माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे : पोखरेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे : पोखरेल


२० पुस २०७७, सोमबार


चितवन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैँ सडकमा पुगेको टिप्पणी गरेका छन्।

ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए । ‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’

सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे। उनले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताए। ‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन्।’

उनले प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको दाबी गरे। जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस