चीनले एकैसाथ एउटै रकेटभित्र हालेर १३ वटा स्याटेलाइट प्रक्षेपण गर्‍यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनले एकैसाथ एउटै रकेटभित्र हालेर १३ वटा स्याटेलाइट प्रक्षेपण गर्‍यो


एजेन्सी

२७ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । चीनले एउटै रकेटभित्र हालेर १३ वटा स्याटेलाइट एकसाथ प्रक्षेपण गरेको छ । शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक उक्त रकेट चीनले पृथ्वीको कक्षमा पठाएको हो ।

सिन्ह्वाका अनुसार प्रक्षेपित स्याटेलाइटमध्ये १० वटा व्यवसायिक रिमोट सेन्सिङ्ग स्याटेलाइट हुन्, जो अर्जेन्टिनी कम्पनी स्याटेलोजिकले निर्माण गरेको हो । ती १० वटा स्याटेलाइटको हरेकको तौल ४१ केजी छ भने पृथ्वीको कक्षमा आगामी ३ वर्षसम्म काम गर्ने छन् ।

त्यस्तै उक्त रकेटमा चिनियाँ प्रविधि कम्पनीहरुले निर्माण गरेका अरु ३ वटा स्याटेलाइट पनि पठाइएको छ । जसबाट रिमोट सेन्सिङका साथै सूचना प्रविधिका विविध वैज्ञानिक परीक्षणको उद्देश्य राखिएको छ । त्यसमा एउटा सिक्स–जी परीक्षण स्याटेलाइट पनि छ । त्यसको तौल ७० केजी छ ।

उक्त स्याटेलाइटमा टेट्राहर्ज स्याटेलाइट कम्युनिकेसन प्रणाली जडान गरिएको छ । चिनियाँ इन्जिनियरहरुका अनुसार सिक्स–जी परीक्षण स्याटेलाइटको प्रक्षेपणसँगै टेट्राहर्ज अन्तरीक्ष सञ्चार प्रविधिको अन्वेषणमा ऐतिहासिक कदम अघि बढेको छ । उक्त स्याटेलाइटका डाटालाई स्मार्ट सिटीको निर्माण, विपदको रोकथाम तथा न्यूनीकरण, भू–योजना तथा वातावरण संरक्षण लगायतका कार्यमा उपयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस