पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिन्छः बाँस्कोटा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिन्छः बाँस्कोटा


२८ मंसिर २०७७, आइतबार


मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् ।

प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको निर्णयले हटाउन नसक्ने बताउँदै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले महाधिवेशन र आमनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास हुने जिकिर गरे ।

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको जनाउँदै पूर्वमन्त्री बाँस्कोटाले राजनीति र पार्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जिकिर गरे । ‘बहुमत सदस्यले आफ्नो दृष्टिकोण भने राख्न सक्नेछन्’, उनले भने।

अर्को प्रसङ्गमा उनले राजनीतिका नाममा हिंसा र व्यक्ति हत्या स्वीकार्य हुन सक्दैन भन्दै कम्युनिष्टका नाममा भएको व्यक्ति हत्याको भत्र्सना गरे । पार्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबिनका लागि पद त्याग गर्नु उचित हुने विचार पनि उनले राखे । संवैधानिक निकायका खाली पदमा हुने नियुक्ति सिफारिशका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले अन्यथा त्यस्ता निकाय कमजोर हुने र सरकारले बाध्य भई अध्यादेश ल्याउन सक्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस