प्रतिनिधि सभा विघटनविरुद्ध काङ्ग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रतिनिधि सभा विघटनविरुद्ध काङ्ग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा


१९ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। नेपाली काँग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो।

बैठकले २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, ३ माघमा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, ८ माघमा स्थानीय तहको ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

जिल्ला समितिले आफ्नो अनुकूलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक सङ्गठनहरूले आ–आफ्नो आवश्यकता र अनुकूलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ।

बैठकले २० कात्तिक २०७५ मा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गर्नेहरूको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको पनि प्रवक्ता शर्माले बताए। बैठकले क्रियाशील सदस्यता विवरण आउँदो माघ मसान्तसम्म गरिसक्ने मिति तय गरेको प्रवक्ता शर्माले बताए।

काँग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक २७ पुस दिउँसो १ बजे बस्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस