कति छ सगरमाथाको नयाँ उचाइ ? आज घोषणा हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कति छ सगरमाथाको नयाँ उचाइ ? आज घोषणा हुँदै


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज घोषणा हुँदै छ । आज विशेष समारोहकाबीच सगरमाथाको नयाँ मापन गरिएको उचाइ घोषणा गरिने नापी विभागले जानकारी दिएको छ ।

यही मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले नयाँ उचाइ घोषणाको स्वीकृति दिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।

नेपालले आफ्नै स्रोत र साधनमा पहिलोपटक सगरमाथाको उचाइ मापन गरेको हो ।

हालसम्म कायम रहेको सगरमाथाको ८ हजार ८ सय ४८ मिटर उचाइ सन् १९५४ मा भारतले मापन गरेको थियो । यसलाई नै नेपालले आधिकारिक मान्यता दिँदै आएको छ ।

सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । अमेरिकाले गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ५ सय ५० निस्किएको थियो भने चीनले गरेको मापनमा ८ हजार ८ सय ४४ मिटर निस्किएको थियो ।

वि.स. २०७२ को महा भूकम्प पछि सगरमाथाको उचाइमा परिवर्तन आएको नापी विभागको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस