प्रदेश २ का संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश २ का संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


१७ पुस २०७७, शुक्रबार


जनकपुरधाम । प्रदेश २ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ। सोही क्रममा प्रदेश २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

विभाजित नेकपा दाहाल-नेपाल समुहले संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। ओली समूहमा खुलेर लागेका तत्कालिन नेकपा एमालेका सांसद तथा नेता मण्डलविरुद्ध दाहाल-नेपाल समूहका नेता शत्रुधन महतोको अगुवाइमा रामकुमार यादवमार्फत अविश्वास प्रस्ताव दर्ता गराइएको हो ।

नेकपाका सांसद शत्रुधन महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । यद्यपि दाहाल-नेपाल समूहमा २० जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको उनको दाबी छ ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोबिन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, शत्रुधन महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिए । प्रदेशसभा सदस्य सीता गुरुङ र फुलिया देवी सदाय सम्पर्कमै रहेपनि काठमाडौंमा रहेकाले हस्ताक्षर सम्भव नभएको जानकारी दिए ।

संसदीय दलको नेतामाथि अविश्वास प्रस्तावका लागि एक चौथाइ प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दलको उपनेतालाई बुझाउनुपर्ने विधान अनुरुप बुधबार नै अविश्वास प्रस्ताव दर्ता गराइएको महतोले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस