विप्लव समूहका कम्पनी कमिशनरसहित दुई जना हतियारसहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विप्लव समूहका कम्पनी कमिशनरसहित दुई जना हतियारसहित पक्राउ


१३ कार्तिक २०७७, बिहिबार


मोरङ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्ता हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ परेका छन्।

मोरङ प्रहरीले विप्लव माओवादीका कम्पनी कमिशनरसहित दुई जनालाई मिक्लाजुङ गाउँपालिका–१ बाट बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका-६ बस्ने १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे छन्। काशीनाथ घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची-कोसी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई साधरण सदस्य हुन्।

मिक्लाजुङमा उनीहरूले हातहतियार देखाएर स्थानीयसँग लामो समयदेखि चन्दा अशुल गरिरहेको गुनासो आएपछि प्रहरीले खोजी गरिरहेको थियो।

सोही सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई मिक्लाजुङ गाउँपालिका–१ स्थित विजुलीप्रसाद तिम्सिनाको खाली घरबाट पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले हतियार र ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ।

उनीहरूको साथबाट एक थान भरुवा बन्दुक, सोको गोली, हाई एक्सप्लोसिप विस्फोटक पदार्थ जिलेटिन तीन केसी, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरलगायत बम विस्फोटमा प्रयोग हुने सामग्रीहरू बरामद भएको प्रहरी अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस