पितृसत्तात्मक सोच र महिला हिंसा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पितृसत्तात्मक सोच र महिला हिंसा


२५ मंसिर २०७७, बिहिबार


महिलाहरूले आफ्नो नितान्त शारीरिक आवश्यकता, चाहना वा सम्बन्धहरुमासमेत श्रीमान् वा पुरुषको इच्छा र चाहनाबाट निर्देशित हुन बाध्य हुँदै गर्दा एक्काइसौँ शताब्दीको यो घडीसम्म आइपुग्दा महिला उन्मुक्तिका विषयहरूमा हामी के र कस्तो स्थितिमा रहेका छौँ त ? कल्पना गरौँ ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महिला हिंसा विरुद्ध देशैभर अभियान चलिरहेको छ । यसै सन्दर्भमा केही वर्ष अघिको एउटा परिघटना आज झट्ट मेरो दिमागमा आइरहेछ । प्रसङ्ग थियो जिल्लाको सदरमुकाम स्थित एउटा हलभित्र थुप्रै सहभागीहरुकाबीच महिला हिंसाविरुद्ध कार्यक्रम चलिरहेको थियो । महिला हिंसा विरुद्ध विभिन्न आवाजहरू सम्बन्धित क्षेत्रका विज्ञबाट उठिरहेका थिए ।

चर्को चर्को स्वरमा महिला उन्मुक्ति र हक हितका सवालहरूमा अगुवाहरू भाषण गरिरहेका थिए । विभिन्नस्वरुपमा महिलामाथि हुने विभेद, असमानता, फरक व्यवहार, महिलालाई समाजले हेर्ने दृष्टिकोण र पितृसत्तात्मक समाजको सोच र त्यसको इतिहासदेखिका स्वरूपहरूको बखान चलिरहेको थियो ।

जिल्लाका प्रमुख प्रशासनिक तथा राजनीतिक व्यक्तित्व र अधिकारकर्मी संघ संस्थाका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सबै उक्त कार्यक्रममा उपस्थित थिए । त्यसै मेसोमा महिलाका जीवन भोगाइका अनेक रङ्गहरू र सोसँग जोडिएका चौतर्फी सवालहरू आर्थिक, सामाजिक, राजनीतिक, पारिवारिक हैसियत लगायतका विविध कोणबाट विश्लेषण हुँदै थियो । आ–आफ्ना अनुभव, भोगाई, दृष्टिकोण र अनुभूतिहरूको वकालत हुँदै थियो ।

त्यसैबीच एक वक्ताले मञ्चबाट एउटा प्रश्न राख्नुभयो । हलभरि खचाखच महिलाहरूलाई गरिएको त्यो प्रश्न सुन्दा सामान्य जस्तै लागे पनि त्योसँग जोडिएको विषय बडो गम्भीर र दर्दनाक थियो । जुन प्रश्नले मलाई घचघच्यायो र उत्प्रेरित गरिरह्यो ।

प्रश्न थियो ‘आफ्नो शरीरमाथि आफ्नो अधिकार भएका महिलाहरू यो हलमा कति जना हुनुहुन्छ ? कृपया हात उठाउनुहोस् !’

विभिन्न क्षेत्रको जिम्मेवारी बोकेका सयको हाराहारीमा महिलाहरू त्यहाँ उपस्थित थिए । तर जम्मा–जम्मी दुई जनाले मात्र आफ्नो शरीरमाथि अधिकार छ भनेर हात उठाएर आफ्नो बहादुरीको स्वघोषणा गरे ।

यो सानो उदाहरणबाटै हामीले यो समाजका महिलाको अधिकार र स्वतन्त्रताको स्तरलाई मापन गर्न र अनुमान गर्न गाह्रो पर्दैन होला । जब कुनै व्यक्ति आफ्नो शरीरको मालिक स्वयं हुन सक्दैन । आफ्नै शरीरमाथि आफैले भोगाधिकारको हैसियत राख्दैन । आत्म सम्मानित हुने स्वायत्तता छैन । जब स्व–अस्तित्व हुँदैन भनेपछि उसबाट समाजले विकास र उन्नयनका अन्य विषय र सवालहरूप्रति कुन हदको योगदान अपेक्षा गर्न सक्ला ? यो एक गम्भीर र सोचनीय विषय रहेको छ । महिलाहरूले आफ्नो नितान्त शारीरिक आवश्यकता, चाहना वा सम्बन्धहरुमासमेत श्रीमान् वा पुरुषको इच्छा र चाहनाबाट निर्देशित हुन बाध्य हुँदै गर्दा एक्काइसौँ शताब्दीको यो घडीसम्म आइपुग्दा महिला उन्मुक्तिका विषयहरूमा हामी के र कस्तो स्थितिमा रहेका छौँ त ? कल्पना गरौँ ।

नेपाली समाज आज पर्यन्त पनि नारीवादलाई पितृसत्तात्मक खोल ‌ओढाई नारी उन्मुक्तिको अर्थ र परिभाषा लगाएर अझै थाकेको छैन । पितृसत्ताले महिलालाई पखेटाहरूलाई आफ्नो कब्जामा राखेर खुला आकाशमा उड्न छोडिदिएको अनौठो वाहाना गर्दै छ । पितृसत्ताको कठोर तर मन्दगतिको दमनकारी शैलीमा आज पनि कुनै परिवर्तन नआउनु अत्यन्त दुखद पक्ष हो । पितृसत्ता जबसम्म समाजमा जड बनेर रहन्छ तबसम्म महिलाप्रति यो समाजले हेर्ने विभेदपूर्ण दृष्टिकोणमा परिवर्तन आउन सक्ने देखिँदैन । महिला हिंसाका अनेक रूपहरू त्यहीँ सत्ताको उपज बनेर देखिइरहने छन् ।

महिलालाई उसको पेसा छनौटमा स्वतन्त्रता छैन, उसले लगाउने पहिरनको रोजाई उसको हुँदैन । आफ्नो रोजाइबाट निर्देशित हुने स्वायत्तता छैन । आफ्नो निजत्वमा जिउने अधिकार छैन । कहिले कसैको छोरी, प्रेमिका, श्रीमती, बुहारी, आमा वा यस्तै अनेक सम्बन्धहरूमा उसका स्वतन्त्रतालाई कसैका निजी वस्तु सरह नियन्त्रण गरिएका हुन्छन् ।

‘फराकिलो क्षितिजमा पङ्ख फिँजाइ उन्मुक्त कण्ठले स्वतन्त्रताको गीत महिलाले कहिले गाउन पाउलान्  ?’

नेपाली समाजले आजीवन महिलालाई कुनै न कुनै बहानामा उसको जीवन र स्वतन्त्रतालाई बन्दी बनाई राख्न चाहन्छ । जुन हिजो थियो, आज पनि छ र थाह छैन अब कहिलेसम्म यो रहिरहने हो । सत्य जति सुकै कठोर र तितो भए पनि त्यो स्वीकार गर्नै पर्छ नेपाली समाजको अहिलेको अवस्था यही हो ।

हामी दैनिक अनुभूत गरिरहेकै छौँ कि घर, कार्यस्थल, विद्यालय, धर्म स्थल या अन्यत्र कहीँ पनि नारी सुरक्षित रहेनन् । त्यो कुनै स्थान छैन, जहाँ उसले निर्धक्क भएर सास फेर्न सकोस्, आत्मसम्मानका साथ जिउन सकोस्, हिंसा र विभेदरहित महसुस गरोस् र सन्तुष्टि प्राप्त गर्न सकोस् । खै कतै छ त त्यस्तो परिवेश जहाँ महिलाले महिला भएकोमा गर्व गरेको होस् र यस धर्तीमा जन्म लिन पाएकोमा आफूलाई भाग्यमानी ठानिरहेको होस् ?

संसारमा ठुला ठुला परिवर्तनहरू भए । विश्व आर्थिक, सामाजिक, राजनैतिक लगायतका पक्षबाट एकीकृत भएर एक गाउँमा परिणत भइसक्दासमेत हामीले प्रत्येक दिन जसो अखबारका पानाहरूमा बलात्कारका घटनाहरू नपढेको दिन हुँदैन । चार वर्षका कलिला अबोध बालिकादेखि उमेरले डाँडो काट्न लागेका हजुरआमाहरू समेत यौन हिंसाको सिकार बनेका छन् । बलात्कार जस्तो अत्यन्तै घृणित कुकृत्यबाट कैयौँ अबलाहरू प्रताडित भइरहेका छन् । आफ्नै जन्मदिने पिताबाट छोरी बलात्कृत भएका समाचार पढ्नु पर्दा आङ नै सिरिङ्ग हुन्छ ।

देवी, दुर्गा, सरस्वती, महाकाली, महालक्ष्मी अनेक नारी शक्तिलाई आस्था र विश्वास गरी शक्ति पीठमा पूजा गर्न धाउने समाजले आफ्नै छोरी, बुहारी, श्रीमतीलाई सम्मान गर्न नसकेको देख्दा उदेक लागेर आउँछ । जबसम्म एउटा परिवारमा छोरीलाई सम्मान गरिँदैन, उसलाई कसैको सहारा बिना घर बाहिर जान अनुमति दिइँदैन, उसका छनौट र रोजाइमा आफ्ना इच्छा लाद्न खोजिन्छ वा नियन्त्रण गरिन्छ । त्यहीँबाट उसको स्वतन्त्रता सङ्कुचित बन्दै जान्छ । कसैको सहारामा बाँच्ने संस्कारको विकास हुँदै जान्छ ।

प्रवेशिका पढ्ने छोराको केटी साथीको प्रसङ्ग गरेर रमाइलो अनुभूत गर्न चाहने अभिभावकहरू छोरीलाई भने जीवन साथी छनौट गर्नसमेत स्वायत्तता दिँदैनन् । कोही मन मिलेको पुरुष साथीसँग कुनै पल आफ्ना भावनाहरू आदानप्रदान गरेको देखे भने उसलाई आचरणहीन, नैतिक पतन भएकी, व्यभिचारिणी, चरित्रहीन, वेश्या लगायतका उपमा दिइन्छ ।

विभेद यही र यस्तै प्रवृत्तिहरूबाटै सुरु हुने हो । पुरुषका हरेक राम्रा–नराम्रा कुराहरूलाई सहस्र स्वीकार गर्ने समाजले उस्तै प्रकृतिका काम वा आचरणहरू महिलाबाट हुँदा अनेक लाल्छनाहरु लगाउने गरिन्छ । महिलाका साना तिना गल्ती कमिकमजोरीहरुलाई आकाश खसेजस्तै देख्ने यो समाजले पुरुषका भयानक गल्तीलाई पनि सामान्य रूपमा लिन्छ ।

महिलाहरूले मुलुकका गहन जिम्मेवारी नसम्हालेका पनि होइनन् । केही अगाडि देशको प्रधानन्यायाधीश महिला थिइन । हाल देशको राष्ट्रपति महिला नै छन् । जुन गर्व गर्न लायक कुरा हो । तर मुलुकको आधा भन्दा बढी हिस्सा ओगटेका महिलाहरूले आज पर्यन्त पनि एउटा सार्वभौम नागरिकको हैसियतले उन्मुक्त हुने वातावरणको सृजना हुन नसक्नु दुखद पक्ष पक्कै हो ।

आज पनि उही अधिकारका सवाल, उही असमानताका कुरा, उही विभेद, उही अवहेलना र उही उत्पीडन विरुद्ध रोइकराई गर्नु परेको देख्दा अत्यन्तै हीनता बोध हुन्छ ।

देशमा यति ठुला ठुला क्रान्ति भए, व्यवस्थाहरू परिवर्तन भए, नयाँ संविधान बन्यो, नेतृत्व फेरिए तर सबै कुरा फेरिइसक्दा पनि यो समाजको महिलाप्रति हेर्ने दृष्टिकोण कहिल्यै फेरिन सकेन । राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक कुनै क्षेत्रमा पनि पुरुषवादी सोच भनौँ पितृसत्तात्मक मनोदशाबाट पछि हट्न सकेको छैन । आरक्षण, सशक्तीकरण तथा अन्य समानता र समताका कुराहरू जति गरे पनि निर्णायक भूमिकामा महिलालाई सदैव कमजोर आँकलन गरिन्छ ।

यो वर्ष विश्व नै महामारीबाट गुज्रिरहेको कारणले तारे होटलहरुमा महिला हिंसा विरोधी नारा त्यति सारो गुन्जन पाएनन् होला । हरेक वर्ष पर्वकैरुपमा आउने र मनाइने यस्ता अभियानले मुलुकको दूर दराजमा अमानव जसरी जीवन बिताइरहेका सर्वसाधारण महिलाहरूलाई के कति असर गर्ला ? या उनीहरूको सदियौँदेखिको परनिर्भर जिन्दगीमा कत्तिको परिवर्तन ल्याउला र उनीहरूले भन्न सक्लान् । मेरो शरीर म स्वयंको हो र यो मेरो मर्जीमा चल्छ । अनि मेरो शरीरमाथि मेरो पूर्ण अधिकार र नियन्त्रण चल्छ भनेर ।

फराकिलो क्षितिजमा पङ्ख फिँजाइ उन्मुक्त कण्ठले स्वतन्त्रताको गीत महिलाले कहिले गाउन पाउलान् ? हामीले खोजेको स्वतन्त्रता पुरुष विरोधी हुनै सक्दैन । पुरुष बिनाको एकलौटी महिला अधिकारले कुनै अर्थ पनि राख्दैन । हामीले खोजेको स्वतन्त्रता पुरुषको निरपेक्षतामा होइन कि केवल सह–अस्तित्वको हो । समानताको हो । आत्मसम्मानको हो । मानवताको हो । यो लडाई पुरुष र महिलाको हातेमालोमा मात्र सम्भव छ ।

म त्यो दिनको प्रतीक्षामा छु की सम्पूर्ण महिलाहरू पुरुष सरह समानान्तर हैसियतमा पुग्न सकुन् । एउटा महिला मुलुकको पूर्ण नागरिक भएको महसुस गर्न सकोस् । तब मात्र महिला हिंसाविरुद्धको अभियानले सार्थकता पाउनेछ । जब प्रत्येक व्यक्ति, समाज अनि राष्ट्रले प्रतिबद्धता व्यक्त गर्ने मात्र नभई व्यवहार र आचरण अनि दृष्टिकोणमा परिवर्तन गर्दछ ।

महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने पितृसत्तात्मक माइन्डसेटमा परिवर्तन गर्नुपर्छ । समाज विकास र परिवर्तनको परिकल्पना त्यतिवेला सम्भव हुनेछ जब समाजमा महिला र पुरुष दुवैको समान हैसियत र अस्तित्व कायम हुनेछ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता: व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने यस वर्षको नाराले सार्थकता पाओस्, शुभकामना।

Tags :
प्रतिक्रिया दिनुहोस