काठमाडौँ महानगरपालिकाले बेरोजगारलाई रोजगारी दिन वडा कार्यालयमा सम्पर्क गर्न सूचना जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरपालिकाले बेरोजगारलाई रोजगारी दिन वडा कार्यालयमा सम्पर्क गर्न सूचना जारी


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड-१९ का कारण बेरोजगार भएकाहरूलाई रोजगारी दिइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।

असहाय, अशक्त तथा शारीरिक रूपमा काम गर्न नसक्नेहरूलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । त्यस्ता व्यक्तिहरूले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि परोपकारी केही संस्थाहरूले काठमाडौँको खुलामञ्चमा बेरोजगार, असहाय र अशक्त व्यक्तिहरूका लागि खाना खुवाउने काम गर्दै आएका थिए । स्वास्थ्य जोखिम, सङ्क्रमणको सम्भावना, सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने भन्दै महानगरपालिकाले आगामी मङ्सिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यमा रोक लगाएको छ ।

अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरी भोजन सेवा सञ्चालन गर्न महानगरपालिकाले सबै सामाजिक सङ्घ संस्थाहरूलाई अनुरोध गरेको छ । यस कार्यमा वडा कार्यालयबाट आवश्यक समन्वय तथा सहयोग हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस