प्रिय अपरिचित उनी ! « प्रशासन
prasaLogo
६ मंसिर २०७७, शनिबार

प्रिय अपरिचित उनी !


प्रकाशित मिति : 21 November, 2020 9:10 am

हामीले आफ्नो बारीको हिरालाई ढुङ्गा सम्झेर मिल्काइरहेका छौँ । नेपाल अत्यन्तै सुन्दर छ । यहाँको पर्यटनको प्रवर्द्धन हामी आफैबाट सुरु गर्नु पर्छ। हाम्रो सुन्दर भूमिमा कूल ग्राहस्थ उत्पादनमा पर्यटनको हिस्सा धेरै हुनु पर्ने थियो । तर, विडम्बना त्यसो हुन सकेको छैन।

कोभिड–१९ ले लथालिङ्ग पर्यटन क्षेत्र अब उठ्नु पर्छ । हामी आफैले यसको प्रवर्द्धनमा सहयोग गर्नु पर्छ। बन्दाबन्दी कोभिडको साध्य होइन । सुरक्षित उपाय अपनाउँदै सबै क्षेत्र खुल्नु पर्छ । देशको अवस्था सामान्य हुनुपर्छ। सरकारी कर्मचारी भएकोले चाहेको समयमा बिदा मिल्दैन । घुमफिर अवलोकनको समय मिलाउन अत्यन्तै कठिन छ । त्यसै सन्दर्भमा यो पालीको दसैँ र तिहारको बिदा आफ्नो लागि दिने निर्णयका साथ काठमाडौँबाट तनहुँ, कास्की, पर्वत, बागलुङ र म्याग्दीसम्म सुरक्षित हुँदै घुम्न जाने साथीसँग सल्लाह भयो ।

जानु भन्दा पहिले कोभिड–१९ टेस्ट गरियो । नेगेटिभ आएपछि गन्तव्यको बाटो तताइयो र मुख्य उद्देश्य कास्की पुगेर प्याराग्लाइडिङको अनुभव लिने र कुस्मामा भर्खरै निर्मित विश्वकै दोस्रो अग्लो बन्जी जम्पको अनुभव लिने थियो । त्यसै क्रममा पोखराको प्याराग्लाइडिङको बुक गरी तयारी साथ सराङकोट लागियो । उड्नै भनेर हिँडेको म, सराङकोटबाट करिब ९ बजे टेक अफ गरी आकाश (गगन) चुमौला जस्तै गरी उडिरहेँ । पाइलट मज्जाका थिए ।

पोखराको सेरोफेरो लगायत माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल र पोखरा उपत्यकाको घनिष्ठता र फेवा तालसँगको संसर्गयुक्त मिलनको दृश्य हेर्दै, धित मरुन्जेल अवलोकन गर्दै उडी रह्यौँ, हामी सबैभन्दा माथि थियौँ अरू प्यारासुट भन्दा, चिच्याउँदै कुर्लिँदै बिस्तारै बिस्तारै आफ्नै रमाइलो संसारमा डुब्दै, दुःख, आँसु सबै बिर्सेर रम्दै, खुला पङ्ख फिँजाई आकाशमा उडेको चरी झैँ रम्दै थियौँ ।

म सुन्दरतामा उड्न पाउँदा हौसिएको थिए । पाइलटले पनि मेरो खुसीमा खुसी थप्न प्यारासुटको अल्टिच्युड झन् बढाए । हामी अरू प्यारासुट भन्दा निकै माथि पुग्यौँ । अक्सिजनको कमी जस्तो लाग्दै थियो । तर मेरा दुई नयन सुन्दरता र मनोरम दृश्यमा भुलेर होला अरू बिर्सियो ।

त्यतिकैमा उडान भरेको करिब पन्ध्र मिनेट पछि भोको पेट हो वा हाई अल्टिच्युट खै के कारणले मेरो पेट बटारिन लाग्यो । २०७२ सालको भुईँचालो ३ तलामाथिबाट अनुभव गरेको मैले त्यस्तै घुमाए झैँ अनुभूति हुन थाल्यो। पाइलटले जानकारी पाउँदा ‘जसरी भएनी रोक्नुहोस्, अरूलाई बोमिट पर्न सक्छ, त्यो भयो भने हामीलाई गाह्रो पार्छन्, गाली खानु पर्छ, जरिवाना तिर्नु पर्छ’ भन्दै रफ्तारमा ल्यान्डिङको तरखर गर्न लागे। तैपनि मैले सकेसम्म रोक्ने प्रयास गरेँ, तर सकिन पेटबाट मुखमा आइपुग्यो तर सोचे ‘म भन्दा तल अरू उडिरहेका छन्, तल बजार छ, मैले बाहिर निकाल्नु हुँदै भन्दै पुनः पेटमै रिटर्न गराएँ ।’ यी प्रक्रिया तीन–चार चोटि चल्यो करिब पाँच मिनेटमा प्यारासुट फेवा तालको किनारमा ल्यान्डिङ भयो पाइलटले मेरो बोडी हुक खोलिदिएर प्यारासुट प्याकिङ गर्न थाले। मलाई फनफनी घुमाइरहेको थियो। बोमिट आउन खोजिरहेको थियो। अलि साइडमा गएर बोमिट गरिरहेको थिए । गाडीको यात्रामा बोमिट हुने समस्या पुरानै थियो ।

त्यसै क्रममा एउटा आवाज नजिकैबाट कान मा गुन्जियो, ‘ओह माई गड, ह्वाट ह्याप्यान्ड ?’

कसरी यस्तो भयो ? स्वर छोरी मान्छेको थियो । तर पेटमा दश रेक्टरको भुईँचालोले मुख बाट ज्वालामुखी विस्फोट भई लाभा र म्याग्मा निस्किरहेको म उनलाई रेस्पोन्स गर्न असमर्थ थिएँ । र गर्न सकिनँ पनि ।

त्यतिकैमा पाइलटले जवाफ फर्कायो ‘प्याराग्लाईडिङ गर्दा अल्ट्युच्युड सिकनेस भएर हो’ भन्यो । ‘तपाईँलाई धेरै गाह्रो भएजस्तो छ, खोइ यो चस्मा निकाल्नुहोस्’ भनी मेरो लगाएको चस्मा निकालिदिई र मेरो निधार र टाउकोमा दुवै हातको कोमल स्पर्शको अनुभूति भइरहेको थियो ।

जहाँ उनले मेरो टाउकोमा ती कमोल हत्केलाले सुमसुम्याउँदै रहिछिन् । आलो घाउमा मलम पट्टी लगाए जस्तै सन्चो महसुस गरिरहेको थिएँ । तर मलाई कता–कता अप्ठ्यारो जस्तै भित्र भित्र बाट लाज लागे जस्तो भइरहेको थियो । किनकि अरू मान्छेहरू अलि परबाट घटनाक्रम नियालिरहेका थिए । तर दुःख र अपतको बेला लाज मानेर काज चल्दैन ।

उसले बीच–बीचमा सोधिरहन्थि ‘अहिले कस्तो फिल भैराछ ?’

मेरो बक्की फुकेको थिएन, इशारा गर्थेँ । थम अप गरेर, मेरो बोमिटिङ रोकियो । अनि एकैछिनमा ‘तपाईँ यहाँ बस्दै गर्नु म पानी लिएर आउँछु’ भनी । मैले टाउको हल्लाएँ ।

केही छिनमा एउटा मिनरल वाटर र सानो कोकको बोटल लिएर आई र ‘मुख कुल्ला गर्नु त’ भनी मैले उसले भने जसरी गरेँ । अनि पानी पिउन अनुरोध गरी मैले पिए । बाँकी रहेको पानीले अलिकति टाउको तल पार्नुहोस् त भन्दै टाउकोमा पानी हाल्दै हत्केलाले छपछपाउँदै थिई र भन्दै थिई बोमिटिङ पछि यसरी टाउकोमा पानी हालियो भने टाउको दुख्न र घुमाउन छोड्छ ।

मलाई आरामको अनुभव भइरहेको थियो । लाग्दै थियो उसको उपचारले काम गर्दै थियो । उसको प्राथमिक उपचारको अब्बलताले देखेर उ पक्कै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति हुनुपर्छ भन्ने अनुमान मनमनै लगाएँ । उसको अगाडि म दूधे बालक जस्तै थिएँ ।

मन यसै यसै नाबालक भए जस्तो लाग्थ्यो । मलाई आजसम्म आमाले दिने केयर पछि अरू कसैले गर्न खोजेको भए ऊ नै थिई। उसले पुनः सोधी ‘अहिले कस्तो फिल भइरहेको छ ?’

अब लाग्यो छोरो मान्छेको पुरुषत्वको अभिमानको चुनौती सम्झेर गारो हुँदा हुँदै पनि अहिले ठिक छ । आराम भइसक्यो भनेँ। अनि ‘रुमाल छ ?’ भनेर सोधी, मैले ‘पछाडि छ’ भन्ने इशारा गर्दै निकाल्न खोज्दै थिएँ ।

उसले रोकेर भनी ‘म निकाल्दिन्छु तपाईँ बस्नुस्’

रुमाल पछाडिको पकेटमा थियो, उसले निकाल्न खोजी तर जिन्स पाइन्ट अलि टाइट थियो क्यार निस्किएन। म उठ्न खोजेँ उसले नउठ्ने इशारा गरी र आफ्नो ब्यागबाट फेस विप्स निकालेर मुख पुछिदिई । मलाई पहिले भन्दा धेरै अराम भइरहेको थियो । जीवित प्राणीले ज्यान सबल र स्वस्थ भएपछि मात्र अन्य सुखको खोजी गर्न खोज्दो रहेछ ।

मेरो मनमा कौतुहलता हुन थाल्यो । ‘को होली ? कस्ती होली ? यसरी मेरो केयर गरी, किन गरी ?’ उसलाई राम्रोसँग नियाल्न खोज्दै थिएँ।

यतिकैमा गाडीको हर्न बजेको तिखो आवाज हामी दुवैको कानमा ठोक्कियो । उसले ‘अब म जाने बेला भए जस्तो छ’ भन्दै थिई । मेरो मन चसक्क भयो । भित्र भित्र मुटु चिसो भएर आयो । म अनुत्तरित थिए । नजाऊ भनेर रोक्न सक्ने मेरो कुनै कारण र अधिकार थिएन।

पुनः गाडीको हर्न एकोहोरो लगातार बज्न थाल्यो ।

‘ढिलो भए जस्तो छ, साथीहरूले कराउँछन् अब म जानु पर्छ। ल यो लिनुहोस् कागती खोजेको भेटिएन यसले अलि हल्का बनाउँछ पेट’ भनी कोक मेरो हातमा जबरजस्त थामाईदिई ।

मेरा हातका औँला लगलग काँपिरहेका थिए, मन ग्रह्रोँ भएको थियो । लाग्छ मेरो मनले उसलाई नजाऊ भनिरहेको थियो होला। त्यसै क्रममा आफूले जतन साथ राखेको मेरो चस्मा आफ्नो ज्याकेटबाट झिकेर मलाई लगाइदिई र उसको दुवै हातको हत्केला मेरो हातको हत्केलामा राखेर औालाले बेस्मारी कसेर उठ्न इशारा गर्दै सपोर्ट गरी ।

म बसिरहेको ठाउँबाट उभिए र उसले भन्न थाली, ‘अब तपाईँ धेरै ठिक हुनुभयो, मलाई धेरै लेट भए जस्तो छ । अब म जान्छु, यु विल बि अलराइट भेरी सुन, डन्ट ओरि चस्मिस। टेक सम रेस्ट एण्ड केयर अल्सो’ भन्दै छुट्टिने अनुमति माग्दै थिई । म वाक्क न बक्क थिए, केही बोली फुटेकै थिएन, समुन्द्रमा छाल सरी मेरा नयन टिलपिल टिलपिल गर्दै थिए, तर पुरुषार्थ उसको अगाडि देखाउन चाहन्थे त्यसैले मेरा आँखाबाट सुनामी नछचल्कियोस् भन्ने कुरामा संयम हुने प्रयास गर्दै थिएँ।

मधुर मधुर बतास चलिरहेको थियो उसको सुगन्धित केशले मेरो मुहार सपसप्काई रहेको थियो । मेरो अनुहार जमिन तिर घोप्टो थियो । सन्नाटा उत्पन्न भयो । उसको केश फरफराई मेरो ज्ञानेन्द्रिय स्पर्शबाट छुटिएको अनुभूति भयो। जमिनबाट आँखा ऊ उभिएतिर डुलाएँ उ थिइनँ मन गह्रुँगो भयो । हर्न बजिरहेको दिशा तिर टाउको घुमाएँ । हाईस (माइक्रो बस) थियो ।

गाडीको दिशातिर हिँड्दै थिई । म हेरिरहेँ । सर्लक्क परेको ज्यान । कालो लामो कपाल । तेजोमय शरीर, शङ्ख घाँटी, हरिणका जस्ता खुट्टा । लाग्थ्यो बत्तीस लक्षणयुक्त थिई होला मजाले नियालेर हेरेँ । सायद प्रेम हुँदै थियो मलाई । गाडी नेर पुगेपछि फर्केर बाई बाई गर्दै हात हल्लाई र गाडी भित्र छिरी र गाडीको झ्यालबाट पनि बाइबाई गर्दै थिई ।

मेरो दाहिने हात उठ्यो मात्र तर बाइबाई चाल आएन हात उठाई रहेँ । प्रिय उनको गाडी गुडिरह्यो । देखुन्जेल हेरिरहो । हात उठाई रहेँ ।

त्यतिकै मा ‘के भयो कसलाई थ्याङ्क यु ?’ आवाज आयो, आवाज पहिचान गर्न गाह्रो भएन । मेरो भन्दा पैँतालिस मिनेट ढिलो फ्लाइट तय भएको मेरो साथी वामदेव पनि ल्यान्डिङ गरेर आइसकेछ । मैले हात उठाएर एकोहोरो थाङ्क यु भनिरहेको रहेछु । प्रेमील पन्छी जोडीमा एउटालाई बाजले लगी अर्को वियोगमा परे जस्तै मन पोलिरह्यो । कैयौँ प्रेम जोडिले वर्षौँसम्म अनुभूति दिलाउन नसक्ने प्रेम र केयर उसले तीस मिनेट मै देखाएर गएकी थिई ।

साथीको पुनः चर्को स्वर आयो, ‘आज कुश्मा पुग्नु छ । तेरो के चाला हो ? पागल भैस कि क्या हो ? कुश्मा जाने मन छैन कि क्या हो ?’ भन्दै अगाडि हिँड्यो म प्रिय उनीलाई सम्झिँदै लुसुलुसु साथीलाई पछ्याईरहे । मैले उनलाई प्रत्यक्ष थाङ्क यु भन्न पनि बिर्सिएछु । पानी र कोकलाई परेको पैसा दिन पनि बिर्सिएछु । त्यति मात्र होइन उनी को थिइन् ? नाम के थियो ? घर कहाँ थियो ? जम्मै सोध्न बिर्सिएछु । कति स्वार्थी भएछु म भन्दै मनमनै सोचेँ ।

पश्चतापको ठुलो ऋणको भारी बोके भनेर मनमनै प्रतिप्रश्न गरेँ । अपरिचित उनले मलाई किन यति धेरै माया र केयर देखाएकी होलिन् ?

त्यहाँ अरू पनि थिए तर कसैले केही वास्ता गरेका थिएनन् । उनले किन त्यति धेरै माया गरेकी ?

वर्षौँ सम्बन्ध बस्नेहरूको भन्दा बढी माया मात्र तीस मिनेटमा देखाएर गइन् । प्रिय उनी मेरो मन मुटुमा बसेर गइन् । त्यतिकैमा पर्वत जाने हाम्रो गाडी आयो, गाडीमा बसे गाडी गन्तव्यको बाटो लाग्यो । म झ्याल तिरको सिटमा बसेर प्रिय अपरिचित उनीलाई सम्झिरहेँ मात्र उनीलाई, मात्र प्रिय उनीलाई !

Tags :
प्रतिक्रिया दिनुहोस