बेसहारालाई सहारा दिन्छौँ : अर्थमन्त्री पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेसहारालाई सहारा दिन्छौँ : अर्थमन्त्री पौडेल


१ पुस २०७७, बुधबार


रुपन्देही । घरबारविहीनका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण शुरु भएको छ । घरबारविहीन भई सडकपेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा आश्रमका लागि भवन निर्माण शुरु गरिएको हो ।

मानवसेवा आश्रम शिलान्यास गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेसहारालाई सहारा दिने कार्यमा सरकारको सदैव सहयोग रहने बताए । उनले देशका विभिन्न स्थानमा यस्ता आश्रमको स्थापना गरी देशलाई सडक मानवमुक्त बनाउनुपर्ने बताए। सामाजिक सेवाको भावना राखेर गरिने कुनै पनि कार्यमा सरकारको सहयोग रहने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशलाई सडक मानवमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सेवा नै धर्म हो भन्ने भावना राखेर मानव सेवा आश्रमको कामलाई पूर्णता दिनुपर्ने धारणा राखे ।

मोक्षधाम परिसरभित्र निर्माण हुने प्रस्तावित भवनको लागत करिब रु छ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको भवन निर्माण समितिका अध्यक्ष लोकनाथ भुसालले जानकारी गराए । घरबारविहीन भई सडकपेटीमा गुजारा गर्दै आएका व्यक्तिलाई गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको मानव सेवा आश्रमले देशका सातवटै प्रदेशमा २१ शाखामार्फत एक हजार १०० भन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै आएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस