प्रतिगमन र कू लाई रोक्न संसद विघटन साहसिक कदम : गृहमन्त्री बादल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिगमन र कू लाई रोक्न संसद विघटन साहसिक कदम : गृहमन्त्री बादल


१८ पुस २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसद विघटन साहसिक कदम भएको बताएका छन् । काठमाडौँमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए ।

‘फुटेर जाने नेताहरुको राजनीतिक कूको तयारी थियो,’ बादलले भने, ‘प्रधानमन्त्री हटाउने, अविश्वासको प्रस्ताव ल्याउने तयारी थियो । त्यसैले प्रधानमन्त्रीले राजनीतिक निर्णय लिनुपरेको थियो । संवैधानिक भन्दा पनि यो राजनीतिक निर्णय हो । प्रतिगमन र कू लाई रोक्ने ठूलो साहसिक कदम हो । यो कदम संवैधानिक हो कि असंवैधानिक भन्नेकुरा अदालतले फैसला गर्छ । यो अग्रगामी कदम हो । यसले प्रतिगमन रोक्यो । भविष्यले यो प्रमाणित गर्नेछ यो कदम सही थियो ।’

बादलले रुपमा प्रतिगमनजस्तो देखिए पनि सारमा अग्रगामी कदम भएको बताए । ‘रुपमा प्रतिगमनमा गएको देखिए पनि सारमा हामी अग्रगामी भएका छौँ,’ बादलले भने, ‘पृथकतावादी आन्दोलनलाई समाप्त पारेका थियौँ । देशको भौगोलिक अखण्डताको लागि महत्वपूर्ण कदम यो सरकारले उठाएको थियो । भौगोलिक अखण्डताको पक्षमा र कम्युनिष्ट आन्दोलनको पक्षमा नेतृत्वले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । हामी निराश हुनुपर्ने आवश्यकता छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस