कोभिड १९ : यसकारण भाइरस भाइरल बन्दै छ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोभिड १९ : यसकारण भाइरस भाइरल बन्दै छ


३ कार्तिक २०७७, सोमबार


विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस यतिवेला विश्व नै आक्रान्त बनिरहेको छ । यसले हाम्रो देश पनि कहाँ अछुतो रहन्थ्यो र ? सामान्यरुपमा लिइएको कोरोना भाइरस अहिले काठमाडौँ उपत्यका लगायत देशभर भाइरल नै बन्दै गएको छ । सुरुमा केही व्यक्तिलाई मात्रै देखा पर्दा लकडाउन गरेपछि बिस्तारै समान्यरुपमा हराउँदै गएको भाइरस अहिले नेपालमा दोस्रो चरणमा प्रवेश गरिसकेको छ । केही होइन सामान्य हो भन्ने मानसिकताले गर्दा नेपाल नै महामारीको जोखिममा परिरहेको छ ।

काठमाडौँ उपत्यका लगायत देशमा मुख्य मुख्य सहरहरूमा तीव्र रूपमा फैलिइरहेको छ । जहाँ घना बस्ती रहेको कारण पनि हुनसक्छ । काठमाडौँ उपत्यकामा किन भाइरल बन्दै गयो त भाइरस ? यसै विषयमा चर्चा गरौँ ।

करिब ५० लाख मानिस बसोबास रहेको काठमाडौँ उपत्यकामा दिन प्रतिदिन ४ अङ्कका दरमा र समग्र देशको करिब ६० प्रतिशत सङ्क्रमित यसै उपत्यकामा देखिन थाल्नुले थप चुनौती थपिएको छ । सबैभन्दा बढी जनसङ्ख्या भएको काठमाडौँ उपत्यकामा न्यून मात्रामा पीसीआर टेस्ट गरिएको छ । परीक्षणको दायरा बढाएमा सङ्क्रमितको पहिचान हुन्छ । पहिचान भएका सङ्क्रमितलाई आइसोलेसनमा राखेपछि अन्य व्यक्तिलाई सर्दैन ।

सरकारले लकडाउन खुकुलो बनाएपछि उपत्यका बाहिरबाट काठमाडौँ भित्रिएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएको छैन । ट्राभल हिस्ट्री तथा कनट्र्याक्ट हिस्ट्री नभएका सबै उमेरका समूहकालाई सङ्क्रमण देखिएको छ । विदेशबाट आएकाहरूलाई क्वारेनटाइनमा राखिएको छैन । जसले गर्दा उनीहरू घरमा पुगेपछि सङ्क्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले यसरी तीव्र गतिमा सङ्क्रमित बढ्नुमा सडकमा निस्किने जुलुस, सभा र बजारमा देखिएको भीडलाई प्रमुख मानेका छन् । सरकारले पनि कोरोना नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेकै छ। तर, सर्वसाधारणले न्यूनतम स्वास्थ्य मापदण्ड पालना नगर्दा संघीय राजधानीमा तीव्र गतिमा सङ्क्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले राजधानीमा कोरोना सङ्क्रमण बढ्नुमा मुख्यतया दुई कारण रहेको बताएका छन् । नेपाल–भारत खुला सीमालाई कोरोना फैलिनुको प्रमुख कारण मानिएको छ । मेची–महाकालीको खुला सीमाबाट मानिसहरू निष्फिक्री आउँदा उपत्यकामा कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयले निचोड निकालेको छ ।

डा. गौतमले काठमाडौँमा आएका मानिसलाई क्वारेन्टिनमा बस्नु भन्दा नमान्दा यस्तो परिणाम आएको बताएका छन् । गौतमले कोभिड–१९ रोकथामका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

काठमाडौँ उपत्यकामा सङ्क्रमित बढ्नुका कारणहरू चर्चा गरौँ
फितलो कनट्र्याक्ट ट्रसिङ : सङ्क्रमितको सम्पर्कमा आएकाहरूको प्रभावकारी ढङ्गले कन्ट्याक ट्रेसिङ गर्नु पर्ने साथै गलत विवरण दिएमा कारबाहीको भागी बनाउन पर्नेमा नाम मात्रै ट्रेसिङले थप सङ्क्रमित बढाएको देखिन्छ । सङ्क्रमितको सम्पर्कमा आएकाहरूको सही र मिहिन ढङ्गले अध्ययन हुन पर्नेमा सो नदेखिएको पाइन्छ । सङ्क्रमितले जे–जे विवरण दियो सो लाई नै सत्य मानेर अगाडि बढ्दा थप समस्या देखिएको पाइन्छ । हालै मात्रै दक्षिण कोरियामा एक शिक्षकलाई कन्ट्याक ट्रेसीङका क्रममा गलत विवरण दिएको भनी ६ महिना जेल हाल्ने फैसला सुनाइयो । नेपालमा यस सम्बन्धमा कुनै व्यवस्था रहेको देखिँदैन । गलत विवरण दिएमा क्रस चेक गर्ने कुनै प्रावधान नरहेको देखिन्छ ।

अनुगमनविहीन होम क्वारेन्टाइन : कोरोना संक्रमण भएको व्यक्ति घरमै बस्दा सङ्क्रमितले अन्यलाई सार्ने जोखिम उच्च भएको तर्फ न सरोकारवाला न अन्य कसैको ध्यान यस तर्फ पुग्न सकेको देखिँदैन । काठमाडौँमा अधिकांश मानिस डेरामा बस्ने गर्छन् । उनीहरू उपत्यका बाहिरी जिल्लाबाट रोजगारी तथा अध्ययनको सिलसिलामा एउटै कोठामा २–३ जनासम्म बसोबास गर्ने साझा शौचालय प्रयोग गर्ने देखिन्छ । यस्तो अवस्थामा कोही सङ्क्रमित भएमा न स्वास्थ्य मन्त्रालय न स्थानीय निकाय न प्रहरीले नै खोजविन गर्ने गरेको देखिन्छ । सबै मिडियाबाजिमा मात्रै रमाएको देख्न सकिन्छ । यसका साथै यसरी अप्रभावकारी अनुगमनले होम क्वारेन्टाइनमा बसेका सङ्क्रमितहरू खुलमखुला बाहिर निस्किने, घुमफिर गर्ने गरेको कारण अन्यलाई सर्ने क्रम बढिरहेको देखिन्छ । होम क्वारेन्टाइनमा बसेकाहरुलाई न स्वास्थ्य मन्त्रालय न वडा कार्यालय न प्रहरीले एक पटक खोजविन त के एक कल फोन समेत गरेको देखिँदैन । कतिपय अवस्थामा घरमा बसेका डेरावाल सङ्क्रमित भए घर बेटीले समेत थाहा नपाउने स्थिति बनेको देख्न सकिन्छ ।

मास्कको गलत प्रयोगः मास्कको प्रयोगले मानिसको हाछ्यु र खोकीको छिटा नाक र मुखमा प्रवेश गर्नबाट रोक्ने जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका सरुवा रोग विशेषज्ञ डा. अमेश अडल्जाले बताए । उनले भने, ‘कोरोना भाइरस मुख्य गरी खोकी र हाछ्युको छिटाबाट सर्ने गर्छ ।’ मानिसले मास्कको प्रयोग सही तरिकाले गर्न नसक्नु सबैभन्दा ठुलो समस्या हो । ‘धेरै मानिसहरूले मास्क लगाए पनि मुखमा हात लैजाने र नाक चलाउने गर्छन् । जसका कारण सङ्क्रमण फैलिन सक्ने खतरा रहन्छ’ डा. अडल्जाले भने ‘मोबाइल फोनमा कुरा गरेको बेला पनि तपाईँले मास्क हटाउनु हुँदैन।’

ह्यामिल्टनस्थित म्याक मास्टर युनिभर्सिटीका सरुवा रोग विशेषज्ञ डा. मार्क लियोबले सार्स कोरोना भाइरसको सङ्क्रमण भएको बेला मास्कका कारण श्वासप्रश्वासको माध्यमबाट स्वास्थ्यकर्मीमा हुन सक्ने सङ्क्रमणको जोखिम करिब ८५ प्रतिशतले कम गर्न सकिएको बताएका छन् ।

‘सबैभन्दा महत्त्वपूर्ण सन्देश थियो की कुनै पनि मास्कको लगातार सही प्रयोगले जोखिम कम गर्न सकिन्छ’ उनले भने । काठमाडौँ वासीहरूले कोरोनालाई अत्यन्तै खेलाँचीको रूपमा लिएको देखिन्छ । सार्वजनिक स्थानहरूमा समेत मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने । मास्क प्रयोग गर्दा समेत नाक मुन्तिर मात्रै लगाउने । हातमा मास्क लगाउने प्रवृत्तिले कोरोनाको जोखिम थप बढाइरहेको देखिन्छ । सरकारले मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गर्ने भने पनि सो प्रभावकारी हुन नसकेको देखिन्छ । यसका साथै उच्च शिक्षित वर्गहरूसमेत सार्वजनिक स्थानको साथै आफ्ना आफन्तहरू भेटिँदा गफ गर्दा मास्क खोलेर गफ गर्ने प्रवृत्ति देखिन्छ

सार्वजनिक यातायात : उपत्यकामा चल्ने सार्वजनिक यातायात हेर्दा यस्तो लाग्छ कि यहाँ न कहिले कोरोना लागेको थियो न लाग्ने छ न कोरोनाले कोही मरेको छ । यस्तो गलत बुझाइले गर्दा कोरोना सङ्क्रमित बढ्न मदत पुगेको छ । साबिक भन्दा थप ५० प्रतिशत बढी भाडा लिने तर साबिकमा भन्दा आधा मात्रै सिट क्षमतामा सार्वजनिक यातायातमा यात्रु राखी सञ्चालन गर्नु भनेको सो हुन नसकेको साथै क्षमता भन्दा बढी यात्रु राखेको न ड्राइभर खलासीले भौतिक दुरी त परको कुरा मास्क समेत नलगाएको र स्यानिटाइजर र अन्य सुरक्षाका उपायहरू नरहेको कारण डढेलो लागे सरह सङ्क्रमित थपिन पुगेको देखिन्छ । सार्वजनिक यातायातमा कोचाकोच यात्रु राख्दा न ट्राफिक प्रहरीले केही गर्न सकेको न अन्य कुनै निकायले । यात्रुहरू बाध्यतावश चढ्न पुगेका छन् ।

फुटपाथ र शैलुन : बजारमा भिडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षा विधिको अनुगमन र कारबाही गरिएको छैन । न्युरोड, असन, रत्नपार्क, सुन्धारादेखि कोटेश्वरसम्मका फुटपाथ हेर्दा कोरोना केही होइन भन्ने आम बुझाइ पाइन्छ । न फुटपाथमा भौतिक दुरी कायम भएको देखिन्छ न सुरक्षाका कुनै उपाय नै अवलम्बन गरिएको छ । यसै गरी भौतिक दुरी कायम गर्न नसकिने अर्को क्षेत्र हो शैलुन व्यवसाय । तर जीवन भन्दा रोजगारीलाई प्राथमिकता दिनु पर्ने बाध्यताका कारण शैलुन व्यवसाय सञ्चालनमा आए । जसमा न भौतिक दुरी कायम हुन सकेको पाइन्छ न शैलुन सञ्चालकहरूले स्वास्थ्य सुरक्षाका उपायहरू प्रयोग गरेको पाइन्छ । यसका साथै भट्टी पसलदेखि डान्सबार जहाँ भौतिक दुरी कायम गर्न नसकिए पनि सञ्चालनमा आएर थप जोखिम बढाएको देख्न सकिन्छ ।

गैह्र व्यावसायिक र अमर्यादित अस्पतालहरू : सरकारले पहिलो पटक चैत्र ११ गते देखि लकडाउन लागु गर्दा देशमा जम्मा १ जना मात्रै सङ्क्रमित केश देखिएको अवस्था भए पनि मानिसहरूमा कोरोनाप्रति अत्यधिक भय थियो । अत्यावश्यक बाहेक मानिसहरू घर बाहिर निस्किने त परको कुरा अस्पतालबाट समेत सर्ने जोखिम भएको भनी अस्पताल पनि जाँदैन थिए । तर स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक कोभिड टेष्ट गर्न निजी ल्याब र अस्पताललाई समेत दियो । हरेक अस्पतालमा कोभिडको लागि न्यूनतम बेड सुरक्षित गर्नु पर्ने भनी निर्देशन सर्कुलर गर्‍यो तर देशमा ठुला व्यावसायिक घरानाबाट सञ्चालित अस्तपालहरुले सरकारको निर्णयलाई बेवास्ता गर्दै न्यूनतम बेड छुट्टाउन त परको कुरा सरकारले तोके भन्दा बढी रकममा कोरोना टेष्ट शुल्क लिन थाल्यो । कोरोना सङ्क्रमितलाई बेड हैन गेट बाट नै फर्काउन थाल्यो । यसरी राज्यबाट एम्बुलेन्स गाडी लगायत सर्जिकल आइटममा भन्सार छुट सुविधा पाइरहेका अस्पतालहरूले यसरी मनोमानी गर्दा न संघीय सरकार बोल्न सक्यो न प्रदेश सरकार न अन्य उपभोक्ता वादी । पर्याप्त मापदण्ड पुरा गर्न नसकेको, तलब सुविधा नपाएको, मास्क पिपिई लगायत सुरक्षाका उपकरण दिन नसकेको । यसरी जोखिमको समयमा अस्पतालहरू जसरी मर्यादित र व्यावसायिक हुन पर्ने थियो सो हुन नसेको कारण उपत्यका थप असुरक्षित बन्दै गएको देखिन्छ ।

समन्वयको अभाव : कोरोना नियन्त्रण गर्न पछिल्लो समय सरकारी निकायहरू बीचमा नै समन्वयको अभाव देखिएको छ । स्थानीय निकाय, प्रदेश र संघीय निकायहरू बीच तालमेल हुन सकेको देखिँदैन । संघीय सरकारले जारी गरेका परिपत्र र आदेशहरूको परिपालना स्थानीय र प्रादेशिक कार्यालयहरूले गरेका छैनन् । कोरोना सङ्क्रमितको कन्ट्याक ट्रेसिङ कसले गर्ने, सङ्क्रमितको सम्पर्कमा को रहने जस्ता विषयहरूका सम्बन्धमा अन्यौलता देखिन्छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पनि स्थानीय निकायले परिपालना गरेनन् । भाट भटेनी सुपर मार्केट वडाको क्षेत्राधिकार भित्र पर्ने कि जिल्ला प्रशासनको हालसम्म पनि एकिन हुन सकेको देखिँदैन । यातायात व्यवस्था विभागले जारी गरेको एक सिट एक यात्रु सम्बन्धी निर्देशिका न स्थानीय निकायले परिपालना गरेका छन् न ट्राफिक प्रहरीले नै । सुरक्षाका मापदण्ड बिना नै खचाखच यात्रु राख्दा पनि ट्राफिक किन मौन । विभाग किन मौन ।

कोरोना केही होइन भन्ने भ्रम :
आम नागरिकमा डर तथा सतर्कता हराउँदै गएको छ । सही तरिकाले मास्क लगाउनेको सङ्ख्या धेरै कम छ । भौतिक दुरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षा विधिलाई झारा टार्ने प्रवृत्तिको रूपमा स्थापित छ । उपत्यका वासीहरूले कोरोनालाई सामान्य रुघाखोकी सरह पनि सम्झेनन् । यसको पछाडिको कारण खोज्न टाढा जानै पर्दैन । देशको नीति निर्माण र कार्यान्वयनको तहमा रहनेहरूले नै भिड भाड गर्ने, पार्टी बैठक गर्ने, मास्क हातमा झुण्डाएर हिँड्ने, सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्ने प्रवृत्ति नै उपत्यकामा कोरोना जोखिम बढाउन थप सिद्ध हुन पुगेको देखिन्छ । स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अरवौँंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना सङ्क्रमण रोकथामबारे सोच्नेसम्म फुर्सद छैन । नेपालीहरूले हिमालको चिसो र मिनरल मिश्रित पानी, शुद्ध खाना खाएका कारण इम्युन पावर उच्च रहेको भनी अप्रमाणित तर्क गर्नु नै नेपालीहरूमा कोरोना केही होइन यसलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने आम बुझाइका कारण उपत्यका जस्तो घना बस्ती भएको स्थानमा दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै कोरोना बढिरहेको देख्न सकिन्छ ।

इम्युन पावरको आधारहीन अपव्याख्या : इम्यनु पावरको कारण समेत कोरोना सङ्क्रमणको जोखिम बढेको पाउन सकिन्छ । कुनै एक व्यक्तिमा कोरोना लाग्यो यदि उसको इम्युन पावर राम्रो रहेको अवस्थामा उसलाई कोरोनाले केही गर्न नसक्ने हुन्छ तर उक्त व्यक्तिमा शरीरमा भएको तर उसलाई असर गर्न नसकिरहेको भाइरस अन्य व्यक्तिमा सर्न सक्ने र उक्त सरेको भाइरले कुनै इम्युन पावर कमजोर भएको व्यक्तिमा असर गर्न सक्ने देखिन्छ । यसको उदाहरणको रूपमा एकै घरका श्रीमानमा सङ्क्रमण देखिदा श्रीमतीमा नदेखिनु साथै आमामा देखिँदा छोरा–छोरीमा नदेखिनुको पछाडि इम्युन पावरको कारण हुन सक्छ । कोरोनाले जहिले पनि कमजोर इम्युन पावर भएका व्यक्तिलाई सताउने भएको कारण चुरोट रक्सी खाएर कलेजो कमजोर भएका व्यक्तिहरूमा अन्य इम्युन पावर राम्रो भएका मानिसहरूबाट सर्ने जोखिम उच्च रहेको तर उच्च इम्युन पावर भएका व्यक्तिको शरीरमा कोरोना भाइरस हुन सक्ने तर त्यसले उसलाई कुनै असर गर्न नसके पनि अन्य व्यक्तिमा सर्न सर्ने देखिएको अवस्था अनुसन्धानहरूले देखाएको छ ।

स्वयम जनताः उमेर ५५ भए पनि बानी व्यवहार बचपन भएका नागरिकहरूलाई वृद्ध बालक भनिन्छ भनेर टिक टक तिर खुब सुनियो तर हो रहेछ पछिल्लो समय काठमाडौँमा यही वृद्ध बालकहरूको वचपनाको कारण कोरोना भाइरस भाइरल बन्दै गएको देखिन्छ । सार्वजनिक स्थानमा मास्क लगाउने तर बोल्ने बेलामा चिउँडो मुनि सार्ने, साथी भाइ वरिपरि टेबलमा जम्मा भएर खाजा नास्ता गर्ने बेलमा मास्क खोल्ने, यी मेरा आफन्त हुन साथीभाइ हुन यिनीहरूलाई लागेको छैन मलाई पनि लागेको छैन यसो भएपछि कोरोना सर्दैन भन्ने भ्रममा बाँचेका काठमाडौँ वासीहरूको कारण कोरोना भाइरस भाइरल बन्दै गएको छ । जुन अनपढ भन्दा शिक्षित सहरिया वर्गले बढी गरेको पाइन्छ ।

काठमाडौँवासी त सही र गलत नै नबुझी बेसार पुराण तिर लागे, नेपालीलाई कोरोना लाग्दैन भन्दा सोही न्युज शेयर गर्न तिर लागे, नेपालीहरूको इम्युन पावर राम्रो छ भन्दा बिना कुनै आधार र तथ्य बिना हो मा हो मिलाए अनि नेपालमा कोरोना भाइरल हुँदैन ? काठमाडौँसम्म आइपुग्दैन भनेर सचेत बन्न सकेनन् त के भन्ने वीरगन्ज, उदयपुर देखेर पनि सचेत हुन सिकेनन् । सार्वजनिक स्थानमा हात धुन ठाउँ छ तर हात धोएको कोही देखिँदैन, सार्वजनिक बसमा भीड छ अर्को बस कुर्ने समय हुँदा पनि भीडमै चढ्नु पर्ने, चिया पसलमा चिया चुरोट २ महिना नखाँदा केही नबिग्रिनेमा सो नै गर्न पर्ने, भौतिक दुरी र सुरक्षाका उपाय बेगर सञ्चालित होटेलमा घण्टाँै मास्क खोलेर निर्धक्क गफ गर्न प्रचलनले उपत्यकामा कोरोनाको भेल उर्लियो । उपत्यका वासीहरुको सबैभन्दा प्रमुख समस्या के हो भने उनीहरू अरूको हेरेर रमाइलो गर्छन् आफू चेतिँदैनन् सिक्दैनन् । अरूको समस्या केही होइन भन्ने ठान्छन् । आफू जति जान्ने सुन्ने कोही छैन भन्न भ्रम पालेर बस्छन् । यही नै अहिले उपत्यका जोखिम बन्दै जाने कारण बन्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस