राष्ट्रिय परिचयपत्रका लागि साढे १२ लाख नागरिककोे विवरण संकलन सम्पन्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय परिचयपत्रका लागि साढे १२ लाख नागरिककोे विवरण संकलन सम्पन्न


२८ पुस २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अहिले राष्ट्रिय परिचयपत्र वितरणका लागि नागरिकहरूको विवरण सङ्कलन अभियानलाई तीव्रता दिएको छ ।

लकडाउनपछि प्रभावित बनेको नामावली संकलन कार्य अहिले जिल्लामा महामारी कम हुँदै गएपछिको अवस्थामा कर्मचारी फिल्डमा काम गर्न खटिन पाएकाले संकलनलाई तीव्रता दिइएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।

महानिर्देशक बस्नेतका अनुसार हाल १० जिल्लामा विवरण संकलन भइरहेको र माघ मसान्तभित्रमा थप ७ जिल्लामा विस्तार भई १८ जिल्लामा विवरण संकलनको काम थालिनेछ ।

झापा, सिन्धुली, ओखलढुङ्गा,उदयपुर,चितवन,गुल्मी,ललितपुर, डडेलधुरा, अछाम र कास्कीमा अहिले विवरण संकलन तीव्रताका साथ अगाडी बढीरहेको छ । कोरोना महामारीको चुनौतीका बावजुद पनि अहिलेसम्म साढे १२ लाख नागरिकको विवरण गरिसकिएको विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले जानकारी दिए ।

हालसम्म पाँचथर, सङ्खुवासभा र कञ्चनपुर गरी तीन जिल्लामा विवरण सङ्कलन अभियान सकिएको छ । पाँचथर जिल्लामा त परिचयपत्र वितरण समेत गरिसकिएको छ । यसै हप्ताभित्र चितवनमासमेत विवरण संकलन कार्य सकिने निर्देशक ढकालले बताए ।

नेपाल राज्यभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचय व्यवस्थापन इकाईको स्थापना गरी विवरण दर्ता गर्ने कार्य सुचारु गरिएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नागरिकहरूको समयमा नै विवरण दर्ता गर्ने उद्देश्यका साथ सबै स्थानीय तहका वडास्तरसम्म अभियानस्वरुप घुम्ती टोली परिचालन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

चालु आर्थिक वर्ष लाई ‘विवरण सङ्कलन अभियान वर्ष’ का रूपमा लिई विभागसँग रहेका जम्मा १०६६ वटा स्टेसनमार्फत नागरिकका विवरण दर्ता गर्ने विभागले लक्ष्य लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस