खै के लाग्ला आशीर्वाद ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खै के लाग्ला आशीर्वाद ?


३ कार्तिक २०७७, सोमबार


भलै शिक्षा, वाणिज्य तथा मानविकी सङ्कायमा स्नातक तथा स्नातकोत्तर गर्दै गरेका हामी युवा वर्गलाई आशीर्वाद दिने क्रममा ५ दशक अघिल्लो पुस्ताले (बाबु/बाजे) डाक्टर, पाइलट भएस् ! भनी दिँदा…

आयु द्रोण सुते श्रीयो दशरथे सत्रुक्षयं राघवे !
ऐश्वर्य नहुष गतिश्च पवने मानञ्च दुर्यो धने !
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्ती सुते !
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे !

माथिको हरफ हिन्दु नेपालीहरूको महान् चाड बडा दशैँ (विजया दशमी) को दशौँ दिनबाट सुरु भई कोजागत पूर्णिमाका दिनसम्म गाउँ–शहर, लेक–बेँसी, तराई–पहाड कहिँकतै रात–दिन, बिना कुनै हेक्का गुञ्जायमान हुन्छ । बडा दशैँमा आफन्त तथा मान्यजनहरूबाट प्राप्त हुने यस प्रकारको आशीर्वादको भावनार्थ द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घायु होस्, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् श्रीरामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होस्, पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस्, दुर्योधनको जस्तो मान–सम्मान होस्, सूर्य पुत्र कर्णको जस्तो दानवीरता मिलोस्, कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यता हाँसिल होस्, विदुरको जस्तो ज्ञान प्राप्त होस् तथा नारायण भगवानको जस्तो कीर्ति प्राप्त होस् भन्ने हुन्छ ।

आश्विन शुक्ल प्रतिपदाबाट कोजाग्रत पूर्णिमासम्मको समय चक्रमा प्रतिपदाबाट क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री, गरी नवदुर्गाको पूजा गर्दै पवित्र चण्डी पाठ गरी दुर्गा माताका साथै त्रिशक्ति माता (महाकाली, महालक्ष्मी र महासरस्वती) को विशेष पूजा आराधनापछि अन्ततः आफ्ना मान्यजनको हातबाट रातो टिका र पहेँलो जमरासहित निधार रङ्गाइ आशीर्वाद लिने बाटो खोल्दछ । जसलाई  कतिपयले विजया दशमी त कतिपयले बडा दशैँका नामले सम्बोधन गर्ने गर्दछन् ।

स्वभावैले रातो रङ्गले क्रान्ति र विजयको सङ्केत गर्ने मान्यता छ । महिषासुर राक्षसलाई वध (नष्ट) गरिएको, श्री रामले रावणमाथि विजय हासिल गरेको, दुर्गा मातालाई दैत्य–मुण्ड तथा शुम्भ–निशुम्भलाई वध गर्न सफलता प्राप्त भएको समयलाई आधार मानेर नै घटस्थापना अर्थात् जमरा राखेको दिनबाट विशेषतः दशौँ दिनमा टिका र आशीर्वाद थाप्ने गरिएको पौराणिक मान्यता पनि रहेको छ । जहाँसम्म “दशैँ” लाई सम्बोधन गरिने प्रसङ्ग छ, एक थरीले अर्काको वध गरेर खुसीयाली मनाएको पर्वलाई “विजया” भनेर सम्बोधन गर्नु भन्दा “बडा दशैँ” नामले सम्बोधन गर्नु उचित ठान्दछन् भने कु–रीति र कलङ्कित मानसिकताको नष्ट गरी शान्ति र सु–संस्कृति स्थापनार्थ सफलता हासिल गरेको कार्यसँग जोडिएको हुनाले “विजया दशमी” भन्दा अनुपयुक्त नहुने अर्को थरीको तर्क पनि छ ।

जे सुकै भएता पनि पौराणिक कालदेखि नै चली आएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो । कृषि प्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइसकेर यस बीचमा राम्रो लगाउने मिठो मसिनो खाने तथा आफन्त तथा मान्यजनहरूसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ, दशैँ ! तर सबै कुरा ठिकै र राम्रै भइरहँदा आशीर्वादको कुराले केही पृथक् व्यवहारिकतासँग सम्बन्ध राख्दछ नै । किनकि मनैदेखि पस्किएका ती कोमल शब्दहरूले व्यवहारमा त्यहीँ किसिमले सामीप्यता राख्दछन् नै भन्न पनि सकिन्न । तर हिन्दु धर्मावलम्बीहरुले की त सम्पूर्ण आस्था र विश्वासमा अल्झिएका संस्कृतिलाई बहिस्कार गर्नुपर्छ नत्र आफूभन्दा अग्रजले खुला हृदयले दिएको आशीर्वादलाई कञ्चनताका साथ स्वीकार गर्नु पर्छ ।

भलै शिक्षा, वाणिज्य तथा मानविकी सङ्कायमा स्नातक तथा स्नातकोत्तर गर्दै गरेका हामी युवा वर्गलाई आशीर्वाद दिने क्रममा ५ दशक अघिल्लो पुस्ताले (बाबु/बाजे) डाक्टर, पाइलट भएस् ! भनी दिँदा अशिक्षाको एक हद प्रकट भएको व्यवहार नै किन नहोस् ! जबकि नेपालमा जो कोही पनि सहजै डाक्टर, पाइलट, इन्जिनियर हुन सक्ने अवस्था छैन । जसको मुख्य कारणको रूपमा समग्र शैक्षिक प्रणाली र युवाहरूको भविष्यप्रति राज्यको उदासीनता तथा राज्यको आर्थिक अवस्था साथमा गुणस्तरीय शिक्षामा कहिल्यै सबैको पहुँच स्थापित हुनै नसक्ने गरी सिर्जित वर्गीय खाडल विराजमान छन् ।

राजनीतिक दलका पहुँचवालाहरुका लागि देशमा लोकतन्त्र आएको होला तर निमुखा जनताका लागि यसले व्यहारिक रूपमा तात्त्विक भिन्नता ल्याउन सकेको छैन । यति मात्र नभएर यदि आशीर्वादहरूलाई राष्ट्र र हामी जनतासँग जोड्ने हो भने खण्ड खण्डमा केलाउन सक्ने अवस्था हामीमाझ विद्यमान छ ।

हामी विकृत आधुनिकतासँग निकै परिचित छौँ । तर विश्वको वास्तविक आधुनिकतासँग र विकासको गतिसँग भने टाढा छौँ । अश्वत्थामाको दीर्घायुको कुरा गरिरहँदा हामीमाझ अकालमा दिनहुँ जीवन मृत्युसामु आत्मसमर्पण गर्ने ठुलो सङ्ख्याको कारणको रूपमा जोखिमपूर्ण वैदेशिक रोजगार यात्रा, देशभित्रै जोखिमपूर्ण सडक यातायातको अवस्था, जोखिमपूर्ण हवाई यात्रा आदिले जिस्काइरहेको छ ।

दशरथ राजाको श्री सम्पत्ति एउटा भावना भयो । तर हाम्रो मुलुकमा बिहान बेलुका हातमुख जोर्ने र आधारभूत आवश्यकता पुरा गर्न असक्षमहरूले के दशैँमा आशीर्वाद नलिने ? श्री रामको जस्तो शत्रु नाश होस् भनिरहँदा दलीय, धार्मिक, वर्गीय, जातीय र क्षेत्रीय रूपमा हामी विभाजित हुँदो अवस्थाप्रति अग्रसर छौँ । नहुष राजाको ऐश्वेर्यता र हनुमानको गतिशीलता, दुर्योधनको मान, कर्णको दानवीरता, बलरामको बलको कुरा गरिरहँदा युधिष्ठिरको जस्तो सत्यता त निकै बिरानो हुन आउँछ । विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति एक आफैँमा समयसँग संघर्षशील रहन्छ । भन्न खोजिएको यो होइन कि, आशीर्वाद गलत भयो ! तर कम्तीमा यस प्रकारका भावना निश्चित चाडपर्वमा मात्र नआएर सदैव गतिशील भने रहनुपर्छ । दैवी कालका विभिन्न देवताको गुणसँग तुलना गरेर त कुनै अर्थ रहने छैन तथापि इमानदारिता, सत्यता, दानवीरता, गतिशीलता, ज्ञानता, आदिको संयोजनले सम्पूर्ण कुराहरूलाई एकीकृत गरी नौलो किसिमको आयाम भने पक्कै सिर्जना गर्दछ ।

एउटा व्यक्ति परिवार भन्दा अलग रहन सक्दैन, परिवार समाजभित्र रहन्छ र राष्ट्रको एक अङ्गको रूपमा समाजको चरितार्थ प्रकट भइरहेको हुन्छ । अन्ततः राष्ट्रका जनताको भविष्य र सम्भावना राज्य सञ्चालनको व्यवस्थासँग जोडिन्छ । तर आज दुर्योधनको दीर्घायुसँग आशीर्वाद साटी रहँदा अकालमा मृत्यु अनावरण गर्नेहरूको सङ्ख्या दैनिक दोहोरा सङ्ख्यामा बढिरहेको छ । कारणका रूपमा जुनै हिसाबले पनि राज्य र यसका अङ्गहरू जोडिएका छन् । चाहे ती नीति निर्माणका सिलसिलामा भएका कमजोरी हुन् वा कार्यान्वयनका पक्षहरूमा भएका लापरबाही नै किन नहुन् ? आ–आफ्नो धर्म र परम्परालाई अन्य कुरा मान्ने हो भने, के राज्यसत्ता सञ्चालनका मतियारहरू मध्ये काहीँ पनि हिन्दु थिएनन् त ? के उनीहरूले युधिष्ठिर जस्तो सत्यवादिता र विदुर जस्तो ज्ञानी हुनु भन्ने आशीर्वाद आर्जन गरेका थिएनन् त ? नत्र नेपाल किन विश्वको आधुनिकतासँग पराजित भइरहेको छ ?

यसर्थ आशीर्वादको रूपमा खास समयमा प्राप्त गरिने यस प्रकारका मेहनती कर्णप्रिय शब्द प्रवाहहरू अब सधैँ आशीर्वादमा मात्र सीमित नहुन् । व्यवहारिकतासँग कम्तीमा जोडिनसम्म सफल रहुन् । सामान्य मानव जनजीवनलाई समेत अस्तव्यस्त बनाएको विश्वव्यापी महामारी (कोभिड १९) को प्रकोपबाट विश्व जगत् चाँडै माथि उठ्न सकोस्, राष्ट्रमा सुख, शान्ति र समृद्धिको गतिशील ढोका खुलोस् ! बडा दशैँको सबैलाई शुभकामना !

अधिकारी उत्तरगया गाउँपालिका रसुवामा लेखा अधिकृतका रुपमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस