कियो । आवागमनमा रोक लगाइयो । मानिसहरू हिँड्न र सवारी साधनहरू गुड्न छाडे । हवाईजहाजले भुईँ छोड्नै पाएनन् । कोभिड-१९ को सङ्क्रमण न्यूनीकरण तथा रोकथामलाई व्यवस्थित गर्न हिँड्ने, गुड्ने, उड्ने सबैको अभिलेख राख्न थालियो । ‘बोर्डर’बाट भित्रिनेको विवरण अनिवार्य भयो । सेना खटाइए । स्वास्थ्यकर्मी ‘बोर्डर’मै पठाइए । भित्रिने मान्छेलाई बाह्य सम्पर्क हुन नदिई गन्तव्यमा पठाउने व्यवस्था प्रशासनले मिलाउन थाल्यो । नेपालीहरू हप्तौँ हिँडेर सयौँ किलोमिटर पैदल यात्रा गर्दै सीमा नाकामा आईपुगे । नेपाल आउन खोज्नेहरू भारतीय र भारत जान खोज्नेहरू नेपालीहरू सीमाक्षेत्रका क्वारेन्टीनमा राखिए । क्वारेन्टीनमा परिणत बन्द विद्यालयहरूमा म्याट, झुल, साबुन, मास्क, स्यानिटाइजर वितरण हुन थाले । क्वारेन्टीन व्यवस्थापनमा हम्मे हम्मे परेपछि ‘होम आइसोलेसन’कै प्रबन्ध मिलाइयो ।

अत्यावश्यक बाहेक सेवा प्रवाह बन्द भई अधिकांश राष्ट्र सेवक कर्मचारी फुर्सदिला हुँदा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयका सीमित कर्मचारी बेफुर्सदिला मात्र होइन फरक खालको जिम्मेवारीमा बस्नुपर्‍यो। अरू जिल्ला वा देशबाट आउने नागरिक व्यवस्थापनमा ठुलो जनशक्ति लाग्यो । मान्छे हिँड्न पास चाहिने भयो । प्रशासन कार्यालयहरू ‘पास कार्यालय’झैँ भए । स्थानीय तहहरू क्वारेन्टीन व्यवस्थापन, राहत वितरणमा अलमलिए ।

मास्कको माग आकाशियो । मास्कको हाहाकार भयो । कालोबजारी भएर कारबाही समेत भयो । कैदीले बुनेका र रेडक्रसले सिलाएका कपडाका मास्क । सर्जिकल मास्कदेखि आयातित ‘केएन-नाइन्टी फाइभ’ । डिजाईन डिजाईनका मास्क बजारमा देखिए । मास्क उपहार दिनु र पाउनु सामाजिक प्रतिष्ठासँग जोडिन थाल्यो । मास्क नलगाई हिँड्नेलाई अपराधी सरह कारबाही भयो । स्यानिटाइजरको माग तथा थर्मल गन, फेस सिल्ड, ग्लोभ्स, पिपिई सेट, स्यानिटाइजिङ मेसिन, डिस्इन्फेक्सन सामग्री जस्ता स्वास्थ्य सुरक्षा सामग्री बिक्रीको ग्राफ चुलियो ।

परीक्षण जटिल भएकोले मानिसहरू कोभिड-१९ का अनुमानित लक्षणहरू आफूमा भए नभएको स्व-परीक्षणमा लागे । रुघा लागे लागे जस्तो । टाउको दुखे दुखे जस्तो । खोकीले च्यापे च्यापे जस्तो । श्वासप्रश्वास रोकिए रोकिए जस्तो हुने लक्षणहरू हरेकजसो नागरिकलाई स्व-अनुभूति हुन थाल्यो । कोरोना भाइरस चेकलिस्ट हेरेर आफूलाई भाइरस नलागेको वा लागेको हुन सक्ने अनुमान गर्न थालियो । क्रमिक रूपमा परीक्षण विधिको रूपमा आरडिटी, पिसिआर हुँदै एन्टिजेनसम्म पुगेको अवस्था छ ।

बढी आवागमन हुने सार्वजनिकस्थल, तरकारी बजार, अस्पताल, कार्यालयहरू ‘डिस्इन्फेक्ट’ गर्न थालिए । क्लोरिनको ‘भ्यालु’ बढ्यो । हरेकजसो कार्यालयमा हात धुन साबुनपानीको व्यवस्था भयो । सामाजिक दूरीको प्रारम्भ भयो । स्यानिटाइजिङ बुथहरू राखिए । “कोरोनाको त्रास रहुन्जेल म तपाईँको घरमा आउँदिन, तपाई पनि मेरो घरमा नआउनु होला” भन्ने अभियान चल्यो । आफन्तले आफन्तलाई टाढैबाट अभिवादन गर्न सिके । हात मिलाउने परम्परा तोडियो । सरकारले भनेझैँ ‘जो जहाँ छ त्यही’ बस्न थाले । कोभिडको उपचार ‘नो भिड’ भन्न थालियो ।

चैतमास गाडीको घ्यार्रघुर्र भन्दा कोईलीको कुहुकुहु बढ्ता सुनिन थालेको थियो । कलकारखाना सबै बन्द हुँदा प्रदूषण ह्वात्तै घटेकोले मौसम खुल्न र आकाश छर्लङ्ग थियो । प्रकृति सदियौँपछि सायद यसरी पुनर्जीवित हुन पाएको हुनुपर्छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा एम्बुलेन्स ‘स्ट्यान्ड बाई’ रहन थाले । पछिपछि एम्बुलेन्सले पनि सङ्क्रमितलाई बोक्नै नमानेको, सङ्क्रमितलाई छि छि दूर दूर गरेको, देश विदेशमा सङ्क्रमितको मृत्यु भयानक तरिकाले भएका अफवाह फैलिँदै गए । त्रास बढ्दै गयो । सङ्क्रमणबाट मृत्यु भएकाहरूको शवलाई कसैको सम्पर्कमा आउन नदिई सेनाले व्यवस्थापन गर्न थाल्यो । स्वास्थ्यकर्मीहरूले समेत नागरिकलाई ‘कन्भिन्स’ गर्न नसक्ने अवस्था आयो ।

अन्धविश्वास बढ्यो । आँगन खन्दा कोइला आउने र त्यही यसको वास्तविक औषधि हो भन्ने अफवाहले थुप्रै नेपालीका आँगन एकाबिहानै खनिए । दैलोमा कालो माटोको खोजी भयो । कोइलाको टीका लगाएर हिँड्ने जमात भेटियो । आयुर्वेदिक औषधिको माग मात्र होइन गुर्जो खोज्दै कान्ला कान्ला कुद्नेको सङ्ख्या पनि बढ्यो । अदुवा, बेसार, टिमुर ‘हट केक’झैँ बने ।

हुन त अब खोप पनि आइसकेकोले केही आशा पलाएको भएता पनि लकडाउनको पहिलो वर्षगाँठ मनाइरहँदा नयाँ किसिमको कोरोना भाइरसको जोखिम पुनः बढ्दैछ । अबका दिनमा त्यस्तो अत्यासलाग्दो त्रासदी भोग्न नपरोस् । विगतबाट पाठ सिक्दै सबै सुरक्षित रहौँ, सतर्क बनौँ ।

उपाध्याय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस