‘आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर’


५ कार्तिक २०७७, बुधबार


विप्लव

काठमाडौँ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकार विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर जस्ता नाराहरु पनि तय गरेको छ ।

‘राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो ।

यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस