स्वास्थ्य अवस्था गम्भीर भएपछि कोरोनाका बिरामीहरूलाई हेलिकप्टरबाट काठमाडौँ लगियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य अवस्था गम्भीर भएपछि कोरोनाका बिरामीहरूलाई हेलिकप्टरबाट काठमाडौँ लगियो


१७ पुस २०७७, शुक्रबार


डोल्पा । डोल्पाबाट कोरोना पोजेटिभ भएका दुई जनालाई काठमाडौँ लगिएको छ । कोरोना पोजेटिभ भएर आइशोलशनमा बसेका दुबैजानाको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराउने ५१ वर्षका शिक्षक र ६० वर्षका ठुली भेरी नगरपालिका–२ का वडा अध्यक्षको स्वास्थ्य अवस्था जटिल भएपछि आफन्तले हेलिकप्टरबाट काठमाडौँ लगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

शिक्षक दम, प्रेसर, सुगरका बिरामी थिए भने वडा अध्यक्ष दमका बिरामी रहेका थिए । दुबै जना दीर्घ रोगी भएको र चिसोको समय भएको कारण कोरोनाले झनै बढी च्यापेको डाक्टरहरूको भनाइ रहेको छ ।

पौष महिनामा दुई चरणमा कोरोनाको परीक्षणको लागि पिसिआर गर्दा जिल्लामा ९ जना सङ्क्रमित भेटिएका थिए । हाल अन्य ७ जना निको भएर घर फर्किए पनि दुई जना पुरुषको अवस्था गम्भीर भएपछि जिल्लामा उपचार हुन नसक्दा हेलिकप्टरबाट काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार तत्काल एक साताको लागि विद्यालय बन्द गरेको र अब थप सुरक्षा सतर्कता बढाउनको लागि छलफल भई रहेको बताए । पछिल्लो समय लापारवाहिले कोरोना समुदाय स्तर सम्म पुगी सकेको अनुमान भने चिकित्सकहरूले गरेका छन् ।

जिल्ला अस्पतालमा भेन्टिलेटर छ तर सञ्चालन गर्ने दक्ष जनशक्ति नभएको कारण थन्किएको छ । भेन्टिलेटर नभएकै कारण कोरोनाका बिरामीलाई आफन्तले ६ लाखमा हेलिकप्टर रिजब गरेर काठमाडौँ लैजानुपर्ने बाध्यता आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस