अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु


एजेन्सी

२६ पुस २०७७, आइतबार


वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि ४ हजार जनाको ज्यान गएको बताइएको छ ।

यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि चार हजार १८० जनाको यो सङ्क्रमणबाट निधन भएको छ । त्यस दिनमात्र यो सङ्क्रमणका २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ ।

सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो । यहाँ शुक्रबारको तथ्यांकअनुसार यहाँका करिब १ लाख ३२ जना नागरिक कोभिडको संक्रमणका कारण विरामी भएर अस्पतालमा भर्ना भएको बताइएको छ ।

नयाँ वर्ष शुरु भए पछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । यसका कारण यहाँ पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जनाएका छन् ।

यो हप्ता भित्रमा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका संक्रमितहरु बढेका छन् र उनीहरुमध्ये केहीलाई कडा लक्षणहरु देखिएका कारणले अस्पताल नै भर्ना गरिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा अहिलेसम्ममा यो संक्रमणबाट दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यसैगरी यो संक्रमणजन्य जटिलताका कारण यहाँका ३ लाख ६९ हजार जनाको ज्यान पनि गइसकेको बताइएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार यहाँ शनिबारसम्मको तथ्यांकमा यो संख्या देखिएको छ । साथै पछिल्ला केही दिनहरुमा यहाँ संक्रमित हुने र मृत्यु हुने दर पनि बढेको देखिएको छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरी ९ करोड १० लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।

यस सङ्क्रमणको कारण विश्वभरी १९ लाख ३५ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस