पर्यटकीय तथा ऐतिहासिक धरोहर : सिद्धिचरण नगरपालिका « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्यटकीय तथा ऐतिहासिक धरोहर : सिद्धिचरण नगरपालिका


२७ मंसिर २०७७, शनिबार


नेपाल सङ्घीय गणतन्त्रात्मक राज्य बनेपश्चात् ओखलढुङ्गा जिल्ला प्रदेश नं. १ मा पर्ने पहाडी जिल्लामध्येको एक हो । पूर्वदेखि पश्चिमतर्फ क्रमशः फराकिलो हुँदै गएको यस जिल्लालाई तीनतिरबाट सुनकोशी, दूधकोशी तथा लिखु नदीले छुट्याएको छ । नेपालका ७७ जिल्लामध्ये पहाडी जिल्लाको रूपमा यस जिल्लाको कुल भू–भागमध्ये सदरमुकाम ओखलढुङ्गा बजारबाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ । युगकवि सिद्धिचरण श्रेष्ठ र हालको राष्ट्रिय गानको रचनाकार प्रदीप कुमार राई (व्याकुल माइला) को जन्मभूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अहिर वंशी, गोपाल वंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ ।

ओलखढ्ङ्गा नामकरण सम्बन्धमा एउटा ऐतिहासिक तथ्यमा करिब ४०० वर्षअघि राजा नरसिंह मल्लका शासनकालमा काजी भीम मल्लले तिब्बतको धेरै भाग जिती किराँत प्रदेशमा लडाइ गर्ने क्रममा ओखलढुङ्गा सदरमुकाममा उनको फौजको बास प¥यो । बासमा खानेकुरोको हकमा धान मात्र पाइयो । धान कुट्ने साधन नपाई एउटा ठुलो ढुङ्गाको खोपिल्टामा धान राखेर ढुङ्गाकै मुसलले कुटेर चामल बनाइ उनीहरूले छाक टारेका थिए । यसैले त्यस दिनदेखि सो ठाउँको नाम ओखलढुङ्गा रहन गयो भन्ने भनाइ छ । हाल ओखलरूपी ढुङ्गा रहेको ठाउँसँगै यहाँ जन्मिएका कवि सिद्धिचरण श्रेष्ठको प्रतिमा रहेको र सो स्थानलाई सार्वजनिक पार्कको रूपमा विकास गरिँदै आएको छ । ओखलढुङ्गा जिल्लाको एक मात्र नगरपालिका जसको नाम युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना र सम्मानमा सिद्धिचरण नगरपालिका नामकरण गरिएको पाइन्छ ।

प्राचीनकामा यो क्षेत्रमा अहिरवंशी, गोपालवंशी एवं किराँतवंशी राजाहरूले राज्य गरेको पाइन्छ । वल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरूले शासन गरेको कुरा इतिहासमा उल्लेख छ । पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नम्बर ओखलढुङ्गाको नामले यस जिल्लाको जन्म भएको हो । वि.सं. २०१८ सालको प्रशासनिक विभाजनपूर्व हालका सोलुखुम्बू, ओखलढुङ्गा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुङ्गामा पर्दथे ।

ओखलढुङ्गा जिल्लामा प्रकृतिले सिंगारिएको सुन्दर नगरपालिका सिद्धिचरण नगरपालिका हो । २०७१/१/२५ मा नगरपालिका घोषणा हुँदा वर्नालु, ओखलढुङ्गा, ज्यामिरे, सल्लेरी, अँधेरी नारायण स्थान, रुम्जाटार गरी बनेकोमा २०७३ को राज्य पुन संरचना समयमा तलुवा, ठूलाछाप, जन्तरखानी, विगुटार, वेतिनी समेत ५ गाविस र वारुणेश्वर गाविसको एक वडा समेत गरी यो नगरपालिका २०७३ मा थप विस्तार भएको पाइन्छ ।

पूर्वमा पर्ने १ नं वडा तलुवाको भू–क्षेत्र बाहिङ तोलाचा राईको थरबाट अपभ्रंश हुँदै तलुवा वनेको छ । क्षेत्री, बाहुन, नेवार, मगर, राई र दलितको जनसङ्ख्या भएको यो क्षेत्र सहिष्णु संस्कृति सभ्यता भएको उर्वर बेसी पर्ने हुनाले यो नगरपालिकाको गरिमा हो । यसै गरी यस नगरपालिकाको पूर्वमा पर्ने ठुलाछाप क्षेत्र पनि त्यतिकै महत्त्वको छ । यस क्षेत्रको सिरानमा ऐतिहासिक गढी (किल्ला) रहेको हुनाले ठुला छाप नामाङ्कित हुन गएको यस क्षेत्रमा क्षेत्री, बाहुन, दलित, (वि.क., सार्की, दमाई) को उल्लेख्य बसोबास रहेको छ । उर्वर भूमि तथा श्रमजीवी मानिसहरूको बसोबास गर्ने यो स्थान मिश्रित जीवन पद्धतिका लागि प्रसिद्ध छ । पूर्वी क्षेत्रको अँधेरीनारायणस्थान वाहिङ राई भाषामा “खिम पापु” भनेर चिनिन्थ्यो । काजी भीमसेन थापाको समयमा स्थानीय व्यक्ति इन्द्र वीर गुरुङले चार नारायणको मन्दिर स्थापना गरे पछि यस ठाउँको नाम नारायणस्थान रहन गयो । राई, क्षेत्री र बाहुन, गुरुङ, भुजेल, गिरी, दलित बसोबास गर्ने यस क्षेत्रमा कृषि, वैदेशिक रोजगार, सरकारी सेवामा सक्रिय मानिसहरू रहेका छन् ।

रुम्जाटार क्षेत्र ऐतिहासिक छ । सन्त ज्ञानदिलदास, मेलवा देवी जस्ता रूपान्तरणमा लाग्ने नामहरू गुरुङको उल्लेख्य उपस्थिति, ऐतिहासिक बहुल सांस्कृतिक सम्पदाहरू, लोकभाषा, लोक साहित्य तथा यहाँ उत्पादित राडीपाखी विश्वभर प्रसिद्ध छ । रुम्जाटारको माथिल्लो क्षेत्र वर्नालु पनि महत्त्वपूर्ण मानिन्छ । बर्ने वाहिङ राईले शासन गरेको आधारमा नामाङ्कित भएको यस क्षेत्रमा राई शेर्पा, बाहुन गिरी, भुजेल, गुरुङ र विश्वकर्माको बसोबास रहेको छ ।

सिद्धिचरण नगरपालिकाको जन्तरखानी क्षेत्र रमणीय पर्यटकीय गन्तव्य रहेको छ । यस क्षेत्रको माथिल्लो टाकुरामा जन्तर आकारका दुईवटा ठुला ढुङ्गा र त्यसको फेदमा तामाखानी पाइने भएकाले यस ठाउँको नाम जन्तरखानी रहन गएको भनाइ छ । मगर, शेर्पा र दलित जातिको उल्लेख्य बसोबास भएको यो क्षेत्रमा नगरभरिमा ओसिलो क्षेत्र मानिएको अत्यधिक तरकारी उत्पादन हुने विगुटार रहेको छ । विगु भुजेलले उक्त क्षेत्रमा विजय हासिल गरी आबादी गरिएको भनाइ पनि रहेको छ । वेतिनीका उर्वर फाँटहरू धमला मगर बस्तीको बाहुल्य मोलुङको सुसाइसँगै निरन्तर कृषि कर्ममा जुटिरहेको देखिन्छ । ज्यामिरे जातका फलफूलले भरिपूर्ण ज्यामिरे खड्का, वांनिया थरको ऐतिहासिक थलो, मोलुङको किनारबाट उभिएर क्षितिजको फेदमा फाँटिलो जमिनभरि नवीन परिकल्पनामा विकासका गतिविधिहरू सोचिरहन्छन् ।

जिल्लाको माथिल्लो भागमा रहेको यस नगरपालिकामा भौगोलिक विविधताले गर्दा मौसम र यहाँको हावापानीमा पनि विविधता पाइन्छ । माथिल्लो भागमा रहेका ३ हजार मिटर माथिका डाँडाहरूमा पानी परेको अवस्थामा र हिउँद महिनामा प्राय जसो हिउँ पर्ने गरेको पाइन्छ । दूधकोशी नदीको किनारसम्म पूर्वपट्टि यस नगरपालिकाको सिमाना रहेकोले नदी छेउ छाउ करिब ४–५ सय मिटरको उचाइमा रहेका भूभागमा गर्मी हावापानी पाइन्छ । पश्चिम पट्टि मोलुङ खोलाले यस नगरपालिकालाई उक्त गाउँसँग छुट्याई सिमाना कायम गरिएको छ ।

तलदेखि माथि सम्मको विभिन्न भौगोलिक धरातलको कारणले नगरपालिकाको क्षेत्रभित्र उष्ण, समशीतोष्ण र शीतोष्ण खालको हावापानी पाइन्छ । उष्ण हावापानी करिब ४ सय मिटरदेखि हजार मिटरसम्मको उचाइमा, समशीतोष्ण २ हजार देखि ३ हजार मिटरसम्म र शीतोष्ण ३ हजार मिटर देखि माथि पाइन्छ । रुम्जाटार र सो आसपासका क्षेत्र र कोशी नदीको छेउ लगायत तल्लो भेगमा तातो हावाको महसुस गर्न पाइन्छ भने अन्य स्थानमा समशीतोष्ण खालको हावापानी पाइन्छ जसले गर्दा यो नगरपालिका क्षेत्रमा धेरै गर्मी पनि नहुने धेरै जाडो पनि महसुस नहुने हुनाले बसोबास, हावापानीको दृष्टिकोणले सुरम्य मानिन्छ । यस नगरपालिकाको क्षेत्रमा बढी वर्षा १७० मि.लि र औसत वर्षा २९३०.४ मि.लि रहेको छ ।

भू बनौटतर्फ अध्ययन गर्दा नगरपालिकामा नदी किनारका सम्म परेका केही खेतहरू पाइन्छन् भने बिचको पहाडी खण्डमा गरा परेका खेतबारी र जङ्गलहरू यथेष्ट पाइन्छन् । माथिल्लो लेकाली क्षेत्रमा वन जङ्गल कम हुने र सानातिना देवदारका रुखहरु, धुपी, सल्ला तथा बुट्यानहरू पाइन्छन् ।

यहाँको अधिकांश जमिनको क्षेत्रफल भिरालोपना भएको हुनाले माटोको बनावटमा धेरै ठाउँमा समानान्तर पाइन्छ । उर्वरा माटोको क्षयीकरणले गर्दा यस नगरपालिकाको अधिकांश भागमा रातो माटो, बलौटे दोमोट र कालो र कमेरो माटो पाइन्छ । केही समथर भू–भाग जस्तै रुम्जाटार, विगुटार लगायत विभिन्न टारहरूमा उर्वरा माटो भएकोले सो स्थानमा राम्रो कृषि उत्पादन हुन्छ । तल बेसी ठाउँहरूमा मलिलो, पाँगो तथा कालो माटो र ढुङ्ग्यान तथा पत्थरयुक्त माटो समेत पाइन्छ । यस नगरपालिकामा पाइने महत्त्वपूर्ण खनिज पदार्थहरू फलाम र तामा रहेका छन् जुन जन्तरखानीमा पाइन्छन् ।

सिद्धिचरण नगरपालिकामा मुख्य गरी विभिन्न जात्रा, दशैँ, तिहार, तिज, साउने सङ्क्रान्ति, मङ्सिर पूर्णिमा, उधैली, उभौली, ल्होसार, कृष्ण अष्टमी, जनै पूर्णिमा, ठूलो एकादशी, भुजापाते मेला, गठ्ठे मङ्गल, माघे सङ्क्रान्ति आदि मनाइन्छ । यस नगरपालिकाको धार्मिक÷ऐतिहासिक÷पुरातात्त्विक स्थलहरू कर्कलादेवी मन्दिर, देवी बिजुवा मन्दिर, दक्षिणकाली देवी मन्दिर, मैलीदेवी मन्दिर, पञ्चमुखी मन्दिर, पहरेवेशी, वाङ्गीवेशी, मूलघाट, निशंखे, कोट मन्दिर, थापाडाँडा, कोटगढी मन्दिर, रेणुका मन्दिर, शीतला मन्दिर, सावित्रा देवी मन्दिर, रक्तमाला देवी मन्दिर, मुका डाँडा (याम डाँडा), तारेभिर, (चम्पादेवी), पञ्चकन्या देवी, चार नारायण मन्दिर, कालिकादेवी मन्दिर, सेतीदेवी मन्दिर, गणेश मन्दिर, सरस्वती मन्दिर, भीमसेनस्थान मन्दिर, भगवती देवीस्थान, जाल्पादेवीस्थान, हरेराम हरेकृष्ण मन्दिर, चण्डेश्वर महादेवस्थान, रुम्जाटार बौद्ध गुम्बा, कालिका मन्दिर पार्क, ठूलो डिम पार्क, सन्त ज्ञानदिल स्मारक, अखण्ड हरिकीर्तन मन्दिर, थालडाँडा, देउरालीडाँडा, खोख्लेखोला दोभान, टोडकेको साउने चौतारा, ठाडे दाह्रेगौंडा, सानोथामडाँडा, सानोथाम गुफा, डाँडाखर्क, सप्नावती मन्दिर, राधा लक्ष्मी कुञ्जरा, श्री कालिका देवी, तीनकन्या, पाँच कन्या देउराली, सिताढुङ्गा, सिद्रगैया लालु, ओख्लेढुङ्गा, छोलिङ गुम्बा, सोनाम छालिङ गुम्बा, धनमाया देवी मन्दिर, टोड्के भ्यु डाँडा, सिंहदेवी, सानु थाम, ठूलो थाम डाँडा, ज्ञानमती, पाँच कन्या ललेश्वरी, पञ्चकन्या देवी, सिंहमहादेव, दाङ्गेवन, दूधज्वालमती, वनपाले, देवाली स्थान, देउराली, चिलाउने खोप सार्वजनिक वन, साउने छिलछिरे सामुदायिक वन, विश्ले खोप सामुदायिक वन, मेघे पातल सामुदायिक वन, तिहारे, खर्क सामुदायिक वन, कालिका देवी धार्मिक वन, बाझोधार सामुदायिक वन, तोलु गुम्बा, जन्तरधाप, भुजापति मन्दिर, महघंर गुफा, तोलुगुम्बा, चम्पादेवी मन्दिर, सेतीदेवी मन्दिर सल्लेरी, टासी छोलिङ् गुम्बा सल्लेरी, थाम डाँडा, सल्लेरी तामाङ गुम्बाघर, जाल्पादेवी मन्दिर, कान्तादेवी मन्दिर, चञ्चला देवी, कान्ता देवी, कालिका देवी, महादेवस्थान गउत, सिंह डाँडा, कालिकादेवी मन्दिर, झाँक्री ढुङ्गा, वडा हाकिम दरबार, ओखल आकारको ऐतिहासिक ढुङ्गा, युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थान, भैरवनाथ मन्दिर, महादेव मन्दिर, गणेश मन्दिर, गड्यौलेदेवी मन्दिर, वाल कन्या सिंहदेवी मन्दिर आदि छन् ।

राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसाँस्कृतिक एकतामा समाहित भएर सिद्धिचरण क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ । हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्रामहण–क्षेत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चेबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, भेष–भूषा, बोली वचन, साहिनो–अभिवादन, धर्मकर्म, लोकपरम्परा, कला–कौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आफ्नै निजी सम्पत्ति हुन् ।

विश्वमा सूचना र सञ्चारको जगतमा एक्काइसौँ शताब्दीमा देखिएको द्रुत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादन मार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनैतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बद्लिँदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडी बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषि पछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रम प्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रष्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलश्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मङ्गोल संस्कृतिको सङ्गम स्थल रहेको क्षेत्र हिन्दु तथा बौद्धमार्गी ऋषिमुनिहरुको तपोभूमि एवं विश्राम स्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुदायको साझा फूलबारी हो ।

यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमिले सोचे अनुसार पर्यटकहरूको सङ्ख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण सिद्धिचरण नगरपालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र सम्वर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना अनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटन सम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, सिद्धिचरण नगरपालिका क्षेत्रको लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । सिद्धिचरण नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यक देखिन्छ । नगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरू मध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस सिद्धिचरण नगरपालिका क्षेत्र भित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रिया अनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुने छ । यस क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्यपान गर्दै पर्यटकीय विकासका लागि विभिन्न प्रकारको कार्यक्रमहरू गर्न सके अर्थतन्त्रमा दरिलो टेवा पुग्ने थियो ।

लेखकः नेपालमा गुणात्मक जीवनको निम्ति स्वास्थ्य, जनसङ्ख्या एवं वातावरण शिक्षामा गैरसरकारी संस्था एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि तथा पर्यटन, प्राकृतिक एवं ऐतिहासिक धरोहरसम्बन्धी दर्जनौँ अध्ययन अनुसन्धान

Tags :
प्रतिक्रिया दिनुहोस