असंवैधानिक संसद विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास सफल हुँदैन : पुन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

असंवैधानिक संसद विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास सफल हुँदैन : पुन


१७ पुस २०७७, शुक्रबार


बुटवल । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको बताएका छन्। ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफू मातहत राखेको चर्चा गरे।

नेकपा दाहाल-नेपाल समुहको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको आरोप लगाएका छन्।

उनले नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको भन्दै असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी दिए । पुनले भने,‘यो नेपालमा हो, राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंशुकता धेरै दिन टिक्न दिँदैनौँ।’

गत ५ पुसको मन्त्रिपरिषद् बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै उनले मन्त्रिपरिषदबाट बहुमत सदस्यको भावनाविपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको उल्लेख गरे। नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गरे।

‘मन्त्रीहरुको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ।’ फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्डै दुई तिहाई र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिन्ह आफूहरुले पाउनेमा शंका नरहेको दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस