७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन


३ पुस २०७७, शुक्रबार


वीरगन्ज । बारामा नियम विपरीत सञ्चालन भएका ७ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको छ ।

जिल्ला समन्वय समितिले ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुसार तत्काल क्रसर उद्योग बन्द गर्न निजगढ नगरपालिकालाई निर्देशन दिएको हो ।

नेपाल क्रसर उद्योग, हिमाल क्रसर उद्योग, लाल बकैया क्रसर उद्योग, चौलागाई क्रसर उद्योग, वैष्णवी क्रसर उद्योग, श्री बकैया क्रसर उद्योग र दंगाल क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा समन्वय समितिको सभापतिको संयोजकत्वमा नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री सम्बन्धी प्रक्रियाको अनुगमन गर्ने समिति हुन्छ । उक्त समितिले जुनसुकै बेला अनुगमन गरेर उत्खनन र सङ्कलनकर्तालाई आवश्यक निर्देशन दिन सक्ने व्यवस्था मापदण्डमा छ । सभापति नबल किशोर साहसहितको टोलीले दुई दिनअघि क्रसर उद्योगहरूको अनुगमन गरेको थियो ।

क्रसर उद्योगहरूको स्थलगत अनुगमन निरीक्षण हुँदा बकैया खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ सङ्कलन गरेर भण्डारण गर्ने गरेको पाइएको अनुगमन समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस