गोरखा । नेपालको औपचारिक भ्रममा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले गोरखा पुगेर तीन वटा विद्यालय भवन उद्घाटन गरेका छन्।
भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएको थियो। ती भवन उद्घाटन गर्न विदेश सचिव श्रींगला आज नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा पुगेका थिए।
गोरखा नगरपालिका वडा नम्बर ८ लक्ष्मीबजारमा महालक्ष्मी मावि, वडा नम्बर ८ डुम्रीडाँडामा रत्नलक्ष्मी मावि र वडा नम्बर १० छेवेटारमा तारा माविको भवन भारतीय सहयोगमा हालै पुनर्निर्माण सकिएको थियो। भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् । आज नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वषौँ देखि सम्बन्ध झन् प्रगाढ हुने बताए ।
भूकम्पले क्षति पुर्याएका निजी आवास, सामुदायिक विद्यालय र स्वास्थ्यचौकी पुनःनिर्माणमा भारत सरकारले सहयोग गर्दै आइरहेको जनाउँदै विदेश सचिव शृङ्गलाले नेपाललाई भारतको सहयोग सधैँ रहने बताए । उनले नेपाल एकीकरणको उद्गम थलो गोरखामा आउन पाउँदा आफूलाई गर्व लागेको बताउँदै भने, ‘नेपालीहरु विश्वभरि साहसीका रुपमा चिनिन्छन्, तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरण शुरुआत गरेको ठाउँमा आउन पाउँदा मलाई गर्व लागेको छ ।’
भारतले नेपालमा भूकम्पपछि गोरखा र नुवाकोट जिल्लामा गरी कुल ५० हजार घर निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोअनुसार दुई जिल्लामा गरी ४६ हजार पाँच सय घर निर्माण सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । तीमध्ये गोरखा जिल्लामा २५ हजार १७ घरधुरी निर्माण भएको छ । नेपाल आवास पुनर्निर्माण परियोजना, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनादेखि युएनडिपीका समन्वयमा गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ ।
सो परियोजनामा स्थानीय साझेदारी संस्थाका रुपमा पद्धति विकास केन्द्र र स्वाराँ सघन गाउँ विकास केन्द्रमार्फत जिल्लाका गोरखा र पालुङटार नगरपालिका तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट , सिरानचोक र शहीद लखनसहित ६ गाउँपालिकाका ४२ वडामा सञ्चालन भइरहेको छ । परियोजनालले २६ हजार ९१२ घरधुरीका लागि सामाजिक प्राविधिक सहजिकरणअन्तर्गत काम गरिरहेको छ । तीमध्ये भदौ मसान्तसम्म २५ हजार १७ घर निर्माण सम्पन्न भइसकेको तथा ६७७ निर्माणाधीन रहेको परियोजना गोरखा प्रमुख राम सापकोटाले जानकारी दिए ।







