इसिमोड महानिर्देशकमा चयन भएका भुटानी नेताद्वारा पदभार ग्रहण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इसिमोड महानिर्देशकमा चयन भएका भुटानी नेताद्वारा पदभार ग्रहण


७ मंसिर २०७७, आइतबार


काठमाडौँ । इसिमोडको महानिर्देशकमा चयन भएका भुटानी नेता पेमा ग्याम्त्सोले पदभार ग्रहण गरेका छन् । हिमालय क्षेत्रका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को महानिर्देशकमा चयन भएका ५८ वर्षीय पेमा ग्याम्त्सोले पदभार ग्रहण गरेका हुन् ।

गत साउनमा महानिर्देशकमा चयन भएका ग्याम्त्सोले यसै सातादेखि महानिर्देशकको नेतृत्व सम्हालेको इसिमोडले जनाएको छ ।

भुटानको राष्ट्रिय सभामा दोस्रो पटक विपक्षी दलका नेता रहेका पेमालाई इसिमोडको बोर्ड अफ गभर्नरले गत साउनमा महानिर्देशकका रूपमा चयन गरेको थियो ।

पेमाले प्रकृति विज्ञानमा स्विट्जरल्यान्डबाट विद्यावारिधि गरेका हुन् । उनी भुटानमा कृषि र वनमन्त्रीसमेत भइसकेका छन् । उनी दक्षिण एसियाली मुलुकमध्येबाट पहिलो पटक इसिमोडमा महानिर्देशक चयन भएका हुन् ।

उनले भुटानमा तीन पटक सांसद भएर सम्मानित नेताको पहिचान बनाइसकेका छन् । उनको पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समेत अघि सारेको थियो । महानिर्देशक चयन भएलगत्तै उनले विपक्षी दलको नेताबाट राजीनामा दिएका थिए ।

ड्याभिड मोल्डनको कार्यकाल पूरा भएपछि नयाँ महानिर्देशकका लागि पेमाले प्रस्ताव पेस गरेका थिए । पेमाले हिमालय क्षेत्रका बासिन्दाको जीविकोपार्जन र विकासबारे पुस्तकसमेत लेखेका छन् ।

इसिमोडले नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानको हिमालय क्षेत्रको जनजीवन, त्यस क्षेत्रका बासिन्दाको जीविकोपार्जन, कृषि, वातावरण र जलवायु परिवर्तनका साथै हिमालय क्षेत्रको संरक्षणमा काम गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस