एक टेलिभिजनकर्मीलाई १ हजार ७५ वर्ष जेल सजाय सुनाइयो ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक टेलिभिजनकर्मीलाई १ हजार ७५ वर्ष जेल सजाय सुनाइयो !


२८ पुस २०७७, मंगलबार


एजेन्सी । टर्कीको एक अदालतले यौन अपराधमा दोषी ठहर भएका एक टेलिभिजनकर्मीलाई १ हजार ७५ वर्ष जेल सजाय सुनाएको छ। ६४ वर्षीय आदनन अक्तरलाई बलात्कार, यौन हिंसा र नाबालकको यौन शोषणलगायत अभियोगमा दोषी ठहर गर्दै उक्त सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दगार्डियनले लेखेको छ ।

अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे। त्यस्ता महिलाहरूलाई उनले ‘बिरालाका बच्चाहरू’ भन्ने गर्थे। सन् २०१८ मा इस्तानबुल प्रहरीले छापा हानेर उनीसहित अरू दुई सय जनालाई पक्राउ गरेको थियो। अदालतले उनको संस्थाका अरू दुई जनालाई पनि २११ र १८६ वर्ष जेल सजाय सुनाएको छ।

सञ्चारमाध्यमहरूका अनुसार अक्तर यौन अपराधसँगै सन् २०१६ मा कूको प्रयास गरेको मुस्लिम समूह फेतुल्लाह गुलेन सँगको साँठगाँठमा पनि दोषी पाइएका छन्। उनले भने त्यस्तो साँठगाँठ अस्वीकार गरेका छन्।

सुनुवाइका क्रममा अक्तरले आफ्ना झन्डै एक हजार जना गर्लफ्रेन्ड भएको बताएका थिए। ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ। प्रेम मान्छेको गुण हो। यो एउटा मुस्लिमको गुण हो,’ उनले एउटा सुनुवाइमा भनेका थिए।

१९९० को दशकमा विभिन्न यौन काण्डले चर्चामा आउने एक समूहको नेता भएपछि अक्तरको पनि चर्चा भएको थियो। उनले सन् २०११ मा अनलाइन टेलिभिजन ए९ खोलेका थिए।

तीन वर्षअघि प्रहरीले उनको उक्त टेलिभिजन बन्द गरिदिएको छ। इस्तानबुलको एसियन साइडमा रहेको उनको भिल्ला भत्काइदिएका छन् र सम्पत्ति पनि जफत गरेका छन्।

प्रतिक्रिया दिनुहोस