नेपालमा सदाचारिताको अभ्यास « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा सदाचारिताको अभ्यास


२४ मंसिर २०७७, बुधबार


सधैँझैँ यस वर्ष पनि डिसेम्बर ९ ले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको स्मरण गराएको छ । संयुक्त राष्ट्र संघले यस वर्ष यो दिवसलाई कोरोना सङ्क्रमितको पुन:स्वास्थ्यलाभसँग जोडेर यसका लागि सदाचारिताको अभ्यासमा जोड दिई रिकोभर उइद इन्टिग्रिटी भन्ने मूल नारा तय गरेको छ । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको सन्दर्भमा मनाउन थालिएको यस दिवसलाई पक्ष राष्ट्रको हैसियतले नेपालले पनि महत्त्व दिँदै आएको छ । यस सन्दर्भमा नेपालमा भ्रष्टाचारको विद्यमान अवस्था र सदाचारिताको अभ्यासका बारेमा विवेचना गर्नु सान्दर्भिक देखिन्छ ।

सामान्यतया सदाचार र भ्रष्टाचारलाई विपरीतार्थक शब्दका रूपमा लिई सदाचार भएको अवस्थामा भ्रष्टाचार र भ्रष्टाचार भएको अवस्थामा सदाचार विद्यमान हुन सक्दैन भन्ने मान्यता राखिन्छ ।  वास्तवमा भ्रष्टाचार र सदाचार एउटै कन्टिन्यूमका दुई छेउ हुन् जसमा एउटा घट्दा अर्को बढ्ने र एउटा शून्य हुँदा अर्को उत्कर्षमा पुग्ने सम्भावना रहन्छ ।

सदाचार बोलीभन्दा व्यवहारमा झल्किन्छ । सदाचार अन्तर्मनबाट उत्प्रेरित व्यवहार भएको हुँदा सदाचारी व्यक्तिले भ्रष्टाचारबाट आफूलाई टाढै राख्ने कोसिस गर्दछ । कसैले नदेखेको वा थाहा नपाएको अवस्थामा समेत सदाचारी व्यक्तिले भ्रष्ट व्यवहार प्रदर्शन गर्दैन । सदाचारितालाई इमान्दारिताभन्दा असल व्यवहार मानिन्छ किनकि इमानदारिता अर्काप्रति देखाइन्छ र बाह्य हुन्छ भने सदाचारिता अन्तर्प्रस्फुटित, स्वतःस्फूर्त र आन्तरिक हुन्छ । सदाचारयुक्त सङ्गठन वा समाजमा आत्म-अनुशासन, समुन्नति र सहअस्तित्वको सम्भावना बढी हुन्छ । यसकारण सदाचारिताको अभ्यास व्यक्तिका साथै साङ्गठनिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत महत्त्वपूर्ण मानिन्छ ।

सदाचारको उल्टो भ्रष्टाचारले आर्थिक अपराध, सामाजिक विशृङ्खलता, मनोमालिन्य र अन्यायलाई बढवा दिन्छ । यसले लोकतन्त्रका आधारभूत मान्यतालाई भत्काउँछ । चरम भ्रष्टाचारले मुलुकलाई नै गतिहीनता र पतनको बाटोमा डोर्‍याउनुका साथै राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय अपराध र आतङ्ककारी कार्यमा समेत लगानी बढाउँछ । यसै कारण विश्वव्यापीकरण नै भ्रष्टाचार नियन्त्रणको अपरिहार्य आवश्यकता महसुस गरी भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित गरिएको र सोही आवश्यकतालाई पुनर्बल प्रदान गर्न हरेक वर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वव्यापीरुपमा मनाउन थालिएको हो ।

यस वर्षको भ्रष्टाचारविरुद्धको विश्वव्यापी प्रतिविद्धताको स्मरण गर्ने कार्य कोरोना महामारीसँग गाँसिएको छ । विश्वको ध्यान कोरोना महामारी नियन्त्रण र कोरोना सङ्क्रमितको उपचारमा केन्द्रित भएको बेला कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद, आइसोलेसन सेन्टर तथा अन्य आवश्यक पूर्वाधार निर्माण, राहत वितरण र स्वास्थ्य सेवामा पहुँच लगायतका कार्यमा भ्रष्टाचार हुने सम्भावना बढेको छ । यसै कारण यूएनओडिसीले यस दिवसको सन्दर्भमा कोरोना भाइरसका साथसाथै भ्रष्टाचारको भाइरसलाई पनि रोकौँ भन्ने सन्देश प्रवाह गरेको छ ।

नेपालमा भ्रष्टाचार र सदाचारको अवस्था विश्लेषण गर्दा ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको एसियामा भ्रष्टाचार र घुसको बारेमा गरेको सर्वेक्षण (ग्लोबल करप्सन ब्यारोमिटर फर एसिया २०२०) सान्दर्भिक देखिएको छ । यस अध्ययनले एसियाली मुलुकहरूको भ्रष्टाचार र सदाचारको तुलनात्मक अवस्था देखाएको छ । सर्वेक्षणअनुसार नेपालमा सरकारमा भ्रष्टाचार छ भनी सोच्ने सहभागीको प्रतिशत ८४% र आफैँले विगत एक वर्षभित्र घुस दिनुपरेका सहभागीहरूको प्रतिशत १२% रहेको छ । उल्लेखित सर्वेक्षणमा एसियाली राष्ट्रहरूमध्ये नेपालमा सबैभन्दा बढी ५८% ले विगत एक वर्षमा भ्रष्टाचार बढेको भन्ने अभिमत राखेको देखिएको छ । साथै, भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायले राम्रो काम गरिरहेको छ भन्ने विश्वास भने ८४% रही नेपाल तेस्रो स्थानमा रहेको छ । यसबाट भ्रष्टाचार नियन्त्रणमा सक्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायप्रति जनविश्वास र भरोसा रहेको देखिन्छ ।

उल्लेखित सर्वेक्षणमा देखाएजस्तै नेपालमा भ्रष्टाचार बढेको अनुभूति हुनुको प्रमुख कारणका रूपमा सदाचारको अभावलाई लिन सकिन्छ । नेपालमा सदाचारितालाई जीवन पद्धतिका रूपमा अँगाल्ने प्रयास हुन सकेको देखिँदैन । निजी सम्पत्तिप्रतिको अत्यधिक मोहले गर्दा सार्वजनिक सम्पत्तिको दोहन र दुरुपयोग गर्ने प्रवृत्ति व्यापक छ । सरकारी बजेट खर्च गर्दा गैर कानुनी लाभ लिने, सेवा प्रवाह गर्दा घुस लिने तथा निष्पक्ष कार्यसम्पादन नगरी पक्षपात गर्ने संस्कार नै बसेको छ । सरकारी वा सार्वजनिक सम्पत्तिको संरक्षणमा कमैबाट मात्र चिन्ता प्रकट भएको पाइन्छ । सदाचार अपवादका रूपमा मात्रै देखिने र सदाचारीलाई तिरस्कार गर्ने परिपाटीमा सुधार आउन सकेको छैन । मनबाट सदाचार अपनाउन चाहने र भ्रष्टाचारलाई घृणा गर्ने मानिस वा कर्मचारी पनि पारिवारिक वा सामाजिक दबाबले खुलेर भ्रष्टाचारको विरोधमा उत्रन सकेका छैनन् ।

नेपालमा सदाचारमा जोड दिएका प्रसङ्गहरू परापूर्व कालदेखि नै उल्लेख भएका पाइन्छन् । पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेखित घुस दिने र लिने राज्यका शत्रु हुन् भन्ने प्रसङ्गले सदाचारमा जोड दिन खोजेको देखिन्छ । राम शाहदेखि महेन्द्र मल्लसम्मले सदाचारका उदाहरण प्रस्तुत गरेको उल्लेख छ ।  भानुभक्त आचार्यदेखि लेखनाथ पौडेलसम्मका कृतिहरूमा सदाचारका प्रसङ्ग छन् । सदाचारको सबैभन्दा सुन्दर दृष्टान्तका रूपमा नेपालमै जन्मेका गौतम बुद्ध रहेका छन्, जसले अँगालेको जीवनशैलीको प्रभाव विश्वभरि अद्यापि रहेको छ ।

हालको परिवेशमा पनि राजनीतिक दलका घोषणापत्रदेखि विभिन्न संघसंस्थाका दस्ताबेजहरूमा उल्लेखित विषयवस्तुले सदाचारमा जोड दिएको भान हुन्छ । तर यी प्रयासहरू आन्तरिक नभई बाह्य प्रकृतिका र अरूलाई देखाउनका लागि उल्लेख गरिएका मात्र पाइन्छन् । हाम्रो मुलुकको विडम्बना भनेको नै सदाचारिताको मूल मर्म आत्मसात् गर्न नसक्नु रहेको छ । सदाचार बोलेर होइन व्यवहारले देखिनुपर्दछ भन्ने र सदाचार अरूतिर औँला ठड्याउने विषय नभई व्यक्ति आफैँले अवलम्बन गर्ने विषय हो भनेर बुझ्न सकेको देखिँदैन । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सदाचारका यी विषयहरूमा सुधार गर्ने प्रतिबद्धता लिई व्यवहारमा उतार्नु जरुरी देखिएको छ ।

हाम्रो समाजमा नागरिकहरूले सदाचार र भ्रष्टाचारप्रतिको आफ्नो कर्तव्य निर्वाह नगर्ने तर व्यक्ति विशेषलाई सदाचारको वाहकका रूपमा खोज्ने प्रवृत्ति देखिन्छ । चलचित्रको नायकजस्तै महावीर पुन, गोविन्द केसी, कुलमान घिसिङ वा अन्य कुनै व्यक्ति सम्पूर्ण भ्रष्टाचार र दुराचारका खलनायकी प्रवृत्तिलाई निर्मूल पार्न सक्दछन् भन्ने मनोवृत्तिको विकास भएको छ । व्यक्ति विशेषको व्यक्तित्वले सदाचारको अभियानलाई टेवा दिने भए पनि समाज र सङ्गठनका अधिकांश सदस्यहरूबाट सदाचारिताको अभ्यास नभई सदाचारको संस्कृति विकास हुन सक्दैन । आफूलाई फाइदा हुने भए घुस पनि दिने, भ्रष्टाचार पनि गर्ने र पक्षपातपूर्ण व्यवहार पनि स्वीकार्य हुने, तर अर्काको सन्दर्भमा घुस लिए दिएको, भ्रष्टाचार गरेको र पक्षपात गरेको ग्राह्य हुन नसक्ने दोहोरो मापदण्डबाट समाज कहिल्यै उँभो लाग्न सक्दैन । भनसुन र पक्षपात पनि भ्रष्टाचारकै नातागोताभित्र पर्ने हुँदा निष्पक्ष र भनसुनरहित पद्धतिको विकास मात्र सदाचारका लागि निर्विकल्प आधार हुन सक्दछ ।

प्रसिद्ध उद्योगपति बारेन बफेटले भनेको सङ्गठनमा भर्ना गरिने कर्मचारीमा सदाचारिता, बुद्धिमत्ता र ऊर्जाका गुण हुनु उपयुक्त हुन्छ, तर सदाचार बाहेकका अन्य दुई गुण मात्र भए घातक हुन्छ भन्ने भनाई हाम्रो सन्दर्भमा साह्रै मननीय छ । हाम्रो देशका विभिन्न निकायमा कार्यरत बुद्धिमत्ता र ऊर्जा भएका तर सदाचारको अभाव भएका सार्वजनिक पदाधिकारी र कर्मचारीहरू नै देश खोक्रो बनाउने धमिराका रूपमा देखिएका छन् । बरु सोझासाझा तर कम बुद्धिमत्ता र ऊर्जा  भएका कर्मचारीहरूले जसोतसो सङ्गठन धानेका छन् ।

अन्त्यमा, शिव खेराको प्रसिद्ध पुस्तक यु क्यान वीनको सुरुवातमा उल्लेखित दृष्टान्त स्मरण गर्नु सान्दर्भिक छ । बेलुन बेचेर जीविका चलाउने मानिसले बालकहरूलाई आकर्षित गर्नका लागि हरेक दिन फरक फरक रङ्गका बेलुन हावा भरेर आकाशमा उडाएको सधैँ हेरिरहने एउटा बालकले कालो रङ्गको बेलुन पनि आकाशमा उड्ला र भनी जिज्ञासा राख्दछन् । स्वाभाविक जवाफ आउँछ : बेलुन बाह्य रङ्गले नभई भित्रको ग्याँसका कारण आकाशमा उड्दछ । यसै गरी, पार्टीगत आबद्धता, जाति, वर्ण, रूप, रङ्ग वा लेखाई र बोलाइले नभई हामीमा अन्तर्निहित सदाचारमूलक मनोवृत्ति र मनोभावनाको अभ्यासबाट मात्र भ्रष्टाचार निर्मूल पार्नमा योगदान पुग्दछ । भ्रष्टाचारविरुद्धको दिवसको उपलक्ष्यमा यस दिशामा सकारात्मक पहलकदमी अपेक्षित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस