आईपीएल : हैदराबादलाई १७ रनले पछि पार्दै दिल्ली पहिलो पटक फाइनलमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आईपीएल : हैदराबादलाई १७ रनले पछि पार्दै दिल्ली पहिलो पटक फाइनलमा


एजेन्सी

२४ कार्तिक २०७७, सोमबार


अबुधावी । दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

सनराइजर्स हैदराबादलाई आइतबार क्वालिफायर्स २ मा १७ रनले पराजित गरेपछि दिल्ली आईपीएलको १३ औं संस्करणमा आएर पहिलो पटक फाइनल पुगेको हो ।

दिल्लीले अब उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले अबुधाबीस्थित शेख जायेद रंगशालामा ३ विकेट गुमाई १ सय ८९ रन बनायो । केन विलियम्सनले ४५ बलमा ६७ रन बनाए पनि हैदराबादले ८ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो । दिल्लीले मंगलबार हुने फाइनलमा मुम्बई इन्डियन्सको सामना गर्नेछ । डिफेन्डिङ च्याम्पियन्स मुम्बईले शुक्रबार दिल्लीलाई क्वालिफायर्स १ मा ५७ रनले पराजित गरेको थियो ।

दिल्लीले पृथ्वी शलाई बेन्चमा राख्दै मार्कुस स्टोइनिसलाई ओपनिङमा पठाएको थियो । स्टोइनिसले शिखर धवनसँग पहिलो विकेटमा ८.२ ओभरमा ८६ रन जोडेपछि दिल्लीले मजबुत स्कोर बनाएको थियो । मध्यक्रममा पनि प्रभाव पार्दै आएका स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्कासहित ३८ रन बनाए ।

कप्तान श्रेयस ऐर २० बलमा २१ रन बनाई आउट भए पनि धवनले अर्को सानदार इनिङ्स खेले । उनले ५० बल खेली ६ चौका र २ छक्कासहित ७८ रन बनाए । सन्दीप शर्माको बलमा उनी १९ औं ओभरमा एलबीडब्लु आउट भए । सिमरन हेटमायर २२ बलमा ४ चौका र १ छक्का प्रहार गरी ४२ र ऋषभ पन्त २ रनमा अविजित रहे । रशिद खानले ४ ओभरमा २६ रनमात्र दिएर १ विकेट लिए । तर जेसन होल्डरले १ विकेट लिन ४ ओभरमा ५० रन खर्चे ।

हैदराबादले पहिलो ओभरमा रवीचन्द्रन अश्विनमाथी हावी हुँदै आक्रामक सुरुवात गर्न खोजेको थिए । तर दोस्रो ओभरको पहिलो बलमै कागिसो राबाडाले कप्तान डेविड वार्नरलाई २ रनमा बोल्ड गरे । अर्का ओपनर प्रियम गार्गले १२ बलमा २ छक्कासहित १७ रन बनाए । मनिष पाण्डेले १४ बलमा ३ चौकासहित २१ रन बनाए । यी दुबैलाई स्टोनिसले आउट गरी दिल्लीलाई खेलमा फर्काए ।

तर विलियम्सनले दोस्रो इनिङ्समा एउटा उत्कृष्ट इनिङ्स खेले । उनले ५ चौका र ४ छक्का प्रहार गरे । म्यान अफ द म्याच स्टोइनिसले उनको पनि विकेट लिए । होल्डर ११ रन बनाई अक्षर पटेलको बलमा आउट भए । राबाडाले १९ औं ओभरमा लगातार तीन बलमा अब्दुल समाद, रशिख खान र श्रीवात्स गोस्वामीलाई आउट गरे । उनले यस बीचमा एक वाइड बल फालेका थिए । समादले १६ बल खेली २ चौका र २ छक्कासहित ३३ रन बनाए । राबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ र स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस