उपभोक्ता समिति र वडा अध्यक्षको मिलेमतोमा विकास रकम अनियमितता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपभोक्ता समिति र वडा अध्यक्षको मिलेमतोमा विकास रकम अनियमितता


२ कार्तिक २०७७, आइतबार


डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकामा पर्ने एक वडामा प्रदेश सरकारबाट भित्रिएका योजनाहरूमा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ ।

सुशासनको लागी युवा अभियानका युवाहरूले गरेको पत्रकार सम्मेलनमा नगरको ६ नं. वडामा पर्ने थरगाउँ,दुरगाउँ र काँडाताती लगायतका गाउँ बस्तीमा भित्रिएका प्रदेश सरकारका योजनाहरूमा उपभोक्ता समितिका पदाअधिकारी र जनप्रतिनिधिको मिलेमतोमा आर्थिक अनियमितता भएको खुलासा भएको हो ।

वडा नं। ६ मा पर्ने राधेउ पहिरो नियन्त्रण,तामाचौर हुँदै सुन्दह पदमार्ग ,जैरी ताल संरक्षण र यार्सा संरक्षण घेराबार योजनामा लाखौँ आर्थिक अनियमितता भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

राधेउ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक रोकाया,तामाचौर हुँदै सुन्दह पदमार्ग निमार्ण समितिका अध्यक्ष श्रीमती विष्णु बुढा र जैरीताल संरक्षण समितिका अध्यक्ष नदे बुढा र वडा अध्यक्ष धर्मलाल बुढा लगायतका पदाधिकारीको मिलेमतोमा आर्थिक अनियमितता भएको सुशासन को लागी युवा अभियान संयोजक सुमन बुढाले आरोप लगाए ।

आर्थिक अनियमितताको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको लागी पटकपटक प्रशासन र स्थानीय सरकारलाई माग गर्दा समेत सुनुवाई नभए पछि अन्तिम अस्त्रको रूपमा पत्रकार सम्मेलन गर्न आफूहरू बाध्य भएको संयोजक बुढाले बताए ।

कर्णाली प्रदेश सरकार अन्तर्गत राधेउ पहिरो नियन्त्रणका लागी २० लाख ९२ हजार ,तामचौर हुँदै सुन्दह पद मार्ग निमार्णको लागी २० लाख र जैरीताल संरक्षणको नाममा २० लाख गरी ६० लाख ९२ हजार प्राप्त भएकोमा १७ लाख रुपैयाँ मात्र स्थानीयलाई वितरण गरी बाँकी रकम अनियमितता गरेको पाइएको छ ।

पत्रकार सम्मेलनमा स्थानीयले लगाएको आरोप निराधार भएको र योजनामा प्राप्त रकम अनुसार काम गरी स्थानीयलाई वितरण गरिएको वडा अध्यक्ष धर्मलाल बुढाले दाबी गरे । उनले भने नागरिकले व्यक्तिगत रिसमा आरोप लगाएका हुन जनताले काम गरेको रकम पाइ सकेका छन् ।

सुशासनको लागी युवा अभियान समितिले गएको साउन २९ गते तिन ठुला विकास योजनाहरूमा बजेटमा छानबिन लागी जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

आर्थिक अनियमितता भएको भनिएका तिन वटै योजना जिल्ला डिभिजन वन कार्यालय बाट सञ्चालित योजना हुन । योजनाहरूमा भएको आर्थिक अनियमितताको बारेमा समितिका पदाधीकारीहरुलाई बुझ खोज्दा उनीहरू गाउँमा भएको कारण सम्पर्क हुन सकेन ।

योजना छानबिनको लागी आफू कहाँ निवेदन आए अनुसार दुवै पक्ष बिच भएको छलफल गराइ निर्माण उपभोक्ता समिति र वडा अध्यक्षले सार्वजनिक सुनुवाई गर्नुको साथै बाँकी रकम जनतालाई वितरण गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

सुशासनको लागी युवा अभियान पत्रकार सम्मेलनमा स्थानीय चन्द्र बहादुर रोकाया,केशव बुढा,चन्द्रमान रोकाया,सुवर्ण बुढा,लोकेन्द्र रोकाया र कमल बुढा लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस