पाउडर प्लान्टको शिलान्याससँगै सडकमा दूध पोख्नुपर्ने अवस्थाको अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पाउडर प्लान्टको शिलान्याससँगै सडकमा दूध पोख्नुपर्ने अवस्थाको अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल


१६ पुस २०७७, बिहिबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले किसानले उत्पादन गरेको दूध सडकमा पोख्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् ।

प्रदेश दुग्ध विकास बोर्डले सञ्चालन गर्न लागेको दुग्ध पाउडर प्लान्टको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

‘अब सडकमा दूध पोख्नुपर्ने किसानको बाध्यता हट्नेछ’ मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेश सरकार किसानका पक्षमा काम गर्छ’

प्रदेश सरकार किसानका पक्षमा काम गर्न तयार रहेको बताउँदै उनले किसानले उत्पादन गरेको तरकारी निर्यातका लागि हेटौँडा ११ थानाभर्‍याङमा कृषि सुपर मार्केट निर्माण गर्न लागिएकोसमेत बताएका छन् ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पाउडर प्लान्ट स्थापनापछि बागमती प्रदेशसँगै अन्य चार वटा प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउन सकिने बताएका छन् । यसबाट रोजगारी सिर्जनासँगै पशुपालन व्यवसायसमेत फस्टाउने मन्त्री लामाको भनाई थियो ।

तीन वर्षभित्र पूर्ण सञ्चालनमा ल्याउने गरी निर्माण गर्न लागिएको पाउडर प्लान्ट स्थापनाका लागि ४१ करोड २२ लाख ७१ हजार पाँच सय १२ रुपैयाँ ५९ पैशा सम्झौता रकम रहेको उक्त प्लान्टको लागत अनुमान ४५ करोड १२ लाख ७० हजार दुई सय ८५ रुपैयाँ ९१ पैशा रहेको छ । उक्त प्लान्टको निर्माण कम्पनीमा ईजी इन्फ्रा प्रा.लि. रहेको छ । निर्माण कम्पनीले २०७८ मंसिर २९ गतेभित्र प्लान्ट निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।

डीडीसीले लिएको ८ बिगाहा मध्ये २ बिघामा प्लान्ट निर्माण गरिन लागेको हो । सङ्घीय कृषि मन्त्रालय मातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागिएको लिजमा लिएको थियो । प्लान्टबाट दैनिक १५ सय मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

शिलान्यास कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर मतिना वैद्य जोशी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस