मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा. पाण्डे « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा. पाण्डे


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड-१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् ।

यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डे सल्लाह दिन्छन् ।

दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उनको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिर निस्केपछि मास्क नखोल्न तथा खानाखाजा नखान पनि उनले सल्लाह दिएका छन् ।

अहिले आइरहेको दशैँ र त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यस समयमा कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन र नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिए । उनले भने, ‘काठमाडौँका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ र बसहरुमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ ।’

काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । उनले भने, ‘घर जाने व्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, लाई पछि गम्भीर असर गर्नसक्छ ।’

सरकारले के गर्‍यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा. पाण्डेको सुझाव छ । नेपालमा कोभिड फैलिएको आठ महिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न र र भीडभाड नगर्न नसिकेकामा उनले चिन्ता व्यक्त गरे । मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलन सम्भावना कम हुने देखिएको उनले अध्ययन गरेका छन् ।

नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा रहेको उनले उदाहरण दिए । ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी नगरेको उनले बताए । उनले भने, ‘जनता अनुशासित हुँदा महामारी घट्छ, कोरोना चाँडो नियन्त्रणमा आउँछ ।’

काठमाडौँ उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड-१९ फैलिसकेकाले दशैँ तिहार, छठलगायत चाडपर्वमा सङ्क्रमण अझै धेरै फैलनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् । घर बाहिर हुँदा मास्क नलगाउने र भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उनले माग गरे ।

निजी ठूला अस्पताल र केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शय्या, जनशक्ति र सघन उपचार कक्ष लिन सकिने उनको तर्क छ । उनले भने, ‘त्यसो हुँदा साना अस्पतालबाट अरु दीर्घरोगीले सेवा पनि सक्छन् ।’

अहिले पनि सही तरीकाले मास्क लगाउँदा र सामाजिक दूरी कायम गर्दा छ देखि १२ हप्तामा सङ्क्रमण नियन्त्रणमा आउने डा पाण्डेको भनाइ छ । यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उनको जोड छ ।

चाडपर्वका समयमा कसरी सङ्क्रमण फैलन रोक्न सकिन्छ भनी मुख्यसचिव शङ्करदास वैरागीले गत साता विज्ञसँग सुझाव लिएका थिए । विज्ञले बन्दाबन्दी गरे वा नगरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएका थिए ।

पहिले ‘लकडाउन’ वा ‘सटडाउन’ गर्दा बजार वा सडकमा मात्रै आवतजावत रोकेर बस्ती, चोकमा तरकारी बजारमा भीड रहेको उनले बताए । उनले भने, ‘अहिले लकडाउन नाम नदिइए पनि भीडभाड हुने स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाएर भीड नियन्त्रण र मास्कको प्रयोग बढाउनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस