सार्वजनिक सेवा प्रवाह कमजोर बन्नुको कारण के ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सार्वजनिक सेवा प्रवाह कमजोर बन्नुको कारण के ?


२३ मंसिर २०७७, मंगलबार


कुनै पनि कार्यालयमा विभिन्न पदहरूको शृङ्खलाबद्ध तहहरू रहेका हुन्छन् । जसलाई पद सोपान भन्ने गरिन्छ । कार्यालयहरूमा पद सोपानअनुसार विभिन्न तहका कर्मचारीहरू कार्यरत रही तोकिएको कार्यहरू गरिरहेका हुन्छन् । सामान्यतः कार्यालयमा काम गर्ने क्रममा कर्मचारीहरू आफूभन्दा वरिष्ठ कर्मचारीको मातहतमा रही कार्यसम्पादन गर्ने प्रशासनिक परिपाटी रहेको हुन्छ ।

कार्यालयमा कार्यसम्पादन गर्ने क्रममा दिनहुँ विभिन्न प्रकारका सेवाग्राही‚ विविध प्रकारका सेवा प्राप्तिका लागि कार्यालयमा आउने गर्छन् । सेवाग्राही आफ्नो काम छिटो‚ छरितो तरिकाले सम्पन्न होस् भन्ने चाहन्छन् । जुन सेवाग्राहीको अधिकार पनि हो । तर सेवाग्राहीको यस्तो अपेक्षाका बाबजुद नेपालको कर्मचारीतन्त्र भने ढिलासुस्ती र प्रियामुखी प्रणालीमा नै रमाइरहेको छ ।

नेपालको कर्मचारीतन्त्रको सेवा प्रवाह किन कमजोर छ ? यस सम्बन्धमा बहस गर्दा निकै कारण पहिचान गर्न सकिन्छ । ती मध्ये केही प्रमुख कारण यहाँ चर्चा गरिएका छन् ।

चाकडी र चाप्लुसी – नेपालको कर्मचारीतन्त्र सुरुवातदेखि नै जनता सँगभन्दा शासकसँग नजिक रही‚ शासक र हाकिमको चाकडीमा लिप्त थियो । जुन चाकरी रोग हालका कर्मचारीसम्म संस्थागत जस्तै भइसकेको छ । राजनीतिज्ञ र हाकिमको चाकरी गर्न सके धेरै काम बन्ने हुँदा एक जमात कर्मचारी सेवाग्राहीको कामभन्दा चाकरी र चाप्लुसीमा व्यस्त छ।चाकरीवाजले सबै सेवा सुविधा हत्याउन माहिर हुने र कार्यालयमा काम कम गर्ने हुँदा कार्यालयमा कार्यरत इमानदार कर्मचारीको मनोबल घट्न गई सेवा प्रवाह कमजोर हुन पुगेको छ ।

जोखिम लिन नचाहने एव जिम्मेवारी पन्छाउने प्रवृत्ति – कार्यालयमा काम गर्ने क्रममा विभिन्न निर्णय लिई काम गर्नुपर्ने हुन्छ तर अधिकांश कर्मचारी आफ्नो अधिकार क्षेत्रका विषयमा समेत आफैले निर्णय नगरी माथिल्लो तहमा जिम्मेवारी पन्छाउने कार्यले निर्णयका तह बढ्न गई सेवा प्रवाह अपेक्षित हुन सकेको छैन ।

स्वार्थ समूह – धेरैजसो कार्यालयमा विभिन्न स्वार्थ समूहहरू क्रियाशील रहेका हुन्छन् । ती समूहहरू कार्यालयमा कर्मचारीहरूबिच आर्थिक र राजनीतिक लाभका लागि गुटबन्दी गर्ने तथा बिचौलियासँग साँठगाँठ गरी कार्यालयको कार्य वातावरण धुमिल पार्ने काममा लागेका हुन्छन् । स्वार्थ समूहसँग नमिल्ने कर्मचारी कार्यालयमा एक्लो पर्नुको विकल्प छैन । इमानदार कर्मचारीलाई कार्यालयमा स्वार्थ समूहले हतोत्साहित र निराश बन्न बाध्य तुल्याउँछन् ।

अत्यधिक राजनीतिकरण – कर्मचारीहरू राजनीतिक रूपमा तटस्थ हुनुपर्नेमा खुलेआम कुनै न कुनै राजनीति समूहसँग आबद्ध छन् । कार्यालयमा काम तोक्नेदेखि जिम्मेवारी परिवर्तनसम्मका काममा व्यवस्थापनलाई अवरोध गर्ने काममा राजनीतिक आवरण बोकेका कर्मचारी सक्षम छन् ।

सहयोग र समन्वय कमजोर – कार्यालयमा नयाँ कर्मचारी नियुक्ति भएर आउँदा पुराना कर्मचारीले काम सिकाउने प्रवृत्ति अत्यन्तै कमजोर छ । नयाँ कर्मचारीलाई काम सिकाउँदा आफू कमजोर भइन्छ भन्ने गलत मानसिकताले काम नसिकाउने र सहयोग नगर्ने परिपाटी व्याप्त छ । यस्तो व्यवहारले नयाँ जोस र जाँगरका साथ सेवा प्रवेश गरेका कर्मचारीले सुरुमै नमिठो अनुभव गर्दछन् । त्यसै गरी कार्यालयमा कर्मचारीहररुबीच समन्वयको अभावको कारण पनि सेवा प्रवाहले अपेक्षित गति लिन सकेको छैन ।

परिवर्तनसँग लय मिलाउन नसकेको – नेपालमा राजनीतिकरुपमा व्यापक परिवर्तन भए पनि कर्मचारीतन्त्र भने परम्परागत तौरतरिकामा चल्न अभ्यस्त छ। राजनीतिक परिवर्तनसँगै जनअपेक्षा तीव्र रूपमा बढेको तर कर्मचारीतन्त्रमा सुधारका प्रयास नभएको एवं कर्मचारीतन्त्र पनि यथास्थितिमै रमाइरहेको हुनाले जनताले सारभुतरुपमा परिवर्तनको महसुस गर्न सकेका छैनन् । कर्मचारीहरूले परिवर्तनलाई पूर्णरुपमा आत्मसाथ गर्न नसक्दा सार्वजनिक सेवा प्रवाह अपाङ्ग बन्न पुगेको छ ।

यी र यस्तै अन्य विविध कमजोरीकाबीचमा नेपालको कर्मचारीतन्त्रले सिंहदरबारदेखि नेपालका दुर्गम क्षेत्रका जनताको घरदैलोसम्म पुर्‍याएको सेवालाई नजरअन्दाज गर्न भने मिल्दैन । सरकार र जनतालाई जोड्ने पुलकोरुपमा रहेको कर्मचारीतन्त्रले विद्यमान कमीकमजोरी सुधार गर्दै आफ्नो छविमा सुधार गर्नुको विकल्प छैन ।

केसी नेपाल विद्युत् प्राधिकरणमा प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस