म्यान्मारमा आज आइतबार आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म्यान्मारमा आज आइतबार आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान


एजेन्सी

२३ कार्तिक २०७७, आइतबार


याङ्गुन । म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ ।

पाँच वर्षअघि भएको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकी थिइन्।

संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन् । यस पटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदैछ ।

स्टेट काउन्सिलरका रुपमा सेवारत सुकी अहिले पनि म्यान्मारमा निकै लोकप्रिय नेतृका रुपमा हुनुहुन्छ । तर उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन । म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न उनको सरकारले पर्याप्त काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

आमनिर्वाचनमा ५० लाख नयाँ मतदाता सहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् । यसपटक कोरोना भाइरस र सुरक्षा त्रास पनि रहेकाले मतदानमा सबै सहभागी हुने सम्भावना कम छ । चुनाव प्रचारका काममा पनि कोरोना भाइरसले समस्या पारेको थियो ।

७५ वर्ष पुगिसकेकी सुकीले राजधानी नेपिटअमा गत महिनाको अन्त्यतिर मतदान गरिसकेकी छन् । म्यान्मारमा ६० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई अग्रिम मतदान गर्ने व्यवस्था छ ।

देशको सबैभन्दा ठूलो राजधानी शहर याङ्गुनका मतदान स्थल बाहिर ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् ।

सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले सन् २०१५ को आमनिर्वाचनमा भारी बहुमत प्राप्त गरेको थियो । यस चुनावले देशको पाँच दशकभन्दा लामो सैन्य शासनको अन्त्य गरेको थियो ।

म्यान्मारको निर्वाचन आयोगले निर्वाचनको नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ । देशका दुर्गम स्थानबाट मतपेटिका संकलनमा समय लाग्ने भएकाले चुनावको पूरै परिणाम सार्वजनिक गर्न एक सातासम्म लाग्ने आयोगले बताएको छ ।

यस चुनावलाई सुकी नेतृत्वको सरकारका लागि जनमतसंग्रहका रुपमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस