कोरोना तिहार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना तिहार


६ मंसिर २०७७, शनिबार


काग तिहार आयो
कुकुर तिहार आयो
गाई तिहार र भाइ तिहार आयो
तर
उसको लागि त
कोरोना तिहार पो आयो ।
ऊ थुनिएको छ
एउटा बन्द कोठामा
घरी घरी झ्यालबाट
बाहिर चियाउँछ
उज्यालो घाम देख्छ
परन्तु
आफू भने
बेखबर जस्तै छ
परित्यक्त बनेको छ ।
आफ्नै दिदीबहिनीहरू
पहिलो महिनावारीमा
न सूर्यको मुख
न मर्दको मुख
भन्दै अँध्यारो कोठामा
थुनिएको पिडा
बल्ल पो महसुस गर्दै छ ।
सुन्थ्यो
अति कष्टकर छाउपडी प्रथा
बल्ल अनुभूति गर्दै छ
दलित भन्दै
हेपिएकाहरूको व्यथा
अछुत भन्दै छि छि,दूर दूर
गरिएकाहरूको कथा
आज आफैले भोगिरहेको छ ।
घर भरि
तिहारका सेल रोटी,
मिठा मिठा परिकार
घ्यू ,तेलमा पाकिरहँदा
आउने मिठो वासना
कहाँ थाहा पाओस्
उसको नाकले ?
परैबाट अछट्ट गरी
दिएका ती पकवानको
स्वाद के थाहा पाओस्
उसको जिब्रोले ??
उसलाई त
हनहनी ज्वरो आएको छ
छाती चपक्क अँठ्याउँदै
आन्द्रै निस्केला जस्तो गरी
खोकिले सताएको छ
जीउ करकरी खाएको छ
तै पनि
सबैलाई आउने तिहार
उसलाई पनि आएको छ
तर
भाइ तिहार हैन
यसपालि उसको त
कोरोना तिहार पो आएको छ ।
हो,कोरोना तिहार आएको छ ।।

Tags :
प्रतिक्रिया दिनुहोस