दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी, संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी, संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने


९ पुस २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल (प्रचण्ड) र मधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा जारी रहेको छ । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

यस्तै बैठकले पुस १२ गते ७७ वटै जिल्लामा संसद विघटनविरुद्ध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ। देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनका अनुसार काठमाडौँमा मुख्य प्रदर्शन हुनेछ । यसका लागि बाग्मती प्रदेशका भने सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ ।

बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको हो। २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म सम्म वडा स्तरमा बैठक भेला गर्ने बैठकको निर्णय छ ।

यस्तै दोस्रो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने र नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रम बैठकले तय गरेको छ।

केन्द्रीय कमिटी बैठक अघि यो समूहको स्थायी कमिटी बैठक पनि त्यही ठाउँमा बसेको थियो । स्थायी कमिटीअघि अध्यक्षद्वय पुष्कमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेण्डाबारे छलफल भएको थियो । संघर्षको कार्यक्रम कस्तो हुने भन्ने खाका बैठकमा पेस हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस