संविधानमा नभएको व्याख्या सर्वोच्च अदालतले गर्दैन : अध्यक्ष दाहाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संविधानमा नभएको व्याख्या सर्वोच्च अदालतले गर्दैन : अध्यक्ष दाहाल


२९ पुस २०७७, बुधबार


कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताएका छन् । पार्टी गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै उनले अदालतले संविधानको सही व्याख्या गर्ने र पुनःस्थापना हुन्छ भन्नेमा आफूहरु विश्वस्त रहेकाले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘सर्वोच्च अदालतले संविधानको अक्षर, भावना र मर्मको व्याख्या गर्ने हो, आफूखुशी संशोधन गर्ने होइन । संविधानमा हुँदै नभएको व्याख्या गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन, तपाईँहरु ढुक्क हुनुहोला, प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ ।’

अध्यक्ष दाहालले संविधानविद्, पूर्वन्यायाधीश र धेरै मानिससँगको अन्तक्र्रियाबाट प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास रहेको बताउँदै उनले संविधान र लोकतन्त्र अप्ठ्यारो परेको बेला राष्ट्रका जिम्मेवार नागरिकले यसबारेमा आवाज उठाउनुपर्नेमा जोड दिए ।

‘माथिदेखि तलसम्म सबै पार्टी सङ्गठन विघटनको घोषणा गरेका छौँ, राजनीतिक प्रतिवेदन र विधान नयाँ बनाएका छौँ र त्यहीअनुसार परिचालित छौँ । अब पुनः पछाडि फर्काउने षड्यन्त्र परास्त गरी छाड्छौँ’, अध्यक्ष दाहालले भने । उनले संवैधानिक अङ्गले कानूनबमोजिम पार्टी आधिकारिकताको विवाद निरुपण गर्ने विश्वास गरे। आफूहरुले बहुमत केन्द्रीय सदस्यको प्रतिनिधित्व गरेको जिकिर गर्दै उहाँले नेकपा र चुनाव चिह्न सूर्य पनि आफूहरुले पाउनुपर्ने दाबी निर्वाचन आयोगसमक्ष गरिएको बताए ।

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले बाटो बिराएर गएकालाई गल्ती स्वीकार गरेर पार्टीमा फर्कन आग्रह गर्दै पार्टीलाई एकीकृत र गतिशील बनाउन आफूहरु लागिपरेको बताए । उनले भने, ‘विधि, विधान र अनुशासनको पालना नगर्दा मात्र पार्टी कमजोर हुन्छ, अन्तरसङ्घर्षले पार्टी कमजोर हुँदैन । गुटवादी, व्यक्तिवादी र अहङ्कार त्यागौँ र पार्टीलाई एक ढिक्का बनाऔँ ।’

पूर्वप्रधानमन्त्री नेपालले सबै संविधानमा बाँधिएकाले संवैधानिक सर्वोच्चताभन्दा माथि कोही नहुने बताउँदै आफ्नो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षको पहल गरिरहेको जानकारी दिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलन र पार्टीलाई एकताबद्ध बनाउनुपर्ने प्रमुख दायित्व रहेको बताउँदै संवैधानिक अङ्गले कहीँकतैबाट पनि दबाब र प्रभावमा परेर निर्णय गर्न नहुनेमा जोड र्दिए । कार्यक्रममा पार्टी गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेल, सहइञ्चार्ज यशोदा सुवेदी, प्रदेश कमिटीका सचिव श्रीमाया थकालीलगायतले प्रदेशमा पार्टी सङ्गठन सुदृढीकरण र प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन प्रभावकारी बनाइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस